विद्यालय छोड्ने दर घटाउन नलगाडमा रणनीतिक छलफल

जाजरकोट — बालविवाह, किशोरावस्थामा हुने गर्भधारण तथा विद्यालय छाड्ने दरमा कमी ल्याउने उद्देश्यले नलगाड नगरपालिकामा दुई दिने कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। नलगाड नगरपालिका को आयोजनामा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटआइपास नेपाल बीचको संयुक्त साझेदारीमा सञ्चालित SRHR परियोजना अन्तर्गत कार्यक्रम गरिएको हो।

कार्यक्रमले नलगाड नगरपालिका भित्र विद्यमान बालविवाह, किशोर गर्भधारण र विद्यालय छाड्ने समस्याबीचको अन्तरसम्बन्ध पहिचान गर्दै समाधानका लागि स्पष्ट कार्यदिशा तय गर्ने लक्ष्य लिएको थियो। बहुक्षेत्रीय सहकार्यलाई सुदृढ गर्दै यी समस्याको दीर्घकालीन समाधान खोज्ने विषयमा सहभागीहरूबीच गम्भीर छलफल भएको थियो।

गोष्ठीमा नगर उपप्रमुख देवका लामिछाने, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर परियारको विशेष उपस्थिति रहेको थियो। उनीहरूले यस्ता सामाजिक समस्याको न्यूनीकरणका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।

कार्यक्रमको सहजीकरण आइपास नेपाल र पाँचतारा युवा संरक्षक मञ्चले संयुक्त रूपमा गरेका थिए। गोष्ठीका क्रममा योजना निर्माण, प्रभावकारी समन्वय, स्रोत साझेदारी र सामूहिक प्रभावकारिता अभिवृद्धि जस्ता विषयमा ठोस निर्णयहरू गरिएको जनाइएको छ।

पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका SRHR परियोजना कार्यक्रम संयोजक भीम बहादुर साउदका अनुसार, “कार्यशालाले बालविवाह र किशोर गर्भधारण जस्ता जटिल समस्याको समाधानका लागि व्यवहारिक योजना बनाउने आधार तयार गरेको छ।”

स्थानीय स्तरमै समस्या पहिचान गर्दै समाधानतर्फ उन्मुख यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया