
जाजरकोट । नेकपा एमालेका नेता निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले देशमा निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न असफल भएको आरोप लगाएका छन्।
जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा आयोजित नेकपा एमालेको ११औँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता आचार्यले वर्तमान सरकारको कार्यशैलीकै कारण निष्पक्ष र स्वतन्त्र निर्वाचनको आधार कमजोर बन्दै गएको बताए।
उनले सरकार सुरक्षा, राजनीतिक गतिविधि र नागरिक सहभागिताको वातावरण बनाउन असफल भएको उल्लेख गर्दै यस्तो अवस्थामा निष्पक्ष निर्वाचनप्रति गम्भीर शंका उत्पन्न भएको बताए।
आचार्यका अनुसार लुटिएका हतियार फिर्ता गर्न र फरार कैदीबन्दी पक्राउ गर्न सरकार गम्भीर नदेखिँदा नागरिकमा असुरक्षाको भावना बढेको छ। “यस्तो अवस्था रहँदा निर्वाचनको कुरा गर्नु आफैंमा विरोधाभास हुन्छ,” उनले भने।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई अझै पनि काठमाडौं बाहिर जान नदिइएको दाबी गरे। नेताहरू नागरिकसँग प्रत्यक्ष भेटघाट गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनले सरकार त्यसको जिम्मेवार भएको आरोप लगाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति कुलमान भिसिङ मन्त्री बनेपछि राजनीतिक गतिविधि थप संकुचित भएको उनको भनाइ थियो।
“जनताको बीचमा जानबाट एमाले कहिल्यै अलग हुँदैन,” उनले भने, “हामी जनतामाझ जान तयार छौँ, तर त्यसका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्छ।”
आचार्यले प्रतिनिधिसभाको पुनःस्थापना, सर्वदलीय सरकार गठन र ताजा जनादेशमा जान नेकपा एमाले तयार रहेको स्पष्ट पारे। “निर्वाचन हुन्छ कि हुँदैन भन्ने अनिश्चित छ,” उनले भने, “यसको मुख्य जिम्मेवारी सरकारकै हो।”
उनका अनुसार तत्काल सुरक्षा व्यवस्था सुदृढ गरी राजनीतिक गतिविधि र नागरिक सहभागिताका लागि विश्वासयोग्य वातावरण निर्माण नगरेसम्म निर्वाचन प्रक्रिया नै प्रश्नको घेरामा रहनेछ।
















































हाम्रो पहुँच संवाददाता । १९ पुष २०८२, शनिबार