
जाजरकोट — नेपाल कम्युनिस्ट पार्टी (एमाले) जाजरकोटका जिल्ला अध्यक्ष तथा शिवालय गाउँपालिकाका पूर्व अध्यक्ष नरेन्द्र शाही सहपरिवारसहित अमेरिका प्रस्थान गरेका छन्।
शाही डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम अन्तर्गत पत्नी र दुई छोराछोरीसहित अमेरिका उडेका हुन्।
शाही लामो समयदेखि जाजरकोटको स्थानीय राजनीति र विकास अभियानमा सक्रिय रहँदै आएका नेता हुन्।
शिवालय गाउँपालिकाको अध्यक्षका रूपमा कार्यकाल पूरा गरेका उनी हाल एमाले जाजरकोटको जिल्ला नेतृत्व सम्हालिरहेका छन्। उनको अमेरिका प्रस्थानसँगै जिल्लाको राजनीतिक वृत्तमा विभिन्न चर्चा र चासो उत्पन्न भएको छ।
उनकी पत्नी शर्मिला रावल इन्द्रज्योति माध्यमिक विद्यालयकी प्रधानाध्यापक हुन्। शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएकी रावल पनि परिवारसहित अमेरिका गएकी छन्।
शाहीको अमेरिका प्रस्थान अस्थायी बसाइका लागि हो वा दीर्घकालीन योजनासहितको भन्ने विषयमा भने उनले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
यद्यपि पार्टी कार्यकर्ता र समर्थकहरूबीच उनको भूमिकाबारे विभिन्न अनुमान भइरहेका छन्।
जिल्ला राजनीतिक नेतृत्वमा रहेको व्यक्तिको विदेश प्रस्थानलाई लिएर स्थानीयस्तरमा चासो बढिरहेको छ भने आगामी दिनमा शाहीको राजनीतिक सक्रियता र जिम्मेवारी कसरी अगाडि बढ्छ भन्ने विषयले पनि अर्थ राख्ने देखिएको छ।
















































हाम्रो पहुँच संवाददाता । १९ पुष २०८२, शनिबार