
जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले ‘नागरिक सहभागिता मोबाइल एप’ तयार पारेको छ । नगरपालिका भित्रका नागरिकलाई सिधैं नगरपालिका सँग जोड्न मोबाइल एप तयार पारेको हो । एनड्रोइड मोबाइलमा चल्ने एपमा नगरपालिकाको शिक्षा डायरीलाई प्राथमिकतामा राखिएको छ ।
प्लेस्टोरमा गई ‘नागरिक सहभागिता—भेरी’ एप सर्च गरी डाउनलोड गर्न सकिनेछ । मोबाइल एप बाट नगरभित्रका नागरिकहरुले शिक्षा क्षेत्रमा भएको विकृति, नगर बाट प्रवाह गरिरहेका सेवा, कृषकको गुनासो, भ्रष्टाचार, विसंगतिका विरुद्ध लेखेर वा अडियो मार्फत गुनासो पठाउन सक्नेछन् ।
नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भने, ‘अहिले शिक्षालाई प्राथमिकतामा राखिएको छ, विस्तारै नगरभित्रका स्वास्थ्य, खानेपानी, विद्युतलाई समेत एपमा समेटी अझै नगरवासीलाई सजिलो बनाउनेछौं ।’ नगर भित्रका कुनै पनि गुनासा सल्लाह, सुझाव प्रतिक्रिया सिधैं एप मार्फत पठाउन नगर प्रमुख घर्तीले आग्रह समेत गरे ।
सहकर्मी समाजद्धारा निर्माण गरिएका नगरपालिका भित्रका विभिन्न समुहका प्रतिनिधीहरुको सहभागितामा एप को बारेमा जानकारी दिईएको छ । नगरपालिका म अव गुनासो पठाउन सल्लाह दिन निकै सजिलो भएको कार्यक्रमका सहभागिहरुले बताएका छन् । टि.डि.एच को प्राविधिक सहयोगमा योङ्ग एनिमेशनले मोबाइल एप तयार पारेको छ । एपमा डायरी, गुनासो प्रतिक्रिया, कार्यक्रम, नक्सा र नागरिक वडापत्र क्याटाग्रोरी राखिएको छ ।
कुनै पनि नागरिकले गुनासो पोख्दा सिधैं नगरपालिकामा आउने छ । एउटाको गुनासो अर्काेले सुन्न अथवा हेर्न नसकिने एप निर्माणकर्ता विभुषण विष्टले बताए । उनले भने, ‘यो एपले नगरपालिका र नगरबासीवीचको सम्बन्धलाई अझ नजिक बनाउने विश्वास लिएको छु, नगर प्रमुख तथा उप प्रमुखको फोन कुनै वेला नउठन सक्छ तर गुनासो पोख्दा त्यहाँ सेभ हुन्छ र जतिवेला पनि प्रतिक्रिया आउँन सक्छ ।’
भेरी नगरपालिका जिल्ला अरु स्थानीय तह भन्दा इन्टरनेटमा अग्र देखिएको छ । नगरपालिकाले यस भन्दा पहिले पोषण एप समेत तयार पारिसकेको छ । सुशासनका लागि नगरपालिकाले जवाफदेहिता सम्बन्धी छुट्टै वेवसाइट समेत निर्माण गरेको छ । फरक प्रसंगमा बोल्दै नगरप्रमुख घर्तीले आफु नगरवासीको सेवामा कटिवद्ध रहेको बताए । ‘हामीले नगरवासीलाई कसरी छिट्टो सेवा दिन सक्छौं, हाम्रा कर्मचारी साथीहरुले त्यसलाई पनि ख्याल गर्नुप¥यो, हामी सेवा दिन कटिवद्ध हुनुपर्छ’ उनले भने ।
https://play.google.com/store/apps/details?id=com.ict_supprt.bheri&hl=ne&gl=US एप डाउनलाेड गर्न याे लिंकमा थिच्नुनुहाेस्

वल्र्डभिजनले भेरीमा काम गर्ने
भेरी नगरपालिकामा वल्र्ड भिजन इन्टरनेशनल संस्थाले काम गर्ने भएको छ । यहाँका ५ वटा वडाका बालबालिकाको संरक्षण, समावेशी र गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्ने भएको हो । नगरभित्रका १२,१०,९,७ र ८ नम्बर वडामा काम गर्न लागेको छ ।
