भेरी ज्ञानोदय क्याम्पसका प्रमुखलाई विद्यार्थीले बुझाए ज्ञापनपत्र, समस्या समाधान गर्न माग


जाजरकोट । सदरमुकाम स्थित भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटमा विद्यार्थीहरुले विभिन्न माग सहित ज्ञापन पत्र बुझाएका छन् । एम. एडका विद्यार्थीको शुल्क मध्यपश्चिम विश्वविद्यालयको नियमानुसार लिई पहिलेको शुल्क फिर्ता गर्नुपर्ने, विद्यार्थीको पठनपाठन नियमित रुपमा हुनु पर्ने र शिक्षकको ब्यवस्था गरिनुपर्ने, पुस्तकालयमा पाठय्क्रम अनुसारका पुस्तक हुनुपर्ने, छात्रावास र छात्रवृत्तिको तत्काल ब्यवस्था हुनुपर्ने, भर्नाका नाममा लिएको विलम्ब शुल्क फिर्ता गर्नुपर्ने, अक्षयकोष र मुद्धती खातामा रहेको रकम उपदानका नाममा खर्च गर्न नहुने, विद्यार्थीहरुलाई अनुसन्धानमुलक तालिम तथा विभिन्न कार्यक्रम गरिनुपर्ने र क्याम्पसको भवनमा झयाल ढोकाको ब्यवस्था गरिनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।

क्याम्पस प्रमुख बलराम भण्डारीलाई विद्यार्थीको तर्फबाट संयोजक प्रकाश सिंहले मागपत्र सोमवार बुझाएका हुन् । मंगलवार दिउँसो १ बजे सम्मको अल्टिमेटम दिएका छन् । मंगलवार सम्म आफ्ना माग पुरा नभए थप चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाईने संयोजक सिंहले बताए । क्याम्पस प्रमुख भण्डारीले विद्यार्थीका जायज माग तत्काल पुरा हुने र केही मागहरुको विषयमा छलफलबाट समस्याको समाधान गरिने बताए ।

तपाईको प्रतिक्रिया