माओवादी केन्द्रले प्रदेश पदाधिकारीको सङ्ख्या थप्यो


नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको सङ्ख्या थप गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यसअघि सात जना रहने भनिएको पदाधिकारीको सङ्ख्या बढाएर ९ पु¥याएको हो ।

प्रदेश पदाधिकारीमा अध्यक्ष– १, उपाध्यक्ष– ३, सचिव– १, सहसचिव– ३ र कोषाध्यक्ष– १ जना रहने बैठकबाट निर्णय भएको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले बताउनुभयो । उहाँले प्रदेश समितिमा रहने सदस्यको सङ्ख्या पनि थप गरिएको जानकारी दिनुभयो । जसमा न्यूनतम आधार सङ्ख्या १ सय ७५ मानिएको छ ।

जसमा प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रलाई आधार मानेर सङ्ख्या निर्धारण गरिने प्रवक्ता महराले बताउनुभयो । प्रदेश १ मा १ सय ७५ र ८४ गरी २ सय ५९, प्रदेश २ मा १ सय ७५ र ९६ गरी २ सय ७१, बागमति प्रदेशमा १ सय ७५ र ९९ गरी २ सय ७४ हुने भए पनि बिजोर अङ्क राख्न २ सय ७५ कायम गरिएको छ ।

गण्डकी प्रदेशमा १ सय ७५ र ५४ गरी २ सय २९, लुम्बिनी प्रदेशमा १ सय ७५ र ७८ गरी २ सय ५३, कर्णाली प्रदेशमा १ सय ७५ र ३६ गरी २ सय ११, सुदूरपश्चिम प्रदेशमा १ सय ७५ र ४८ गरी २ सय २३ जना सदस्य रहनेछन् ।

तपाईको प्रतिक्रिया