नेकपाका दुईवर्षे १३ घोषणामा कांग्रेसले खुट्यायो १३ वटै दोष

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले फागुन ३ गते कार्यकालको दुई वर्ष पूरा गरेको छ।

सोही अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाले चुनावी घोषणापत्रमा दुई वर्षमा गर्छाैँ भनेर प्रतिबद्धता गरेको तर काम नगरेको भन्दै १३ वटा बुँदा सार्वजनिक गरेको छ। नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले भिडियो सामग्री सार्वजनिक गरेर नेकपाको १३ घोषणापत्रमाथि १३ वटै खण्डन गरेका छन्। ‘नेपाल कम्युनिष्ट पार्टीको सरकारले फागुन ३ गते दुई वर्ष पूरा गरेको छ।

यसका लागि सरकारलाई हार्दिक बधाइ। जनताको बधाइ पाउने गरी काम चाहीँ केके भएत?’ प्रवत्ता शर्माले भने, ‘सम्मानीय प्रधानमन्त्रीले संसदमा लामै फेहरिस्त सुनाउनु भयो। हामीले पल्टायौँ नेकपाको चुनावी घोषणापत्र। जसमा २ वर्षमा हामी यो–यो गर्नेछौँ भनेर लेखिएको रहेछ।’

नेकपाकाे घाेषणा पत्र र कांग्रेसकाे खण्डन

१) राष्ट्रव्यापी नापी लागू गरेर भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिनेछ। – कांग्रेस : तर, यो थाँती रह्यो।

२) आधारभूत खाद्यन्नमा आत्मनिर्भर बनाइने छ। – कांग्रेस : तर, उत्पादन बढेन। आयात बढ्यो।

३) बिजुलीबाट बन्चित घरपरिवारमा विद्युत् उपलब्ध गराइनेछ। – कांग्रेस : यो लक्ष्यले परिणाम हाँसिल गरेन

४) भैरहवा विमानस्थल सञ्चालनमा आउनेछ। – कांग्रेस : तर, कांग्रेसकै पालाको परियोजना भ्रमण वर्ष सुरु भइसक्दा पनि सम्पन्‍न भएन।

५) एक वर्षभित्रै तुइनलाई झोलुंगे पुलद्वारा विस्थापन गरिनेछ। – कांग्रेस : तर, दुई वर्ष पुग्दा पनि कथा उस्तै रह्यो।

६) ‘ब्रोडब्याण्ड इनटरनेट’ सुविधा सबै स्थानीय तहको केन्द्रमा पुर्‍याइनेछ। – कांग्रेस : तर, पूरा भएन लक्ष्य, शहरी क्षेत्रमै पनि समस्या।

७) द्वन्द्वपीडितको मुद्दा हल गरिने – कांग्रेस : तर, आयोगहरूको गठनसमेत बल्लबल्ल

८) एक वर्षभित्रै सम्पूर्ण नागरिकलाई विद्युतीय राष्ट्रिय परिचयपत्र र गरिबीको रेखामूनि रहेकालाई विशेष परिचयपत्र उपलब्ध गराइने छ

। – कांग्रेस : तर, सायद लेख्‍नेले नै बिर्सिए यी पंक्ति

९) कृत्रिम मूल्यवृद्धि नियन्त्रण गरिनेछ। – कांग्रेस : तर, सगरमाथा आरोहणमा छ, बजार भाउ

१० सीमा समास्याको समाधानको लागि कूटनीतिक पहल गरिनेछ। – कांग्रेस : तर, नयाँ ढंगले बल्झियो कालापानी, भएन प्रभावकारी पहल।

११) भ्रष्टाचारको अन्त्य र सुशासन ‘कम्युनिष्ट नेतृत्वमा मात्रै सम्भव’ – कांग्रेस : तर, गोकर्ण रिसोर्टलगायतका तथ्य अलग्यै सत्य बोलिरहेका छन्।

१२) भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण २०७६ सालभित्र सम्पन्‍न गरिनेछ। – कांग्रेस : कांग्रेसको पालामा सुरु। तर, टुंगिएन २ वर्षमा व्यथा।

१३) काठमाडौंमा पेट्रोलियम वाहनलाई विद्युतीय वाहनले प्रतिस्थापन गरिनेछ। – कांग्रेस : तर, कागजी प्रतिबद्धता शून्य कार्यान्वयन कांग्रेसको नजरमा २ वर्षमा के भयो?

१) राष्ट्रियताको प्रश्नमा काम चलाउ सरकार २) लोकतन्त्रको प्रश्नमा अधिनायकवाद उन्मुख सरकार ३) संघीयताको प्रश्नमा हस्तक्षेपकारी सरकार ४) समृद्धिको प्रश्नमा अलमल सरकार ५) बजार भाउका अघिल्तिर निरीह सरकार

तपाईको प्रतिक्रिया