गाउँमा घरघरै धारा

पलाँता, रास्कोट, नरहरिनाथ र तिला गुफाका १२ सय घरमा खानेपानीको पहुँच

(कालीकोट) — घण्टौं हिँडेर पानी ल्याउनुपर्ने कालीकोटका विकट बस्तीमा घरघरमा धारा बन्न थालेका छन् । खानेपानीको बढी समस्या भएका बस्तीमा दर्जनौं योजना सञ्चालन भए पनि दिगो हुन नसकेपछि स्थानीय तहले नयाँ रणनीति अपनाएका हुन् ।

गाउँ/नगरपालिकाले घरघरमा मिटरसहितका धारा वितरण गर्न थालेपछि योजना दिगो बन्ने अपेक्षा छ । पलाँता, रास्कोट, नरहरिनाथ र तिला गुफाका करिब २ हजार घरमा अहिले धारा जडान गरिसकिएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका सूचना अधिकारी देवानन्द धितालले स्थानीय तहमा घरघरमा धारा बनाउने लहर चलेको बताए । उनका अनुसार स्थानीय सरकार गठन भएलगत्तै सबै पालिकाले खानेपानी र सरसफाइलाई प्राथमिकता दिँदै आएका हुन् ।

‘वर्षौंदेखि सास्ती भोग्दै आएका स्थानीय बासिन्दाले अहिले घरघरमा स्वच्छ खानेपानी पाएका छन्,’ उनले भने, ‘खडेरीग्रस्त क्षेत्रमा खानेपानी पुगेपछि जनजीवन सहज बनेको छ ।’ कार्यालयका अनुसार यस वर्ष प्रदेशका आठ र संघीय सरकारका ५६ वटा बहुवर्षे योजना सञ्चालनमा छन् ।

३ वर्षभित्र सबै घरमा धारा
सुक्खाग्रस्त पलाँता गाउँपालिकाले पहिलो गाउँ सभाबाट तीन वर्षभित्र घरघरमा खानेपानी धारा पुर्‍याउने गरी महत्त्वाकांक्षी योजना बनाएको थियो । प्रदेश सरकारबाट गत वर्ष १० करोड रुपैयाँ बजेट पाएपछि गाउँपालिकाले सबै वडामा खानेपानी पुर्‍याउन सर्भे डिजाइन र मूल ट्यांकी निर्माणको काम सकेको छ ।

गाउँपालिकाका ८ र ९ नम्बर वडाका बाडदेव, कालचिउरी, सुनावाडा, बालुवा, दलितटोल, बेर्सनकोटलगायत बस्तीका करिव चार सय घरमा धारा जडान भइसकेको छ । गत वर्ष थिर्पुका २ सय ७ घर र यस वर्ष ८ नम्बर वडाका १ सय ९५ घरमा मिटरसहितका धारा जडान गरिएको गाउँपालिकाले जनाएको छ । यसको लागि पालिकाको करिव ८० लाख रुपैयाँ खर्च भएको थियो भने स्थानीय बासिन्दाले पाइपलाइन खन्न र निर्माण सामग्री जुटाउन श्रमदान गरेका थिए ।

सरस्वती मावि थिर्पु र दुधेशिल्लो माविमा बालबालिका, अपांग र महिलालाई सजिलो हुने गरी शौचालय बनाइएको छ । ‘पलाँताका दुईवटा माविका शौचालय जिल्लाकै नमुना हुन्,’ पलाँता गाउँपालिकाका शिक्षा शाखा प्रमुख रणप्रसाद भट्टले भने, ‘अरू ठाउँमा पनि यस्तै शोचालय बनाउन सके महिनावारी भएका छात्रालाई नियमित रपमा विद्यालय आउन सजिलो हुने थियो ।’ उनका अनुसार विद्यालयमा छात्राका लागि उपयुक्त शौचालय बनेपछि कक्षा ८ देखि माथिका छात्रा नियमितरुपमा स्कूल आएका छन् । विद्यालयमा उपयुक्त शौचालय बनेपछि महिनावारीको समयमा पनि विद्यालय जाने गरेको सरस्वति माविकी छात्रा कलशा बमले बताइन् ।

थिर्पुमा घरघरमा धारा भएपछि स्थानीय महिला खुसी छन् । ‘पहिले खोलाको पानी खानुपर्थ्यो, अचेल घरमै धारा छ,’ पलाँता–९, कालचिउरीकी ४५ वर्षीया मैनादेवी बमले भनिन्, ‘पानी बोक्न खर्च हुने समय अन्य काममा लगाएका छौं ।’ उनका अनुसार कुलोको पानी खाँदा ०६३ मा फैलिएको झाडापखालाबाट गाउँमा ११ जनाको मृत्यु भएको थियो । उनले पानी लिन जाने समयको बचत भएको जानकारी दिइन् ।

