मन्त्री सिंह र प्रमुख प्रतिपक्ष दलका नेता कँडेलबीच भेटवार्ता


सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलबीच भेटवार्ता भएको छ।
नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका कँडेललाई भेट्न मन्त्री सिंह बुधबार बिहान वीरेन्द्रनगरस्थित नेता कँडेलको निवास पुग्नु भएको हो। आउँदो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल र सुझावका लागि मन्त्री सिंह नेता कँडेललाई भेट्न पुग्नुभएको हो।

उहाँले प्रदेश सरकारको बजेट सिलिङ, सरकारको तयारी लगायतला विषयमा जानकारी गराउनुभयो। मन्त्री सिंहले समग्र कर्णालीको विकास, समृद्धि र सुशासनका लागि प्रमुख प्रतिपक्ष दलको पनि साथ चाहिने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो। बजेटका विषयमा सैद्धान्तिक, नीतिगत र कार्यक्रमिक रूपमा आवश्यक सल्लाह दिन मन्त्री सिंहले आग्रह गर्नुभयो।

भेटमा नेता कँडेलले जनताको समृद्धि, सुशासन, कर्णालीको विकासका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा आफ्नो सहयोग रहने बताउनु भयो।
`नीति कार्यक्रम कस्तो र कसरी आउँछ, त्यसलाई हेर्छाैं। समग्र कर्णालीको विकासका लागि मेरो कुनै आग्रह-पूर्वाग्रह रहँदैन। सरसहयोग रहन्छ´, नेता कँडेलले भन्नुभयो।

नेता कँडेलले वास्तविकतामा आधारित बजेट ल्याउन, सबै प्रदेश सभा सदस्यको सहभागिता र अपनत्व हुनेगरि अगाडि बढ्न भन्नुभयो। उहाँले मन्त्री सिंहलाई परिभाषित जिम्मेवारी कुशलतापूर्वक सप्पन्न गर्न शुभकामना समेत दिनुभयो।

तपाईको प्रतिक्रिया