पाँच वडामा रहेका बालबालिकाको संरक्षण, समावेशी र गुणस्तरीय शिक्षामा जोड दिनका लागि परियोजनाले काम गर्ने वल्र्ड भिजनका प्रतिनिधी नारद मलसीले जानकारी दिए ।
उनले भने, ‘परियोजना सञ्चालनका लागि हामीले गर्नुपर्ने सबै गरिसकेका छौं, नगरपालिकाले पनि हामीलाई स्वीकृति दिईसकेको छ, अव छिट्टै काम सुरु गर्नेछौं ।’ विश्वका १ सय भन्दा बढी देशमा वल्र्डभिजनले काम गर्दै आएको छ । कर्णालीका जुम्ला, दैलेख र जाजरकोटमा काम गर्न थालेको छ ।
नगरपालिका भित्रका बालबालिका र समावेशी गुणस्तरी शिक्षामा संस्थाले काम गर्न लागेको प्रति नगरप्रमुख चन्द्रप्रकाश घर्तीले खुशी व्यक्त गरे । ‘बालबालिका भविष्यका कर्णधार हुन्, उनीहरुको क्षेत्रमा काम गर्न थालियो भने हामीलाई निकै सजिलो हुन्छ, पछि आउने जो सुकैलाई निकै सजिलो हुन्छ’ उनले भने । संस्थालाई नगरपालिकाले सहयोग गर्न तयार रहेको समेत बताए ।
निशुल्क शिक्षा कार्यान्वयन गर्न माग
नगरपालिका भित्रका विद्यालयमा निशुल्क शिक्षा कार्यान्वयन गर्न माग गरिएको छ । मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई पत्र लेख्दै नेपालको संविधान २०७२ को धारा ३१ उपधार (२) मा उल्लेखित माद्यामिक तह सम्मको शिक्षा निशुल्क प्राप्त गर्ने हकलाई कार्यान्वयन गर्न माग गरिएको हो ।
यस्तै पत्रमा भनिएको छ, ‘उपधारा (३) मा उल्लेखित आर्थिक रुपले विपन्न नागरिकलाई उच्च शिक्षा निशुल्क प्राप्त गर्ने हक, धारा ३९ (२) मा उल्लेखित बालबालिकाको शिक्षा प्राप्ति सहित सर्वागिङ्ग विकासको हक र नेपालको संविधानको अनुसूची ८ को क्रम संख्या ८ मा माद्यामिक शिक्षा सम्मको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भएको संवैधानिक विषयहरु तर्फ भेरी नगरपालिका जानकार र संवेदनशील रहेको अपेक्षा राख्दछौं ।’
उक्त संवैधानिक व्यवस्थाहरुलाई कार्यान्वयन गर्दै कुनै पनि बालबालिकाहरु शिक्षा प्राप्त गर्ने हक बाट कुनै पनि बालबालिका बञ्चित हुन नदिन विभिन्न स्थानीय तहहरु र शिक्षण संस्थाहरुको नीति, कार्यक्रम र बजेट व्यवस्था गरिरहेका भएपनि भेरी नगरपालिका भित्रका कतिपय विद्यालयले लिने शुल्कका सम्बन्धमा ध्यानाअकर्षण पत्र बुझाईएको मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले जानकारी दिए ।
संवैधानिक कानुनी व्यवस्था विपरीत भेरी नगरपालिका भित्रका कतिपय शिक्षण संस्थाहरुले विभिन्न नाममा महंगो शुल्क विद्यार्थीबाट लिने गरेकाले आर्थिक रुपमा कमजोर परिवारका कतिपय बालबालिका विद्यालय भर्ना हुन र नियमित शिक्षा प्राप्तिबाट बञ्चित भैरहेको जानकारी हुन आएकोले गैह्र कानुनी शुल्क संकलन बन्द गर्नुका साथै बालमैत्री घोषणा उन्मुख भेरी नगरपालिकामा आर्थिक रुपमा कमजोर परिवारका बालबालिका विद्यालय शिक्षा बाट बञ्चित हुन नदिन उपयूक्त र ठोस कदम दिन सादर अनुरोध गर्दछौं ध्यानाकर्षण पत्रमा भनिएको छ ।
















































। ७ भाद्र २०७९, मंगलवार