भेरी ज्ञानोदय क्याम्पसमा उपदानका नाममा ढुकुटीकाे एक करोड सक्ने तयारी

उपदानका नाममा क्याम्पसको करोड बढी रकम सक्ने तयारी
खलंगा । जाजरकोट सदरमुकाममा रहेको भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीले उपदानका नाममा क्यापसको ढुकुटीमा रहेको एक करोड नौ लाख रुपैया लिने तयारी गरेका छन् ।

क्याम्पसमा कार्यरत ८ जना उपप्रध्यापक, एक जना शिक्षण सहायक र ६ जना कर्मचारीलाई उपदान दिने प्रक्रिया अघि बढाएपछि जनस्तरमा विरोध सुरु भएको छ ।

यस अघि त्रिभुवन विश्वविद्यालयबाट अस्थायी सम्बन्धन प्राप्त गरेर संचालन भैरहेको यो क्याम्पस केही बर्ष अघि मात्र मध्यपश्चिम विश्वविद्यालयमा गाभिएको थियो । त्रिभुवन विश्वविद्यालय (टियु)बाट मध्यपश्चिम विश्वविद्यालय(एमयु)मा रुपान्तरण भए सँगै क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धा मार्फत प्रक्रिया पुरयाएर स्थायी गरिएको थियो ।

प्राध्यापक कर्मचारीहरु एमयु मा स्थायी भएपनि टियु अन्र्तगत कार्यरत रहँदाको समयको उपदानको माग गरेका छन् । काम गरेको अवधिको उपदान प्राध्यापक कर्मचारीको एक लाख देखि १३ लाख रुपैया सम्मको रकम मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा माग गरिएको क्याम्पस प्रमुख बलराम भण्डारीले बताए ।

मध्यपश्चिम विश्वविद्यालय नियमावली २०६९ अनुसार एमयुमा रुपान्तरण भई स्थायी नियुक्ती पाएका १० ओटा क्याम्पसका शिक्षक, कर्मचारीले रुपान्तरण भई नियुक्ति प्राप्त गर्नुपुर्वको उपदान, निबृत्तिभरण, औषधोपचार खर्च, विदा लगायतका निजहरुले प्राप्त गर्ने सुविधाहरु रुपान्तरण पुर्वको साविककै क्याम्पसबाट फरफारक गर्नु पर्नेछ भन्ने उल्लेख छ ।

भेरी ज्ञानोदय क्याम्पस संचालन विधान दोस्रो संसोधन २०७४ मा उपदान सम्बन्धी ब्यवस्थामा क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले स्थायी रुपमा काम गरि पद त्याग गरेमा त्रिवि नियमावली तथा प्रचलित नियम कानुन र क्याम्पसको आर्थिक स्थिति अनुसार उपदान दिईने छ ।

सोही बुदालाई टेकेर आफुहरुले उक्त उपदानको सुविधा रकम लिने प्रक्रिया अघि बढाएको क्याम्पस प्रमुख भण्डारीको भनाई छ । उपकुलपति, रजिष्टार, डिन र एक जना बरिष्ठ प्रध्यापक सम्मिलित कार्यकारी परिषदले क्याम्पसमा मौज्दात रहेको रकमबाट उपदान लिन स्वीकृति दिएमा रकम झिकेर उपदान लिन मिल्ने प्रावधान रहेको छ । स्वीकृतिका लागि विश्वविद्यालयमा आवश्यक कागजात पठाएका छौ स्वीकृति भएमा हामीले पाउने सुविधा लिन्छौ क्याम्पस प्रमुख भण्डारीले भने–‘हामी जस्तै अवस्थाका बबई बहुमुखी क्याम्पस बर्दियाका साथीहरुले चार करोड रकम लिईसकेका छन् । यो प्रक्रिया यस अघिका क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाको पालामै अघि बढेको हो । हामी नियमले दिएको सुविधा लिन लागेका मात्र हौ ।’

क्याम्पसले टियु सँग सम्बन्धन हुँदा नै कृषि विकास बैक नेपालगञ्जमा ५० लाखको मुद्धती खाता खोलेको थियो । त्यसको म्याद हालै सकिएको छ । मुद्धतीको खाता पुनः नविकरण नगरे रकम झिक्न सकिन्छ । यही मौका छोपी उक्त रकम निकाल्न खोजिएको छ । उक्त रकमको ब्याज १५ लाख भएको छ । त्यस्तै क्याम्पसको नेपाल बैक लिमिटेड जाजरकोटमा साढे आठ लाख मुद्धती र ३५ लाख चल्ती खातामा बचत मौज्दात छ ।

प्राध्यापकहरुका नाममा ११ लाख पेश्की छ । यो सवै रकम जोड्दा एयुमा मर्ज भैसकेपछि बाहेकको रकम जम्मा एक करोड १९ लाख ५० हजार रुपैया हुन आउँछ । त्यो सवै रकम उपदानका नाममा सक्ने तयारीमा क्याम्पस प्रशासन रहेको तर यसरी क्याम्पसको सम्पति उपदानका नाममा रित्याउन नहुने नागरिक अगुवा राजेन्द्रविक्रम शाह बताउँछन् । कुनैपनि स्थायी कर्मचारीले पेन्सन सुविधा नपाउँदै नोकरी छोडेमा उपदान दिने ब्यवस्था छ तर उनीहरु त टियुमा कार्यरत भएकै कारण प्रक्रिया पुरयाएर एमयु अन्र्तगत स्थायी हुने अवसर प्राप्त गरिसकेका छन् त्यसका उपदान लिन र दिन मिल्दैन शाहले भने ‘क्याम्पसमा जाजरकोटी जनताको लगानी छ, रगत र पसिना बगेको छ कसैले पनि लुटन पाईदैन ।’

अर्का नागरिक अगुवा केशव जंग शाहले पनि क्याम्पसलाई टाट पल्टाउने गरि उपदान लिन नमिल्ने बताए । पुरस्कार स्वरुप स्थायी भैसकेपछि पनि उपदान भनेर लिन मिल्छ । लिने भए एमयु र टियुबाट लिए भैगो नि किन गरीव जनताका छोराछोरीले दुःख गरेर तिरेको बचाएको रकमबाट खातै रित्याएर लिने ? उनले प्रतिप्रश्न गदै भने ।

विद्यार्थी र स्थानिय वासिन्दाले पनि उपदानको नाममा क्याम्पसको ढुकुटी रकम मास्न नहुने भन्दै विरोध गरेका छन् । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उपदान सम्बन्धी आवश्यक प्रक्रिया र कागजात अध्ययन गरेर मात्र यसबारे आवश्यक धारणा सार्वजनिक गर्ने बताए । #प्रवाह डटकम#

तपाईको प्रतिक्रिया