कोरोना विरुद्धको पहिलो खोप अमिनलाई, खोप तालिका सार्वजनिक

पहिलो दिन ४० जनालाई लगाइयो

जाजरकोट, १५ माघ । जाजरकोटमा कोरोना भाईरस विरुद्धको खोप लगाउन सुरु भएको छ । देशव्यापी कार्यक्रम अनुसार जिल्लामा पनि बुधबार बाट कोरोना विरुद्धको खोप कोभिड शिल्ड लगाउन सुरु भएको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईमा खटिने कर्मचारीलाई लगाउने कार्यक्रम अनुसार जिल्लामा खोप लगाउन सुरु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्लामा पहिलो खोप डाक्टर अमिन शाहले लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरक्त शाहले जिल्लामा पहिलो व्यक्तिका रुपमा खोपको पहिलो डोज लगाए । त्यस्तै क्रमश स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कर्मचारीले कोरोना भाईरस विरुद्धको खोप लगाएका थिए ।
पहिलो चरणमा जिल्लामा ८ सय १० जनाले कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य सेवा कार्यालयका खोप फोकल प्रर्सन शान्तबहादुर बुढाथोकीले जानकारी दिए ।

अहिले जिल्लामा ९ सय भन्दा बढी भाईल खोप आएको उनको भनाई छ । खोपका लागि अहिलेसम्म ८ सय १० जनाको नाम सिस्टममा दर्ता भएको र यसमा छुटेकाहरु थपिने उनले बताए । बचेको खोप सुरक्षित रहने र दोस्रो चरणमा लगाउन प्रयोग हुने उनको भनाई छ ।

भारतले अनुदानमा उपलब्ध गराएको खोप सरकारले देशभरमा पठाएपछि बुधबार बाट पहिलो चरणको खोप लगाउन सुरु भएको हो । कोरोना खोपमा पहिलो चरणमा १८ महिला र २२ जना पुरुष गरी ४० स्वास्थ्यकर्मीलाई लगाईएको कार्यालयले जनाएको छ । खोप लगाईसकेपछि यो समाचार तयार पार्दा सम्म कुनै असर नदेखिएको कार्यालयको भनाई छ ।

खोप तालिका सार्वजनिक
कोरोना भाईरस कोभिड १९ विरुद्धको खोप तालिका सार्वजनिक भएको छ । पहिलो चरणको खोप कार्यक्रमलाई सफल बनाउन खोप तालिका सार्वजनिक भएको हो । बुधबार बाट सुरु भएको खोप कार्यक्रम आगामी माघ १९ गते सम्म चल्ले स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

भेरी नगरपालिका र स्वास्थ्य सेवा कार्यलयको १४÷१५ गते, नलगाड नगरपालिका, बारेकोटर कुशे गाउँपालिकामा १६÷१७ गते र छेडागाड नगरपालिका जुनीचाँदे र शिवालय गाउँपालिकामा १८÷१९ गते सम्म खोप सञ्चालन गरिने खोप फोकल प्रशन शान्तबहादुर बुढाथोकीले जानकारी दिए ।

निश्चित तापक्रममा राख्नेपर्ने भएकोले बाहिर लिन नसकिने र खोप सेवा जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोट बाट दिईने समेत उनको भनाई छ ।

तपाईको प्रतिक्रिया