नेपाल बन्द सकिएपछि विप्लवकाे धारणा ( विज्ञप्ती सहित)


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पेट्रोलियम, खाद्य पदार्थलगायत अत्यावश्यक उपभोग्य सामग्रीमा सरकारले अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा नेकपाले आज मङ्गलबारका लागि आह्वान गरेको नेपाल बन्द ऐतिहासिक रूपले सफल भएको बताएका छन् । उनले मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी रहने भएकाले साथ दिइरहन जनसमुदायलाई आह्वान पनि गरेका छन् ।

बन्द सफल भएपछि मङ्गलबार साँझ धन्यवाद वक्तव्य जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित महँगी र मूल्यवृद्धिविरुद्ध आजको नेपाल बन्द आमजनताको सहयोग, समर्थन र सहभागितामा अभूतपूर्व रूपले सफल भएको छ । उक्त बन्द सफल बनाउन सहयोग गर्ने सबै जनसमुदायलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।’

‘बन्दका क्रममा राज्यले पार्टी केन्द्रीय सदस्य कमरेड क. सन्देश, क. आधारलगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तार गरेको छ । हाम्रो पार्टी उक्त दमनको घोर भत्र्सना गर्दछ । साथै गिरफ्तार नेता–कार्यकर्ताहरूलाइ बिनासर्त रिहा गर्न माग गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

नेकपाले मूल्यवृद्धि र महँगी जनताको हितविपरीत भएका कारण मूल्यवृद्धि खारेज नभएसम्म यो सङ्घर्ष निरन्तर अगाडि बढ्ने जानकारी दिँदै सङ्घर्षमा आमजनतालाई निरन्तर सहभागी बन्न अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया