जुम्लालाई लागुऔषध मुक्त जिल्ला बनाउने अभियान

जुम्ला : प्रहरी र प्रशासनले जुम्लालाई लागूऔषध मुक्त जिल्ला बनाउने अभियानमा थालेको छ।

यो अभियानअन्तगर्त जुम्लाका माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागूऔषध दुर्व्यसन विरुद्धको कानुनी ज्ञान दिन शुरू गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा पहिलोपटक कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीलाई लागूऔषध दुर्व्यसन विरुद्धको सचेतना प्रदान गरेको थियो। लगत्तै, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई दोस्रोपटक सचेतना दिएको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लाका सबै माध्यमिक विद्यालय स्तरमा सचेतना फैलाउने बताएका छन्‌। उनले भने, ‘सबै मिलेर लागूऔषध दुर्व्यसनका क्रियाकलाप पुर्ण रुपमा बन्देज गर्न आवश्यक छ, लागूऔषधमा फसेकालाई सुधारगृहमा लैजाने र कानुनी सजाय दिएर सुधार हुन प्रेरित गर्ने कार्य भइरहेको छ, सुधार गृहबाट सुध्रिएर आएको खण्डमा जीविकोपार्जनका क्रियाकलापमा संलग्न गर्न पहल हुनेछ।’

कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै लागूऔषध ओसारपसार र सेवन गर्नेको संख्या बढिरहेको पाइएको छ। जसकारण जुम्ला लागूऔषधको प्रभावित जिल्ला बन्दै गएको हो। ग्रामिण क्षेत्र भन्दा शहरी क्षेत्रमा लागूऔषध सेवन तथा ओसारपसार भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘स्थानीय प्रहरी प्रशासनले कडा रुपमा अध्ययन अनुसन्धान र नियन्त्रण गरिरहेको छ, विद्यालयमै पुगेर लागूऔषधको कानुनी ज्ञान प्रदान पनि गरिएको छ, अब विद्यार्थीले गाउँ-बस्ती र छरछिमेकमा लागूऔषध विरुद्धको सन्देश फैलाउनु आवश्यक छ।’

प्रशासन कार्यालय जुम्लाले लागूऔषध विरुद्धको कार्ययोजना, २०७७ बनाएको छ। अब यही कार्ययोजना बमोजिम काम हुने र लागूऔषध मुक्त जिल्ला निर्माणमा जोड दिइने प्रजिअ थापाले बताए। लागूऔषधमा फसेका जो कसैलाई उन्मुक्ति नदिने उनको भनाइ छ।

विद्यार्थीले लागूऔषधमा फसेकालाई कसरी सुधार्न सकिन्छ ?लागूऔषधमा लागेका व्यक्तिलाई कार्वाही गर्नुको सट्टा घुस लिएर किन छाडिन्छ ? भन्ने बारेको जिज्ञासा राखेका थिए।

प्रमुख जिल्ला अधिकारी थापाले लागूऔषध दुर्व्यसनमा लागेकालाई धरौटीमा छुटाउँछन भन्ने कुरा हल्ला मात्र भएको बताए। यो मामिला अदालतले हेर्ने र स्थानीय प्रशासनले हेर्न नमिल्ने बताए।

लागूऔषध सेवनले एक व्यक्तिलाई मात्रै नभई सबैमा असर पार्ने भएकाले यसविरुद्ध सबै जुट्नुको विकल्प नरहेको प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले बताए।

उनले भने, ‘यसको सेवनले पारिवारिक जीवन र सामाजिक जीवनबाट टाढा बनाउँछ, लागूऔषधको जोहो गर्नकै लागि सामाजिक रूपमा विकृति फैलन्छ, रक्त सञ्चारमा समस्या आउँछ, फोक्सो र मुटुले काम गर्न छोड्छ।’

चन्दननाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर रोकायाले स्थानीय प्रशासनले विद्यालय स्तरमा गरेको यो कार्यक्रम निकै उपलब्धिपूर्ण भएको बताए।

तपाईको प्रतिक्रिया