शैक्षिकसत्रको तीन हप्ता: जाजरकोटमा अझै पुगेनन् विद्यार्थीको हातमा पुस्तक


जाजरकोट । यसवर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रम अनुसारका सबै पुस्तक पुग्न सकेको छैन ।

विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाई एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर सबै पुस्तक अभाव भएको हो ।

शैक्षिक सत्र सुरु भएको धेरै समय हुँदा पनि जाजरकोटमा पर्याप्त मात्रामा पाठ्यपुस्तक नपुगेको शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोटका प्रमुख रमेश बहादुर मल्लले जानकारी दिए । जनक शिक्षाले समयमै छपाइ तथा वितरण गर्न नसक्दा ‘जिल्लामा आवश्यक पुस्तक समयमा आउन सकेन र सात वटै पालिकामा फाट्फुट्ट पुस्तक आएपनि चाहिने जति र सबै विषयको नआएकाले पठनपाठनमा समस्या सिर्जना भएको छ,’ मल्लले भने ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै सबै पुस्तक छपाइ भ्याएर प्रत्येक जिल्लामा आउनुपर्ने भएपनि समयमा पूरा नगर्दा त्यसको असर प्रत्यक्ष रुपमा बालबालिकाको भविष्यमाथि परेको उनले बताए ।

“सबै विद्यार्थी एउटै श्रेणीका हुँदैनन् । केहीलाई पुस्तकबिना बुझाउनै मुस्किल छ । तर, पुस्तक अभावले बालबालिकाको शिक्षण सिकाइमा असर परेको छ,” उनले भने, ‘तेस्रो हप्ता बढी भैसक्दा फाट्फुट्ट पुस्तक जिल्लामा आइपुगेको छ । पूरै आउन अझै समय लाग्ने अवस्था देखिएको छ ।’

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।

तपाईको प्रतिक्रिया