दलदलमा फसेको अर्थ राजनीति र चुलिदै गरेको अर्थ संकट

नेपाल भौगोलिक रुपमा विविधतायुक्त, राजनीतिक रुपमा स्वतन्त्र र आर्थिक रुपमा संकटापन्न अवस्थामा रहेको छ । कहिल्यै कसैको उपनिवेशमा नरहेको नेपालको सुस्पष्ट स्थिर परराष्ट्र र सुरक्षा नीति छैन । सरकारको फेरबदल सँगै देशको परराष्ट्र नीति र सुरक्षा नीतिमा समेत परिवर्तन आइरहन्छ । जसको कारणले राष्ट्रियता र स्वाभिमान माथी समेत विभिन्न कोणबाट प्रश्न उठ्ने गरेका छन् । त्यो स्वयंको कारणबाट सृजित समस्या हो । विश्व व्यापीकरणको प्रभावसँगै बहुराष्ट्रिय कम्पनीहरुको समेत नेपाल महत्वपूर्ण गन्तव्यको रुपमा रहँदै आएको देखिन्छ । यसमा व्यापार विस्तारका अलवा राजनीतिक उद्धेश्य समेत जोडिएको पाइन्छ । जस्तो नेपालको सदनले अनुमोदन गरेको एमसीसी” लगायतका थुप्रै प्रोजेक्टहरु यसका ज्वलन्त उदाहरणहरु हुन् ।

0000
हाम्रो राष्ट्रिय अर्थतन्त्र बचतमा आधारित छ । पछिल्लो समय बैकंमा बचत नगरेर घर जग्गा र शेयर बजारमा लगानी गरेको कारण मुलत तरलतामा संकुचन आएको मान्न सकिन्छ । त्यसैमा सरकारले जग्गाको कित्ता काटमा रोक लगाएपछि र शेयर बजार ओरालो लागेपछि आर्थिक क्रियाकलाप सुस्त भएको पाइन्छ । राष्ट्रिय उत्पादन न्यून हुँदा नुन देखि सुन सम्म आयातमा निर्भर रहँदा खर्चलाई निरुत्साहित गरेर बचतलाई प्रश्रय दिइएको पाइन्छ । यो देशको स्वदेशी उत्पादन, उद्योग, कलकारखाना नहुँदा, गुणस्तरीय रोजगारमुलक शिक्षा र प्रभावकारी स्वास्थ्य प्रणाली नहुँदा अर्थात आत्मनिर्भर अर्थतन्त्रको विकास नभएका कारण अन्तराष्ट्रिय घट्नाक्रमको समेत नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको देखिन्छ ।

000
राष्ट्रिय उत्पादन धाराशायी बन्दै जानु, घरेलु उद्योग कारखानाहरु रुग्न बन्दै जानु, यूवा जनशक्ती विदेशिने क्रम नरोकिनु, आयात प्रतिस्थापन गर्न निर्यातजन्य वस्तुहरुको पहिचान उत्पादन र बजारीकरणमा ध्यान नदिनुले मुलुकको आर्थिक अवस्था दिनदिनै कमजोर बन्दै गइरहेको छ । हालको तथ्याङ्कलाई हेर्ने हो भने बैदेशिक सहायताको ९ प्रतिशत, बैदेशिक ऋण अनुदानको २० प्रतिशत मात्र खर्च भएको देखिन्छ । चालु तर्फ कर्मचारीहरु लाई तलब खुवाउन कठिनाई हुने अवस्था विद्यमान छ । सरकार पुरानो ऋण तिर्णलाई १० प्रतिशत व्याजदरमा आन्तरिक ऋण लिने तयारीमा छ । खाद्यान्नमा १४.५० प्रतिशत स्वास्थ्य सेवामा १०.५० प्रतिशत महंगी बढेको छ । व्यापार घाटा चुलिदो छ ।

000

अत्यावश्यक क्षेत्रका कच्चा पदार्थको आयातमा कटौती गरिएकोले आयात घटेको जस्तो देखिए पनि यसको असर सम्पुर्ण उद्योग र उत्पादनको क्षेत्रमा परेको छ । नियमनकारी निकायको कमजोरी र स्वनियन्त्रणको अभावका कारण वित्तीय संस्था तथा सहकारी क्षेत्रमा समस्या पैदा भएको छ । त्यस प्रकारका संस्थाहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको कारण निक्षेपदाताले समेत मौज्दातमा राखेको रकम फिर्ता पाउन सकिरहेका छैनन । कोभिड पछि व्यापार संकटमा परेका बेला मिटरव्याजीहरु सलबलाएको देखिन्छ । यी सबै सूचकहरुका आधारमा हाल नेपालको अर्थतन्त्र संकटउन्मुख देखिन्छ । यो समस्याको निराकरण गर्न बेलैमा सैद्धान्तिक तथा वैचारिक मत भिन्नताहरु जे भए पनि मुलुकको अर्थतन्त्रलाई सबल बनाउदै समृद्ध नेपाल र सुखि नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने हो भने दल भन्दा माथी उठेर एकपटक सामुहिक र सचेत प्रयासबाट मात्रै वर्तमानमा देखिएको समस्यालाई न्यूनीकरण गर्न सकिने अवस्था विद्यमान छ ।

 लेखक सिंह अधिवक्ता समेत हुन्।

तपाईको प्रतिक्रिया