
खलंगा । जाजरकोटको सदरमुकाम खलंगामा होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरूका लागि खाद्य स्वच्छता सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिममा खाद्य पदार्थको सुरक्षित भण्डारण, सरसफाइ, तयारी प्रक्रिया, गुणस्तर मापदण्ड तथा उपभोक्ता स्वास्थ्य सुरक्षाका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका कार्यालय प्रमुख सन्तोष दाहालले होटल व्यवसायमा स्वच्छता र गुणस्तर कायम गर्नु अनिवार्य रहेको बताए।
उनले भने, “खाद्य स्वच्छता अपनाए उपभोक्ताको स्वास्थ्य सुरक्षित हुनुका साथै होटल व्यवसायको विश्वसनीयता पनि बढ्छ। यसले व्यवसाय दिगो बन्न सहयोग गर्छ।”

कार्यक्रममा भेरी नगरपालिका उपप्रमुख सीता जैसीको समेत सहभागीता रहेको थियो। उनले स्थानीय तहले स्वच्छ र सुरक्षित खाद्य प्रणालीलाई प्राथमिकतामा राख्दै यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।
तालिममा सहभागी होटल सञ्चालकहरू तालिमबाट आफूहरू लाभान्वित भएको भन्दै खुसी देखिएका थिए। उनीहरूले व्यवहारिक ज्ञान प्राप्त भएको र अब होटलमा थप स्वच्छता अपनाउने प्रतिबद्धता व्यक्त गरे। आयोजकका अनुसार यस्ता तालिमले जिल्लामा सुरक्षित र गुणस्तरीय खाद्य सेवा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
















































हाम्रो पहुँच संवाददाता । १८ पुष २०८२, शुक्रबार