पश्चिम सुर्खेतको घाटगाउँ–कुल्लीमारी सडक कालोपत्रे हुँदै

No description available.
धिरेन थापा
सुर्खेत । पश्चिम सुर्खेतको घाटगाउँ–कुल्लमारी सडक कालोपत्रे हुने भएको छ । ट्र्याक खोलिएको झण्डै तीन वर्षपछि नै सडक कालोपत्रेको काम अघि बढेको हो । मंगलबार प्रदेश सरकारका अर्थ मन्त्री विन्दमान विष्टले सडक कालोपत्रेको शिलान्यास गरेका छन् ।

लामो समयदेखि टेण्डर भए पनि ०७५÷०७६ मै सडकको ट्याक खोलिएको थियो । झण्डै १४ किलोमिटर उक्त सडक चौकुने गाउँपालिका–०९ को घाटगाउँ स्थित भेरी नदीको पुलबाट सुरु भएर गुटु बजार, साल्मा कोरालबास हुँदै कुल्लीमारी सुदूरपश्चिमका अछामको कोल्लीमरा र कैलालीलाई जोड्ने छ । संघ र प्रदेश सरकारको संयुक्त लगानीमा कालोपत्रे गर्न लागिएको उक्त सडकको कुल लागत ६३ करोड ५ लाख १४ हजार ५१३.४० रुपैयाँ रहेको छ ।

यद्यपि श्रेष्ठ कन्स्ट्रक्सन प्रालि काठमाडौंले ३९ प्रतिशत घटेर ३८ करोड ५६ लाख ३९ हजार ५३५.७० रुपैयाँमा ०८१ असार २४ गते सम्पन्न गरिसक्ने गरी जिम्मा लिएको छ । सडक कालोपत्रेको जिम्मा उक्त कम्पनीले गत असार ८ गतेदेखि पाएको हो ।

सडकमा अहिलेसम्म ३ करोड ४२ लाख बराबरको बजेट खर्च भइसकेको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले बताए । उनका अनुसार सडकको चौडाइ १० मिटर र कालोपत्रे सडकको चौडाइ ७ मिटर रहेको छ । सडकमा गाडी ओहोरदोहोर गर्न पाउने गरी स्तरोन्नति र कालोपत्रे हुने भएपछि स्थानीयवासी खुसी छन् ।

प्रदेश सरकारका अर्थमन्त्री विष्टले सकेसम्म यही आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले भने,‘ठेकेदार कम्पनीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्दा एकातिर रकम खेर गइरहेको छ, भने अर्कोतिर नागरिकले विकास र परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।

ठेकेदार कम्पनीले काम गर्दैनन्, तर दोष सरकार र सम्बन्धित क्षेत्रका नेतालाई लाग्ने गर्दछ ।’ मन्त्री विष्टले चौकुनेबासीको लागि सुखको सडक भएको बताए । ‘यदि यो सडक निर्माण सम्पन्न भयो भने यहाँको आर्थिक र व्यापारिक क्षेत्र पनि फराकिलो हुने छ,’उनले भने,‘ गुटुभन्दा अघि वेतन कर्णाली हाइड्रो पावरले काम गर्ने छ ।’

साथै उनले पश्चिम क्षेत्रका सबै सडकहरूको स्तरोन्नति र कालोपत्रेको लागि टेण्डर आह्वान भइसकेकाले आगामी पाँच वर्षभित्र सडक पूर्वाधारका विकास सम्पन्न भइसक्ने बताए । पश्चिम क्षेत्रकै सबैभन्दा विकट मानिने तरङ्गामा सडकको विकासका लागि हुड्के–तरङ्गा सडक खण्डमा १ अर्ब बजेट विनियोजन भएको बताए ।

कार्यक्रममा  प्रदेश उप सभामुख पुष्पा घर्ती,  चौकुने गाउँपालिका अध्यक्ष गंगाराम विक, वडाध्यक्ष कमल जिसी, धनिराम धमला, पूर्वाधार विकास निर्देशनालयका ईन्जिनियर सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया