जाजरकोट एमाले प्रति वितृष्णा : अधिवेशनमा पराजित नेतालाई पार्टी छोड्न आफन्तको दवाब


जाजरकोट । नेकपा एमालेको अधिवेशनमा पराजित नेताहरुलाई पार्टी छोड्न उनीहरुका आफन्तहरुले नै दवाब दिन थालेका छन् । एमाले भित्र चरम गुट र व्यक्तिवाद लागु भएको भन्दै अपमानित भएर सो पार्टीमा बस्न नसकिने उनिहरुको तर्क छ ।

एमाले भित्र पार्टी प्रतिको लगानी र क्षमताको आधारमा नभई केपी ओली र ओलीको विश्वास पात्रको पुजा गर्ने मान्छेले मात्र जिम्मेवारी पाउने संस्कार स्थापित भएकोेले इमान्दार नेता कार्यकर्ताहरुको एमालेमा ठाउँ नरहेको अधिकांशको बुझाई छ ।

राष्ट्रिय महाधिवेशन देखि जिल्ला अधिवेशन सम्म आईपुग्दा एमाले जाजरकोटका कतिपय इमान्दार कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् भने कतिपय नेताहरुका आफन्तहरुले आक्रोश व्यक्त गरेका छन् । हिजोको गुटको आधारमा नेतृत्वले आफुहरुलाई सिध्याउन खोजेको भन्दै पार्टी विभाजनका बेला एमाले मै बसेको तत्कालिन माधव नेपाल समुहका नेताहरुले एमालेमा बस्न सक्ने अवस्था नरहेको बताएका हुन ।

जिल्ला अधिवेशनमा सचिव पदमा पराजित नर बहादुर खत्रीको श्रीमती कल्पना शाही खत्रीले आफ्नो सामाजिक संजाल फेसबूकमा स्टाटस लेख्दै एमाले प्रतिको मोह अझै किन भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

अन्य कुनै पेशा नगरी सानो उमेर देखि नै एमालेको राजनीतिमा लागेका खत्रीलाई गुटको आधारमा चुनाव हराइदिएपछि श्रीमतीले उक्त आक्रोश व्यक्त गरेकी हुन् । विवाह गरेको २ दिन मै पार्टीको कामका लागि हप्तौदिन सम्म हराएको, श्रीमान पार्टी कामका लागि प्रायजसो बाहिर जाने गरेकोले घरको सबै काम आफुले एक्लै भ्याउनु परेको कुरा स्मरण कल्पनाले ३० वर्ष निस्वार्थ रुपमा पार्टी काम गरेका आफुहरुलाई एमालेले कहिल्यै न्याय नगरेको बताइन् ।

पुरा जीवन राजनीतिमा विताएमा इमान्दार कार्यकर्तालाई पाखा लगाएर अघिल्लो दिन सम्म जागिर गरेका व्यक्तिलाई नै पदमा पुर्याउने पार्टी एमालेमा अव कुनै हालतमा बस्न नसकिने भन्दै कल्पनाले फेसबूकमा लेखेकी छन् ।

यस्तो छ स्टाटस
‘एमाले पार्टी भित्र तपाईको मोह अझ किन ?
म तपाईं संघ घरमा आएको २० वर्ष पूरा हुदैछ । घरमा आएको २ दुई दिन पछि नै पार्टी काम भनेर हिड्नु भयो। म चुपचाप बसे खै कति दिन हराउनु भयो । त्यस पछिका बितेका वर्षहरु निरन्तर तेसै गरि बितिरहे वर्षको ३६५ दिन मध्य झण्डै ५०% दिनहरु हाम्रा सुख दुख साटेर संगै बसेर बितेनन् । कति अभाव र दुख पिडामा जिउनु पर्याे ।

गाउँ बस्ती घुमेर आउँदा लुगाहरुमा जुम्राका डल्ला भेटिन्थे तातो पानीमा ढुभाउनु पथ्र्याे, त्यो कुरा मलाई मात्र थाहा होला । तर पनि तपाईंको इच्छा र चाहानलाई बलत्कृत गर्न चाहिन । म आउदा आई ए पढिसक्नु भएको थियो । जागिर खोज भनिन, लोकसेवा तयारी गर र देउ पनि भनिन । किन कि जनसेवा महान हो र सेवाको एक न एक दिन परिणाम मिल्ने छ । अहिले दुनियाले देख्यो । तपाईंका ३०शौ जुताका तला च्यातेको के काम कति चिसा रात काट्नु भयो । कस्तो खाना खानुभयो ।

भोग र तिर्खा यी सबै कुराको सांची तपाईंका समकक्षी नेताले आज बुझेको खई गोर अन्याय ? यस्तो अन्याय सहेर बस्न सकिन्न, पार्टी अधिवेशन हुँदा झापट भोलि निर्वाचन आउला अर्को झापट अब गाला थापि रहने होइन । राजनिती गरे पनि बिकल्प छन ।

पार्टी सदस्य भएर काम गर्छु भने होइन । घर आउनु होस अब म मान्दिन, मेरो भनेको मान्नु पर्छ । पेसा ब्यबसाहे गरेर दुई दिन राजनीतिमा ल्याएर तपाईं जस्तो निस्वार्थ राजनीति गर्नेलाई पाखा लगाउने नेता र पार्टीको के को माया ? अब नया ढंगले सोच्ने समय आएको छ ।’

एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनमा पराजित नरबहादुर खत्री जिल्लाका बैचारिक नेताका रुपमा परिचित छन् । एमाले भित्र रहँदा लामो समय नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष कृष्ण विसीको विश्वास पात्रका रुपमा रहेका खत्री पार्टी विभाजनमा एमाले मै रहेका थिए ।

निर्वाचनमा पार्टी विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा नगई एमाले मै बसेको तत्कालिन माधव नेपाल समुहले नेतृत्व गरेको पुरै प्यानल पत्तासाफ भएको छ । एमालेमा असन्तुष्ट अधिकांश एमाले नेता कार्यकर्ताहरुले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने तयारी गरिरहेको बुझिन्छ ।

तपाईको प्रतिक्रिया