१० चैत्र २०७७, मंगलवार

डोल्पामा ५ सय ३३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

८३ जनको मोतियाविन्दुको शल्यक्रिया, १०८ लाई श्रवण यन्त्र वितरण

डोल्पा : हिमाली जिल्ला डोल्पामा ५३३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। गोर्खा वेलफेयर ट्रष्ट पोखराको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी डोल्पाको व्यवस्थापनमा सदरमुकाम दुनैमा आयोजित तीन दिने स्वास्थ्य शिविरको स्वास्थ्य परीक्षण गरिएको हो।

शिविरबाट आँखा, कान र अपाङ्गतासम्बन्धी समस्या भएका बिरामीहरु लाभान्वित छन्। शिविरमा महिला २६३ र पुरुष २७० जनाको परीक्षण तथा उपचार गरिएको ट्रष्टले जानकारी दिएको छ। शिविरमा महिला १२० र पुरुष ८६ जना गरी जम्मा २०६ जनाको आँखाको परीक्षण गरिएको छ। जसमध्ये ८३ जनको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ।

त्यसैगरी ३०७ जनाको कानको परीक्षण गरिएको छ। जसमा पुरुष १६८ र महिला १३९ जना रहेका छन्। तीमध्ये १०८ जनालाई सुन्न सहयोग मिल्ने श्रवणयन्त्र वितरण गरिएको ट्रष्टले जनाएको छ।

शिविरबाट अपाङ्गता भएका पुरुष १६ र महिला चार गरी जम्मा २० जनाको स्वस्थ्य परीक्षण गरिएको छ। उनीहरुलाई आवश्यक पर्ने कृतिम अंगको नाप पनि लिइएको छ। उनीहरुका लागि ३३ वटा कृतिम अंग आवश्यक रहेकाले करिब दुई महिनाभित्र खरिद गरी वितरण गरिने ट्रष्टकी मेडिकल डाइरेक्टर डा. ग्रेडा पोलले बताइन्।

शिविरमा उपचार हुन नसकेका विभिन्न किसिमका १२ जना बिरामीलाई नेपालगञ्ज, पोखरा, काठमाडौं, बनेपा लगायका अस्पतालमा रिफर गरिएको छ। उनीहरुको उपचारको खर्च ट्रष्टले व्यहोर्ने बताइएको छ।

ट्रष्टले जिल्ला अस्पताललाई इसिजी मेसिन, अक्सिजन कन्सन्टेसन, थाइराइडसिल, स्टोपलाइजर, औषधिलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

शिविर चैत ७ देखि ९ सम्म चलाइएको थियो। डोल्पाको आठवटै स्थानीय तहका नागरिकहरुले सेवा लिएका थिए।