सुरक्षित वैदेशिक रोजगारीका लागि भेरी नगरपालिकाद्वारा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम


जाजरकोट । सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सावधानी र सीपसम्बन्धी जानकारी दिन भेरी नगरपालिकाले अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। वैदेशिक रोजगारमा जाने इच्छुक युवा तथा सरोकारवालाहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया, जोखिम न्यूनिकरणका उपाय, काम जाने मुलुकको अवस्थाबारे जानकारी राख्नुपर्ने, पूर्वतयारीका रूपमा सिक्नुपर्ने सीप र सूचना पहुँचबारे विस्तारमा चर्चा गरिएको थियो।

कार्यक्रममा रोजगार संयोजक भरत शर्मा र आप्रवासी स्रोत केन्द्रका संयोजक प्रविन विकले प्रशिक्षण दिएका थिए। उनीहरूले युवा विदेश जानुअघि अनिवार्य रूपमा सीप सिक्न, वैधानिक बाटो अपनाउन र अनिश्चित सपना देखाएर मानव तस्करीमा लग्न सक्ने दलालहरूको प्रभावबाट सजग रहन सुझाव दिए।

May be an image of 10 people and text

भेरी नगरपालिकाले सुरक्षित आप्रवासनको प्रवर्द्धन र वैदेशिक रोजगारीसम्बन्धी जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। वैदेशिक रोजगारी जाने युवाको क्षमता अभिवृद्धि र अधिकार संरक्षणका लागि स्थानीय तहबाट निरन्तर पहल भइरहेको छ ।

भेरी नगरपालिकाले सुरक्षित वैदेशिक राेजगारका लागि जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सेवा सुरु गरेको छ । जसमा जिल्लाका अन्य स्थानीय तहका नागरिकले समेत लाभ लिईरहेका छन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा रोजगार सेवाकेन्द्रका प्रतिनिधिहरू, महिला तथा युवा अगुवा, वडास्तरीय जनप्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

याे पनि पढ्नुहाेस्

भेरी नगरपालिकाको उदाहरणीय कार्य : प्रशासनमै शाखा खोलेर वैदेशिक रोजगारमा जानेलाई ‘परामर्श’

तपाईको प्रतिक्रिया