दुर्गम बारेकोटकी लक्ष्मी खत्री बनिन् जाजरकोटकै `उत्कृष्ट शिक्षक´


जाजरकोट — कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले जाजरकोट जिल्लाकी लक्ष्मी खत्रीलाई ‘जिल्लाको उत्कृष्ट शिक्षक’को रुपमा सम्मानित गरेको छ।

बारेकोट गाउँपालिका–२, लिम्सास्थित वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयमा कार्यरत खत्रीलाई शैक्षिक गुणस्तर अभिवृद्धिमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै नगद ३५,००० (पैंतीस हजार रुपैयाँ) सहित प्रशंसा–पत्र प्रदान गरिएको हो।

आ.व. २०८१/०८२ को कार्यक्रमअनुसार उत्कृष्ट शिक्षक छनोट गर्दा शिक्षा क्षेत्रमा समर्पण, निष्ठा, पठनपाठनको प्रभावकारिता, सामुदायिक सहभागिता, विद्यार्थीमा सकारात्मक परिवर्तन जस्ता सूचकलाई मापन गरिएको थियो। यी सबै आधारमा खत्री अन्य प्रतिस्पर्धी शिक्षकहरूभन्दा अग्रस्थानमा रहिन।

प्रशंसा–पत्रमा उल्लेख भएअनुसार, शिक्षण पेशालाई थप मर्यादित बनाउँदै गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान दिएकी खत्रीको आगामी दिनमा अझ प्रभावकारी भूमिकाको अपेक्षा गरिएको छ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथि, प्रदेश सचिव अर्जुन गौतम विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भएको थियो। शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमालले प्रशंसा–पत्र हस्तान्तरण गरेकी थिइन्।


दुर्गम क्षेत्रको विद्यालयमा कार्यरत रहेर समेत खत्रीले शिक्षण कार्यमा देखाएको लगनशीलता, सिर्जनात्मकता र नतिजामुखी अभ्यासले जाजरकोट जिल्लामै उदाहरणीय शिक्षिका बन्न सफल भएकी हुन्। उनको यस उपलब्धिले जिल्ला, विद्यालय र सम्पूर्ण शिक्षण समुदायलाई प्रेरणा दिने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया