यस बर्ष धान र मकै उत्पादनमा गिरावट, जाजरकोटका किसानलाई कसरी छाक टार्ने चिन्ता ?


जाजरकोट २१ कात्तिक । जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा ३.३ प्रतिशतले धानको उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । नलगाड नगरपालिका ६ थाप्लाका राजेन्द्र खड्काले ओख्र्याल ज्यूलामा गत वर्ष १५ मुरी धान उत्पादन भएको थियो ।
यस पटक भने उत्पादन आधाले घटेपछि खड्का चिन्तामा छन । बर्षभरी परिवारको छाक टार्ने धान खेती नै हो, खड्काले भने । यसपटक परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ, उनले भने । त्यसैगरी नलगाड ४ औलका तीलबहादुर रावल धान उत्पादन घटेपछि निरास छन् । बर्षभरी धान्ने धान हो, यो पटक उत्पादन तेव्वरले घट्यो, उनले भने । रोग लागेर धानको बोट नै जल्यो, उत्पादन राम्रो भएन, उनले भने ।

खड्का र रावल त केहि उदाहरण मात्र हुन् । जिल्ला भर धान खेती गरेका कृषकहरु उत्पादन आधाले घटेपछि निरास भएका छन् । बाढीपहिरो, सिचाईको अभाव, उन्नत विउको कमी, परम्परागत रुपमै धानको खेती हुनु लगाएत कारणले बर्षेनी धान उत्पादन घट्दै गइरहेको बारेकोट ५ तोल्खानाका खड्क शाहले बताए । मकै, गहुँ पछिको धानबाली हो, यो पनि उत्पादन घट्दै गएको छ, शाहले भने । जाजरकोटका सात वटै स्थानीय तहमा चैते धान तथा बर्खे धान खेती हुने गरेको छ ।

तीन हजार ६३ हेक्टर क्षेत्रफलमा गत बर्ष ९ हजार ९ सय ७१ मेट्रीक्टन धान उत्पादन भएको थियो भने यस वर्ष ९ हजार ६ सय ५८ मेट्रीक्टन उत्पादन भएको कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमुख गणेश अधिकारीले बताए । फुलफुल्ने समयमा पानी नपरेको कारण उत्पादन घटेको अधिकारीले जानकारी दिए । १० हजार ८ सय ५० हेक्टरमा मकै, तीन हजार ६३ हेक्टर क्षेत्रफलमा धान र १ हजार २ सय ६ हेक्टर क्षेत्रफलमा कोदोको खेती भएको कार्यालयले जनाएको छ ।

यस्तै यस बर्ष जाजरकोटमा मकै उत्पादनमा समेत गिरावट आएको छ । पहाडी जिल्ला जाजरकोटमा यस वर्ष मकै उत्पादन घटेको छ । गत वर्षको तुलनामा मकै ५.३३ प्रतिशते उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बर्षभरीमा खाने खाद्यबालीमा उत्पादन कमी आएपछि स्थानीयहरु चिन्तामा परेका छन् । बारेकोट गाउँपालिका–५ कालाखोलीकी देवी सिंहको घरमा गत बर्षको भन्दा यस बर्ष मकै उत्पादन घटेको छ । उत्पादन आधाले घटेपछि १० जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको बताइन । बर्ष भरी परिवारको छाक टार्ने मकै खेती नै होे ।

बाढी पहिरोलगायतका कारणले मकै उत्पादनमा गिरावट आएको उनको भनाई छ । त्यसैगरी नलगाड नगरपालिका–८, हलचौरका दानबहादुर खत्री मकैमा उत्पादन घटेको बताए । बर्षभरि खाने मकै हो, यो पटक उत्पादन तेव्बरले घटेपछि खत्री परिवार चिन्तामा परेको छ । रोग किरा लागेर मकै उत्पादन राम्रो नभएको उनकोे भनाई छ । सिंह र खत्री त केही उदाहरण मात्र हुन् । जिल्ला भर मकै खेती लगाएका कृषकहरु उत्पादन घटेपछि निराश भएका छन् । मुख्य बाली मकै उत्पादनमा कमी आएपछि स्थानीयलाई भोकमरीले सताउने भएको छ ।

जिविको प्रार्जनको मुख्य स्रोत मकै बालीलाई बनाएका स्थानीयहरु उत्पादन घटेपछि चिन्चित बनेका हुन । कोरना भाइरसका कारण लामो समयसम्म भएको लकडाउन र कमाई गर्नेहरु सबै गाउँघरमै भएका रोजगारी पाउन सकिरहेका छैनन् । जाजरकोटमा बाढी पहिरो, सलह किरोको प्रकोप लगायतले नोक्सानी गरेपछि मकै तथा धान उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमुख गणेश बहादुर अधिकारीले बताए ।

१० हजार ८ सय ५० हेक्टर क्षेत्रफल जमीनमा गत बर्ष ३१ हजार ८ सय ४७ मेट्रिक्टन मकै उत्पादन भएको थियो भने यस वर्ष ३० हजार १ सय ५० मेट्रीक्टन उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । जाजरकोटमा १० हजार ८ सय ५० हेक्टरमा मकै खेती भएको कार्यालयले जनाएको छ । #रेडियाे नेपाल #

तपाईको प्रतिक्रिया