
जाजरकोट । बिहानको १० बज्दा नबज्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटको कोठा नं. ३ बाहिर हल्का चहलपहल देखिन्छ । हातमा राहदानी सहितका कागजातहरु बोकेका सबैको गन्तव्य एउटै हो कोठा नं. तीन ।
जिल्ला प्रशासन कार्यालयको समन्वय र भेरी नगरपालिकाको सहयोगमा स्थापना गरिएको छ ‘आप्रवासी स्रोत केन्द्र’ (सहायता कक्ष) । यस शाखाको नेतृत्व गरिरहेका छन् परामर्शकता प्रविन विक – एउटै व्यक्तिले धेरैको सपना सुरक्षित बनाइरहेका छन् । भेरी नगरपालिकाको बजेट बाट प्रविनलाई राखिएको छ ।
विदेश जानु अघि ‘बुझेर जानु’
प्रविन विकका अनुसार, “हामीकहाँ दैनिकजसो ५ देखि १० जना युवाहरू आउँछन् । कसैले मलेसिया जान खोजिरहेका छन्, कसैले कतार । तर सबैजसोले साझा समस्या के हो भने – प्रक्रिया थाहा छैन, एजेन्टको भरमा छन्, र ठगिने डरमा छन् ।”
उनी त्यो डरलाई परामर्श मार्फत हटाइरहेका छन् । कागजपत्र मिलाउने, कानुनी प्रक्रिया बुझाउने, कुन देश उपयुक्त हो भनेर सल्लाह दिने, र विदेश पुगेपछि के–कस्ता चुनौती आउन सक्छ भन्ने कुरामा उनी युवाहरूसँग घन्टौं समय बिताउँछन् ।
vedio link :
https://www.youtube.com/watch?v=AfUJZPhg3Xg
सपना बेचिने ठाउँ होइन, बनाइने ठाउँ
“हामी यो कोठालाई कागजमा सीमित राख्न चाहँदैनौं,” प्रविन भन्छन्, “हामी चाहन्छौं—यो ठाउँबाट जाने हरेक युवाले ‘सपना’ बोकून्, डर होइन ।” त्यसका लागि कोठामा प्रविनले सबैलाई परामर्श दिन्छन्, सल्लाह दिन्छन्, वैदेशिक रोजगारका विषयमा अनेकौं कुरा गर्छन् ।
‘कुन कामका लागि कुन देश उचित हुन्छ ?’ भन्ने प्रष्ट प्रविन सेवाग्राहीलाई त्यही बताईदिन्छन् ।
स्थानीय सरकारको सक्रियता, युवाको ढुक्क यात्रा
भेरी नगरपालिका नेपालको दुर्गम जाजरकोटमा पर्छ । तर यहाँको यो पहल भने सुगमको जस्तै छ । भेरी नगरपालिका बाट जाजरकोटका अन्य स्थानीय तहले सिक्न आवश्यक छ ।
वैदेशिक रोजगारीमा जाने सात वटै स्थानीय तहलाई परामर्श दिन भेरी नगरपालिका तयार छ । हेल्भटास सँगको सहकार्यमा नगरपालिकाले यो सेवा सुरु गरेको हो ।
यूवायूवतीहरुले पनि यस सेवाबाट राहत पाएको अनुभव सुनाएका छन् । २५ वर्षीय नरेश विक भन्छन्, ‘हामी त घर बाट राहदानी बनाउन आयौं, विदेश जाने त भनियो तर कहाँ जाने कसरी जाने भन्ने केही थाहा थिएन्, यहाँ आएपछि धेरै कुरा थाहा भएको छ नम्बर पनि लिएको छु । केही समस्या परेपछि म कल गर्छु ।’

परामर्शकता प्रविन विक
अझ सहज बनाउने योजनाहरू
परामर्शकता प्रविनले अझै सेवालाई प्रभावकारी बनाउन लागिरहेको बताए । “विदेशमा काम गरिरहेका युवाको डेटा संकलन गर्ने, अफ्टेरोमा परेकालाई तत्काल उद्दार गर्ने, संयन्त्र बनाउने, अनि सफल कामदारको अनुभव यहाँका युवासँग बाँड्ने योजनामा छौं,” उनी भन्छन् ।
यो कामको सुरुवात गरे सँगै भेरी नगरपालिका देशकै स्थानीय तहहरु मध्ये उदाहरणीय बनेको छ ।
आप्रवासीय स्रोत केन्द्र युवाको ‘डर’ हटाएर ‘दिशा’ देखाउने थलो बनेको छ ।
स्थानीय तहको सराहनीय कार्य
वैदेशिक रोजगारीका लागि विदेशिने स्थानीय युवाहरूलाई लक्षित गर्दै भेरी नगरपालिकाले एक उदाहरणीय कदम चालेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालयकै भवनमा ‘आप्रवासी स्रोत केन्द्र’ स्थापना गरी युवाहरूलाई आवश्यक मार्गदर्शन, जानकारी र सहजीकरणको सेवा सुरु गरेको हो ।
स्रोत केन्द्रले वैदेशिक रोजगारीको प्रक्रिया, कानुनी अधिकार, सुरक्षित रोजगारका उपाय तथा आवश्यक कागजातहरूको तयारीका बारेमा निशुल्क सेवा प्रदान गर्दै आएको छ । स्थानीय तहबाटै यस्तो सेवा सुरु हुनु देशैभरका स्थानीय निकायका लागि प्रेरणादायी बन्ने देखिएको छ ।
परामर्शकर्ता प्रविन विकका अनुसार, “विदेशिने युवाहरू उचित जानकारीको अभावमा विभिन्न समस्यामा परिरहेको अवस्थालाई ध्यानमा राखेर परामर्श शाखा सञ्चालनमा ल्याइएको हो । अब हाम्रो नगर क्षेत्रका युवाहरू विदेश जानु अघिनै आवश्यक ज्ञान, सतर्कता र कानुनी प्रक्रिया बुझ्न सक्ने छन् ।”
यो केन्द्रको स्थापनापछि वैदेशिक रोजगारीमा जान चाहने नागरिकहरूले जिल्ला बाटै सेवा पाउन थालेका छन्, जसले समय र खर्च दुवैको बचत भएको छ ।
यस्ता जनमुखी सेवा सञ्चालनले स्थानीय सरकारको भूमिका अझ प्रभावकारी बनाएको छ । यो पहलले वैदेशिक रोजगारीमा हुने सम्भावित ठगी र समस्यालाई न्यूनीकरण गर्ने विश्वास गरिएको छ ।
vedio link :
https://www.youtube.com/watch?v=AfUJZPhg3Xg
















































हाम्रो पहुँच संवाददाता । ७ बैशाख २०८२, आईतवार