
जाजरकोट — जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–५ का स्थायी बासिन्दा तथा वन्यजन्तु अनुसन्धानकर्ता गोविन्द बहादुर सिंह अन्तर्राष्ट्रिय संरक्षण क्षेत्रमा सम्मानित हुनुभएको छ।
नेपालमा आयोजित Conservation Asia Congress Nepal 2026 मा वन्यजन्तु संरक्षण तथा अनुसन्धान क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै सिंहलाई सम्मान गरिएको हो। विश्वभरका संरक्षणकर्मी, अनुसन्धानकर्ता तथा वातावरणविद्हरूको सहभागिता रहेको उक्त मञ्चमा सिंहको सम्मान जाजरकोटका लागि गर्वको विषय बनेको छ।
विगत लामो समयदेखि वन्यजन्तु तथा पशुपन्छीको अध्ययन, अनुसन्धान र संरक्षणमा सक्रिय सिंहले दुर्गम क्षेत्रका जैविक विविधताको अभिलेखीकरण, संरक्षण सचेतना तथा अनुसन्धानमार्फत महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ।
सीमित स्रोत–साधनका बीच पनि निरन्तर फिल्ड अनुसन्धानमा खटिँदै आएका उहाँले स्थानीय ज्ञान र अनुभवलाई संरक्षण अभियानसँग जोड्ने कार्य गर्दै आउनुभएको छ।

एक समय संरक्षण क्षेत्रमा निश्चित वर्ग र पहुँच भएकाहरूको मात्र प्रभाव रहने धारणा रहेको अवस्थामा सिंहजस्ता रैथाने संरक्षणकर्मीको अन्तर्राष्ट्रिय स्तरमा भएको सम्मानले स्थानीय प्रतिभा, मेहनत र समर्पणको उच्च मूल्यांकन भएको सन्देश दिएको छ।
विश्व मञ्चबाट प्राप्त यो सम्मानले जाजरकोटसहित कर्णालीका युवा अनुसन्धानकर्ता तथा संरक्षणकर्मीलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरबाट सुरु भएको उहाँको संरक्षण यात्रा आज अन्तर्राष्ट्रिय पहिचानसम्म पुग्नु जाजरकोटवासीका लागि गर्वको क्षण बनेको छ।

















































हाम्रो पहुँच संवाददाता । २३ जेष्ठ २०८३, शनिबार