क्युवाली क्रान्ति र कम्युनिष्ट पार्टी


क्युवाली क्रान्ति र कम्युनिष्ट पार्टीको गठन तथा समाजवादी संरचनाको निर्माण उपरोक्त क्रान्तिहरू भन्दा भिन्न परिवेशमा सम्पन्न गरिएको अर्को परिघटना हो। जहाँ कम्युनिष्टहरूले कम्युनिष्टको नामबाट होइन, प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको ‘२६ जुलाई आन्दोलन’को नामबाट छापामार युद्धको माध्यमबाट देशलाई स्वतन्त्र गरी समाजवादी सत्ता स्थापित गरे। जसरी क्युवेली जनताको स्वतन्त्रता संग्राम पुर्तगाली साम्राज्यवादीहरू विरुद्ध लामो र कठिन यात्रा पार गरेर सम्पन्न गरिएको छ, त्यसैगरि क्युवाली समाजवादी क्रान्तिको पनि आफ्नो विशिष्टता छ। स्पेनी साम्राज्यवादबाट मुक्तिका लागि क्युवाली जनताले आफ्नो अन्तिम स्वतन्त्रता संग्राममा सन् १८९५ देखी १८९८ सम्म लडे। यस अन्तिम स्वतन्त्रता संग्राममा क्युवाले स्पेनी साम्राज्यवादबाट मुक्ति त पायो, तर त्यसभन्दा पनि बलियो अमेरिकी साम्राज्यवादको नवउपनिवेशवादी बन्धनमा जकडियो। जसबाट मुक्तिका लागि क्युवाली जनताले सन् १९०२ देखी १९५८ सम्म बलिदान पूर्ण कठिन बाटो पार गर्नु पर्‍यो।

स्पेनी उपनिवेशबाट स्वतन्त्र भएका ल्याटिन अमेरिकी देशहरू मध्ये क्युवा अन्तिम देश थियो। उन्नाइसौं शताब्दीको पूर्वार्द्धमा लेटिन अमेरिकाका स्पेन भाषी मुलुकहरूले स्वतन्त्रता प्राप्त गरिसकेको भए पनि क्युवा अझै दास प्रथासहितको स्पेनी उपनिवेश नै थियो। अमेरिकाका दक्षिण प्रान्तहरूमा दास प्रथा अझै कायम नै रहेको हुँदा क्युवाली दास मालिकहरू दास प्रथा जीवित राख्न अमेरिकी हस्तक्षेप चाहन्थे। तर, लिंकनले दास प्रथा समाप्त गरेपछि अवस्था फेरियो। सन् १८६८ मा क्युवाको दक्षिणी क्षेत्रमा जहाँ दासभन्दा स्वतन्त्र किसानको बाहुल्यता थियो, क्युवाका धनीमानी घरानाका देश भक्तहरूको नेतृत्वमा पहिलो स्वतन्त्रता संग्राम भयो। जसमा किसान, कास्तकार, दास, विद्यार्थी तथा देशभक्त उच्च तथा मध्यम वर्गले भाग लिए। युद्ध दश वर्षसम्म चल्यो। तर, निर्ममता पूर्वक दबाइयो। सन् १८९५ मा मार्क्सका अनुयायी पार्टीको नेतृत्वमा पुनः जनताले हतियार उठाए र क्रान्तिको सञ्चालन गर्न राजनैतिक पार्टी गठन गरियो। क्युवाली क्रान्तिको लागि यो सबभन्दा ठूलो ऐतिहासिक घटना थियो।

