एमबीबीएस पढ्न जुम्ला पुग्न थाले विद्यार्थी

जुम्लामा औषधि विज्ञान पठनपाठन गर्न अनुमति
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि विद्यार्थीहरू जुम्ला पुग्ने क्रम सुरु भएको छ । प्रतिष्ठानमा एमबीबीएस पढाई सुरु हुने भएपछि देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू जुम्ला पुग्न थालेका छन् । जनकपुरका आनन्द उपाध्याय प्रतिष्ठानमा एमबीबीएस पढ्ने पहिलो ब्याचका विद्यार्थीका रूपमा भर्ना हुनु भएको छ ।

कर्णालीमा आएर पढ्ने मौका पाएकोमा आफू निकै खुशी हुनुहुन्छ । यस्तै काठमाडौंका प्रतीक्षा शर्माले प्रतिष्ठानमा अध्ययन गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो । प्रतिष्ठानमा जुम्लासहित देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरूले अब चिकित्सा शास्त्रमा अध्ययन गर्ने भएका छन् ।

आउने आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएस पढाइको उद्घाटन गर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले एमबीबीएस अध्ययनका लागि २० जनाको कोटा तोकेको छ । त्यस्तै बी फार्ममा ११, बीएमएसतर्फ ८, बीएनएसमा १६ र बीपीएसमा ८ जना विद्यार्थी भर्ना भएका छन् । स्नातक तहमा अध्ययन गर्न जुम्ला पुगेका विद्यार्थी उत्साहित भएको बेसिक साइन्सका प्रमुख प्राध्यापक दिनेश बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीका लागि आवश्यक सम्पूर्ण आधारभूत व्यवस्थापन भइसकेको छ ।

तपाईको प्रतिक्रिया