कालीबहादुर नेपाली
जाजरकोट, १७ माघ । भेरी नगरपालिका १, पिपेकी चुरा पुनका श्रीमान् शेरबहादुर पुन (नरेश) लाई तत्कालि द्धन्द्धमा प्रहरीले गोली हानी हत्या ग¥यो । बाँकेमा हत्या गरिएका नरेशको लास समेत उनले देखिनन् । उनको काखमा ८ महिनाको छोरी र दुई बर्षको छोरा थिए ।
न श्रीमानको सास भेटिन् न त लास नै भेटिन् । सशस्त्र द्वन्दमा श्रीमान् गुमाएका पुन परिवारका आँसु अझै ओभाएका छैनन् । सोही गाउँका जीतबहादुर बस्नेत र लालबहादुर राणाका परिवारलाई त झनै पिडामा देखिन्छन् । उनीहरु आफ्नै आँखा अगाडि प्रहरीले हत्या गरेको घटना झल्झली सम्झन्छन् । ‘घरमा कसैको रोजगारी छैन, कमाई गर्ने श्रीमानलाई युद्धले लियो,’ पञ्चकलीले भनिन् । ‘उतिबेला युद्धमा श्रीमान गुमाउदा गर्व लागेको थियो ।
मेरो जस्तै हजारौं श्रीमानको वलिदानीले देशमा परिवर्तन, समृद्धी र विकास होला भनेको त झन् हुने खाने र पहुँचवालाको हालीमुवाली नै भयो, श्रीमान गुमाएकोमा अहिले पछुतो छ,’ उनले भनिन् । यि परिवार त केही उदाहरण पात्र मात्र हुन । जिल्लाका प्रतयेक स्थानीय तहमा सहिद परिवारको विच्चली देखिन्छ । बारेकोट गाउपालिका ४, जिरीकी ६७ बर्षीय तुल्छी रावत वर्तमान सरकारले सहिद परिवारका लागि केहि पनि गर्न नसकेको गुनासो गर्छीन् ।
युद्धमा पति गुमाएको पिडा झन बल्झिदै गएको उनले वताइन् । उनका पति रतिलाल रावत जाजरकोटका पहिलो सहिद हुन् । पति सहिद बनेपछि ५ जना छोराछोरीले पढ्न नपाएको उनले वताइन् । ‘छोरा गोपाल, डम्बर, दा, कमल र छोरी मुना वेरोजगार छन् । आर्थिक अवस्था कम्जोर छ । तर कसैले वास्ता गर्दैनन्,’ उनले भनीन् ।
नलगाड नगरपालिका ५, लविसाकी २३ बर्षीय गीता खड्का समस्यामा छन् । बाबु केशब खड्कालाई द्वन्दमा गुमाउदा र आमाले दोस्रो विहे गरी गएपछि उनी विचल्लीमा परेकी थिइन् । बाबुआमाको मायाममता भन्ने नै थाह छैन, गीताले भनीन् । ‘आर्थिक अभाव १२ बर्षे भाइले मृत्युवरण गर्नु परेको घटना सम्झँदा कहाली लागेर आउछ,’ उनले भनीन् ।
‘हुनेखाने र पहु“चवालाई मात्र रोजगारी छ, हामी जस्ता पिडितको भाउ पत्तै छैन,’ गीताले भनीन् । नलगाड ८, लविसाका ६५ बर्षीय जनकबहादुर शाही र ६० बर्षीय हजारी शाही पनि वेसहारा नै छन् । एक मात्र छोरा नवराज शाहीलाई द्वन्दमा गुमाउदा उनीहरु वेसहारा बनेका हुन् । रिम्ना स्थित सहिद स्मृति पार्कको एउटा कोठाको भित्ता तस्विरले भरीभराउ छ ।
पार्कको भित्तामा झुण्डिएका तस्विर कुनै सर्वसाधरणका नभई तत्कालिन माओवादी युद्धका कमाण्डरका हुन् । परिवर्तन, समानता, अधिकार, समृद्धी, विकास लगायत लक्ष्य बोकेर युद्ध लडेका कमाण्डरको सपना यतिवेला रिम्ना पार्कको तस्विरमै सिमित छ । उक्त पार्कमा तत्कालिन नेकपा माओवादीले संचालन गरेको १० बर्षे युद्धमा ज्यान गुमाएका यहाँका झण्डै ३ सय ८४ सहिदको तस्विर झुण्डिएका छन् । रिम्ना पार्कमा पार्टीका तत्कालिन माओबादीका बैकल्पिक पोलिट व्युरो सदस्य सुरेश वाग्ले सम्मको तस्विर झण्डिएको छ ।
यहाँका जो कोही नेता (पुर्व माओबादी) उच्च पदमा पुगेपछि रिम्ना पार्कमा पुगेर सहिदको तस्विरमा सम्मान अर्पण गर्छन् । उनीहरु सहिदले देखाएको बाटोलाई भुल्ने छैनौं भने भन्दै पनि आएका छन् । उच्च पदमा पुगेपछि जाजरकोटका नेताहरु सहिद पार्कमा पुगेर फोटोमा टिका लगाउँछन् । तर नेताहरुको ती सहिद प्रतिको सम्मान भाषणमा सिमित भएको छ ।
आर्थिक अभाव, वेरोजगारी, वेसहारा लगायत कारण सशस्त्र द्वन्दका सहिद परिवारको विचल्ली भएको छ । नेताहरुलाई सहिदले देखाएको बाटोमा हिड्न नसकेको आरोप पनि लाग्ने गरेको छ । सहिद परिवारका आमाबाबु र छोराछोरीलाई रोजगारी, शिक्षा दिक्षा, स्वास्थ्य उपचार र जीवन गुजारा लगायतमा समस्या भएको छ । उनीहरु जस्तै माओबादी द्वन्दका सयौं पिडीत वेसहारा बनेका छन् ।
राज्यले द्वन्दपिडित, सहिद परिवार र वेपत्ता परिवारलाई न्याय दिन नसकेको उनीहरु ठम्याई छ । यहाँका वेपत्ताका पिडित ३८ परिवारले दोषी उपर छानवीन तथा कारवाहीको माग गरेपनि सरकारले वेवास्ता गरेको गुनासो गर्दै आएका छन् । पिडित परिवारका सदस्यले वेपत्ता पारेको दुई दशक वित्दा समेत उचित न्याय पाउन सकेका छैनन् । सरकारी उदासिनताका कारण वेपत्ता ब्यक्ति लगायत द्वन्द पिडित परिवारलाई न्याय पाउन ढिलाई भएको हो । लामो समयसम्म न्याय नपाउदा र छानवीन लम्विदा पिडित परिवार आक्रोसित बनेका छन् ।
राज्यले द्वन्द पिडितको समस्या समाधान गर्न ढिलासुस्ती गरेको भेरी नगरपालिका १ का प्रेम विश्वकर्माले बताए । ‘राज्यले दिएको सेवा सुविधा पिडितको पक्षमा छैन, राहातका नाममा पारिवारिक विखण्डन भएको छ । पिडितको अवस्था फरक छ । हाम्रा पक्षमा कस्ले बोली दिने ?’ उनले भने । उनका वुवा कर्णबहादुर विकलाई सुरक्षाकर्मीले २० बर्ष अघि वेपत्ता पारेको थियो । सहिद परिवार र द्वन्दपिडितका पिडा नबुझ्ने सरकार भन्दै गुनासो गर्छन ।
पिडित परिवार वेपत्ता फर्कने आशा, छोराछोरीको लालनपालन, शिक्षा तथा रोजगारी, सामाजिक अबहेलना, सुरक्षा समस्याका कारण मानसिक यातना खेप्न वाध्य छन् । द्वन्दका सयौं पिडितले उचित न्यायको माग गर्दै आए पनि कुनै सुनुवाई हुन सकेको छैन । सयौंं पिडितले राहात समेत पाउन सकेका छैनन् । द्वन्दपिडित परिवार विचल्लीमा पर्दै आएका छन् । दर्जनौं बेपत्ता तथा घाईते र अन्य द्वन्दपिडित परिवारको अवस्था नाजुक बन्दै गए पनि पनि सरकारले न्याय तथा राहत उपलब्ध गराउन वास्ता गरेको छैन ।
अहिलेका नेताले सहिदका सपना साकार पार्न सकेका छैनन् । नेताहरुले मीठा मीठा भाषण तथा झुट्टा आश्वासन दिएर भोट फुत्काउने र वेवास्ता गर्ने स्थानीय पुतली विकले बताईन् । तत्कालिन द्वन्दमा भेरी नगरपालिका १, पिपे रिम्नाका मात्रै ३५ जनाले ज्यान गुमाएका थिए । एउटै परिवारका ४ जनासम्म सहिद बनेका छन् ।
सशस्त्र द्वन्द्धको क्रममा यस जिल्लाका वेपत्ता भएका ३८ जना मध्ये ११ को मात्र सुचीकृत भएको पाइएको छ । द्वन्द्धमा ३ सय ८४ ले ज्यान गुमाएका थिए । घाइते, अपाङ्ग, सम्पत्ति क्षेती, विस्थापित, जेल हिरासत, अपहरण लगायतबाट ४ हजार पिडित बनेका छन् । शान्ती समितीको पुस्तिकामा १ सय ६६ जनाको नाम घाइते तथा वेपत्ता रहेको देखिन्छ । सरकारले दिएको राहत सकिएको र तत्काल गुजरा चलाउन समेत समस्या भईरहेको पीडित परिवारहरु बताउँछन् । #भेरीमालिका दैनिक#
















































। १७ माघ २०७७, शनिबार