खानेपानीको चर्को समस्या रहेको बोक्चुगाउँकी आम्पुरा रोकायाले पानीको नाउला (कूवा)मै बास बसेर पानी थाप्नुपर्ने समस्या हटेको बताइन् । ‘खानेपानी भर्नकै लागि रातभरि ओढ्ने–ओछ्याउने कपडा लिएर धारामै सुत्थ्यौं,’ उनले भनिन्, ‘अब घरमै सुत्न पाइने भयो ।’ पलाँता–१ को पुलाहागाउँमा पनि फनबोर्डको सहयोगमा ३ वर्षअघि गाउँमा खानेपानी पुर्‍याइएको छ । स्थानीय धीरबहादुर भण्डारीका अनुसार पुहालालाई पूर्ण सरसफाइयुक्त गाउँ पनि घोषणा गरिएको छ । ‘पानी पुगेपछि चर्पी प्रयोगमा आउन थालेका छन्,’ उनले भने, ‘पानीको अभावले गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउन सहयोग पुगेको छ ।’ पलाँता गाउँपालिकाका सबै घरमा आगामी तीन वर्षभित्र खानेपानीका धारा पुर्‍याउने गरी काम भइरहेको अध्यक्ष लक्ष्मणवहादुर बमले बताए ।

धारा पुर्‍याउन २० करोड
फुकोट, स्युना र सिप्खाना मिलेर बनेको रास्कोट नगरपालिकाले पनि घरघरमा धारा अभियान थालेको छ । नगरका सबै वडामा घरघरमा धारा पुर्‍याउन २० करोड रुपैयाँको डिजाइन स्टिमेट तयार बजेट जुटाउन पहल भइरहेको छ ।

वडा नं. ३ र ६ का चार सय घरमा धारा जडान भइसकेको नगरप्रमुख काशीचन्द्र बरालले बताए । नगरपालिकाले सिप्टीमा जलाशय बनाएर खानेपानी, विद्युत् र सिँचाइ हुने गरी बहुउद्देश्यीय परियोजना सञ्चालन गर्न लागेको उनले जानकारी दिए । त्यस्तै, खाँडाचक्र नगरपालिकाको वडा नं १ मा पर्ने मान्मबजार र वडा नं ७ को पिलीमा पनि घरघरमा धारा जडान भएर उपभोक्ताले स्वच्छ पानी खाइरहेका छन् । खाँडाचक्रले यस वर्ष सुत्केरी भएको एक हजार दिनसम्मका र विपन्न एक हजार एक सय आमालाई सुरक्षित खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरेको जनाएको छ ।

तिला गुफा नगरपालिकाको राँचुली र चिल्खायाँमा पनि घरघरमा धारा पुगेको नगरप्रमुख रतनबहादुर शाहीले बताए । उनले नगरका अन्य वडामा पनि घरघरमा धारा पुर्‍याउन काम भइरहेको जानकारी दिए । नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ गोठीमा यसअघि नै घरघरमा धारा जडान भइसकेको छ । माडेगाउँसहितका बस्तीमा धारा जडानको काम भइरहेको छ । यस वर्षमात्र ५ करोड रुपैयाँका खानेपानी आयोजना सुरु भएका गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टको भनाइ छ ।

२ हजार घरधुरी चर्पीविहीन
कालीकोटलाई ०७० जेठमा कर्णालीको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तर, यहाँका करिब दुई हजार घरमा चर्पी छैनन् ।

विभिन्न पालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार बनाएका अस्थायी चर्पी भत्किएका र सेप्टिक ट्यांकी भरिएकाले ती घरका मानिसले खुला ठाउँमा दिसा गर्ने गरेका छन् । पलाँता गाउँपालिकाका २ हजार १ सय ७१ घरमध्ये ४ सय ७१ घरमा चर्पी छैन । सरसफाइ अभियानकर्ता विक्रम शाहीेले चिल्खायाँका अधिकांश चर्पी भत्किएको जानकारी दिए । उनका अनुसार बैशाख १ गतेसम्म सबै घरमा चर्पी बनाइसक्ने बचन सबै वडाध्यक्षले दिएका छन् । कान्तिपुर बाट साभार गरिएकाे

तपाईको प्रतिक्रिया