जाजरकोट — जिल्ला अस्पतालले एक बिरामीलाई उपचार नगरी फिर्ता गरेको छ । भेरी नगरपालिका–६, गंगटीयाकी ३४ वर्षीया नन्दकला गाइनलाई उपचारका लागि आइतबार बेलुकी अस्पतालमा पुर्याइएको थियो । तर, चिकित्सक र स्वास्थ्यकर्मीले भर्ना गर्न मानेनन् ।
गाइन दुई सातादेखि शरीर सुन्निने रोगबाट पीडित थिइन् । श्रीमान् झुपबहादुरले पूरै शरीर सुन्निएकी उनलाई अस्पताल पुर्याएका थिए । आकस्मिक कक्षमा भर्ना गरेर उपचार गर्नुको साटो ‘भोलि आउनु’ भनेर फर्काइएको उनको गुनासो छ । पुरै शरीर सुन्निएकी गाइन हिँडडुल गर्न सक्दिनन् ।
अस्पतालका स्वास्थ्यकर्मीले बिरामी फर्काएर गलत गरेको अस्पताल विकास समितिकी अध्यक्ष धर्मशीला बस्नेतले बताइन् । ‘बिरामी फिर्ता गर्ने कर्मचारीलाई तत्काल कारबाहीको प्रक्रिया अघि बढाइनेछ,’ उनले भनिन्, ‘फिर्ता गरिएकी बिरामीलाई अस्पतालमा बोलाइएको छ ।’
५० शैयाकाे अस्पतालमा विशेषज्ञ डाक्टरलगायत स्वास्थ्यकर्मी, उपकरण र ब्लड बैंक नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । अध्यक्ष बस्नेतका अनुसार अस्पतालमा विशेषज्ञ डाक्टरसहित ४२ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा उपचारमा समस्या छ । सातजना विशेषज्ञसहित ६५ स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था भए पनि अस्पताल करार र प्रशिक्षार्थी स्वास्थ्यकर्मीका भरमा सञ्चालन हुँदै आएको छ । अस्पताल चार वर्षअघि १५ बाट ५० शय्यामा स्तरोन्नति भएको थियो । कान्तिपुर बाट
















































। २३ फाल्गुन २०७६, शुक्रबार