सन् १८९८को अमेरिका-स्पेन युद्धमा स्पेनको पराजयपछि क्युवामाथि अमेरिकी आधिपत्य स्थापित हुन पुग्यो। क्युवामा सैन्य अखाडा राख्ने र क्युवाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाउने संविधान अन्तरगत सत्ता चलाउनु पर्ने सर्तसहित २० मे सन् १९०२ मा क्युवालाई स्वतन्त्रता दिइयो। यस सम्झौताबाट क्युवालाई व्यवहारतः अमेरिकाको उपनिवेशमा परिणत गरियो। जुन स्वतन्त्रताको लागि क्युवाली जनताले तीन वटा युद्धमा रगत बगाएका थिए, त्यो स्वतन्त्रता प्राप्त गर्न सकिएन। क्युवाली जनताको मुक्ति सेना भंग गरियो र अमेरिका समर्थक दमनकारी नयाँ सेना गठन गरियो। सम्पूर्ण खानी, रेलमार्ग, खेती योग्य जमिन, उखु फार्म, बैंक, आधारभूत उद्योग अमेरिकन एकाधिकारवादीहरूको कब्जामा गए। यस नयाँ दासता विरुद्ध सोझै सशस्त्र विद्रोहको अवस्था थिएन। तर, यस अवस्था विरुद्ध राजनैतिक क्रान्तिको आवश्यकता थियो। यसका लागि अक्टोबर क्रान्तिबाट प्रेरित भएर बालिनो र मेल्लाले सन् १९२५ मा पहिलो कम्युनिष्ट पार्टी गठन गर्ने ऐतिहासिक काम गरे।

अमेरिकी साम्राज्यवाद तथा देशी प्रतिक्रियावादीहरूको खतराका बाबजुद कम्युनिष्ट पार्टीको नेतृत्वमा मजदुर तथा ग्रामीण किसानले आन्दोलन गरी केही उल्लेख्य उपलब्धि पनि हासिल गरे। तर, आन्दोलनहरू निर्दयतापूर्वक दबाइए। मेल्लालाई मेक्सिकोमा मारियो। तैपनि सेनाभित्र उठेको विद्रोहको सहयोगमा अस्थायी क्रान्तिकारी सरकार गठन गरी क्रान्तिकारी सोभियतहरू निर्माण गरिए। आन्दोलन अगाडि बढिरहेकै वेला अमेरिकाले हस्तक्षेप गरी बाटिष्टालाई सत्तामा ल्याएर क्रान्तिलाई निर्ममता पूर्वक दबायो। यसका विरुद्ध इडवार्डो चिबासको नेतृत्वमा नयाँ जनआन्दोलन सुरु भयो। जसले आमजनताको व्यापक तप्कालाई क्रान्तिकारी लाममा समेटी क्रान्तिको आधार सृजना गर्‍यो। चीबासको मृत्युपछि बाटिष्टाले यस उभारलाई समाप्त गर्न निर्ममता पूर्व किसानहरूलाई बेदखल, मजदुरहरूको आत्महत्या र क्रान्तिकारीहरूलाई निष्कासन गर्दै नयाँ आतंक सुरु गर्‍यो। पुरानो कम्युनिष्ट पार्टी तथा नेतृत्व केही गर्न सक्ने अवस्थामा रहेन। कम्युनिष्टहरूको जमात थियो। तर, साधन श्रोत र नेतृत्व विहीन विवशताको अवस्था थियो। सशक्त जनआन्दोलन वा सशस्त्र विद्रोह गर्नु सक्ने अवस्थामा थिएन।

जीवन र इतिहासले के देखाउँछ भने जति सुकै कठिन र असामान्य राजनैतिक सामाजिक अवस्था भएपनि जबसम्म राजनैतिक विद्रोहका लागि बस्तुगत अवस्था जीवित रहन्छन्, क्रान्तिकारीहरूले दृढ विश्वासका साथ सचेत प्रयास गरेमा त्यस कठिन अवस्थाबाट निकासको बाटो खोज्न सक्छन्। यही काम क्युवाका विद्रोही युवाहरूको सानो जमातले गर्ने अठोट गरे। त्यस वेला सशक्त जनआन्दोलनको अवस्था थिएन। सशस्त्र क्रान्तिको सुरुवात गर्न हतियारको आवश्यकता थियो। यसका लागि फिडेल कास्ट्रोको नेतृत्वमा केही युवाहरूद्वारा हतियार प्राप्त गर्न दूर इलाकामा रहेको मोनकाडा सैन्य शिविरमाथि आक्रमण गरी हतियार लुट्न २६ जुलाई सन् १९५३ मा पहिलो प्रयास गरियो। तर, सफल हुन सकेन। विद्रोहीहरू मध्ये केही मारिए। फिडेल र राउल सहितका केही साथी भाग्न सफल त भए, तर चाँडै समातिए। उनीहरुलाई १५ वर्षका लागि जेल गरियो। तर, १९५५ मा राजनैतिक दबाबका कारण बाटिष्टा सरकारले राजनैतिक बन्दी मुक्त गर्नु पर्‍यो। फीडल र उनका साथीहरू पनि मुक्त गरिए।

क्रान्तिकारिता र क्रान्तिकारी दुष्साहसिकता परिणामबाट नापिने कुरा हुन्। क्रान्तिका बस्तुगत अवस्था विद्यमान छन्। क्रान्तिकारीले तिनको व्यवस्थित र सही उपयोग गरी क्रान्तिको लागि प्रयोग गर्न सक्यो भने दुष्साहसिकता क्रान्तिकारितामा परिणत हुन्छ भने वस्तुगत अवस्थाको सही मूल्यांकन नगरी प्रदर्शन गरिने क्रान्तिकारिता दुष्साहसिकता र असफल क्रान्तिमा परिणत हुन्छ। जेलबाट मुक्त भएपछि फीडेल र राउल लगायत केही युवा क्रान्तिको तयारीका लागि मेक्सीको पुगे। त्यहाँ निर्वासित क्युवाली नेता कामीलो र महान अर्जेनटीनी क्रान्तिकारी नेता डा. चे ग्वेरासहितको टोली निर्माण गरी २६ जुलाई सन् १९५६मा ८२ जनाको सानो समूह क्रान्ति गर्न क्युवा प्रस्थान गर्‍यो। साधन र शक्ति विहीन ८२ जनाको जत्थाले अमेरिकी साम्राज्यवादको समर्थन र प्रतिक्रियावादी देशी सेनासहितको बाटिष्टाको सत्ता ढाल्ने अभियान दुष्साहसिकता नै थियो। तर, तीन-तीन वटा साहसिक युद्ध लडिसकेको क्युवाली जनताको अनुभव तथा निरंकुश सत्ताको दमन, शोषणबाट सन्तप्त र मुक्तिका लागि तड्पिरहेका मजदुर, किसान, यावत श्रमजीवी जनताको आक्रोशले त्यहाँ क्रान्तिकारी अवस्था विद्यमान थियो। आवश्यकता थियो, यस असन्तोषलाई क्रान्तिकारी धारमा परिणत गर्नु र त्यसलाई सक्षम र सबल नेतृत्व प्रदान गर्नु। वस्तुगत अवस्थाको सटिक मूल्यांकन सहित लिइएको यो कदम दुस्साहस होइन, क्रान्तिको नयाँ आयाम थप्न सफल क्रान्तिकारिता साबित भयो। यसै संगठनले क्युवाली जनताको क्रान्ति सम्पन्न गर्‍यो।

काम सजिलो थिएन। क्रान्तिकारीहरू क्युबामा ओर्लिने बित्तिकै मारमा परे। धेरै मारिए बचेकाहरू माएस्ट्राको पहाडतिर भागे। भनिन्छ बयासी जना मध्ये बाँचेका फिडे, राउल, चे र कामिलो सहित बिस जनाले पहाडमा लुकेर किसान तथा समर्थकहरूको सहयोगमा छापामार सेनाको मुख्य नेतृत्व स्थापित गरी नयाँ समर्थक बनाउँदै हतियार जमा गर्दै पहाडी क्षेत्रमा आफ्नो अभियान सुरु गरे। पहाडी क्षेत्रमा छोटो समयमा नै यसले प्रशस्त शक्ति र समर्थन प्राप्त गर्न सक्यो। छापामारहरूले विदेशी पत्रकारहरूको माध्यमबाट आफ्ना उद्देश्यको व्यापक प्रचार गरे। त्यसै साल छापामारहरू देशको मैदानी भाग कब्जा गर्न तल ओर्लिए। एकपछि अर्को गाउँ, शहर र सेनाका ब्यारेक कब्जा गर्दै अगाडि बढे। जनताले मुक्तिदाताको रूपमा खुलेर स्वागत र समर्थन गरे। यस विजयपछि छापामारहरूले मैदानी भागमा नयाँ आक्रमण गरे। सन्टीयागो सहित एकपछि अर्को शहरमा विजय हासिल गरे। सान्ताक्लारा लगायतका अन्य शहर र सैन्य ब्यारेकहरू क्रान्तिकारीहरूको हातमा परेपछि १ जनवरी सन् १९५९मा बाटिष्टा देश छोडेर भाग्यो। विद्रोही सेनाले सान्ताक्लाराबाट क्युवाको राजधानी हवाना तर्फ मार्च गरे। कुनै रोकटोक विना हवाना कब्जा गरियो। २ जनवरी सन् १९५९ मा चे ग्वेरा र सेनफुएगोको सेना हवानामा प्रवेश गर्‍यो। बाटिष्टाको सेनालाई आत्म समर्पण गराई हवाना कब्जामा लियो। लगत्तै ९ जनवरीमा फिडेलले क्रान्ति सम्पन्न भएको घोषणा गरे।

यद्यपि क्युवाली समाजमा मेल्ला, मार्टिन्ज, बिलीनो जस्ता पहिलो कम्युनिष्ट पार्टीका संस्थापक तथा दश वर्षे युद्धका नायकहरूको ठूलो आदर थियो। उनका समर्थकहरूको कमी थिएन। तर, कम्युनिष्ट पार्टीको नामबाट यो युद्ध लडिएन। त्यस वेलासम्म फिडेल काष्ट्रो र चे ग्वेरा कम्युनिष्टको रूपमा परिचित थिएनन्। त्यसले उनीहरूले यो युद्ध समाजवाद र कम्युनिष्टको नाममा नभई मोनकाडामा गरिएको पहिलो आक्रमणको निरन्तरता दर्साउन ‘२६जुलाई आन्दोलन’को नाममा छापामार सेना संगठित गरेका थिए। पछि काष्ट्रोले कम्युनिष्ट पार्टी गठनको पहिलो महाअधिवेशनमा रिपोर्ट पेस गर्दा यसबारे भनेका छन्- ‘हाम्रो संगठनमा समाजको प्रत्येक तप्का र विचारका, यहाँसम्मकी कम्युनिष्ट विरोधी विचारका राष्ट्रवादीहरू पनि सम्मिलित थिए। त्यस कारण छापामार युद्ध र जनविद्रोहको वेला समाजवादी लक्ष्यको घोषणा जनताले बुझ्न नसक्ने अवस्था हुन सक्ने थियो। अमेरिकी साम्राज्यवाद आफ्नो सैन्यवालसहित हाम्रो देशमा सोझै आक्रमण गर्न सक्ने थियो। त्यस अवस्थामा बाटिष्टाको खुनी निरंकश सत्ताको अन्त गर्न मोनकाडा विद्रोहको कार्यक्रमले सम्पूर्ण जनतालाई एक सूत्रमा बाँध्ने काम गर्‍यो। पछि जब क्रान्तिको विजयसँगै विश्वको शक्ति सन्तुलनले हाम्रो क्रान्तिको संरक्षणका लागि अनुकूल अवस्था सृजना गर्‍यो हामीले आफ्नो समाजवादी लक्ष्यतिर अगाडि बढ्न कुनै संकोच गरेनौं। यस कुरालाई लिएर क्रान्तिपछि धेरैले हामीमाथि धोखाघडी गरेको आरोप पनि लगाए। तर, उनीहरूले यो कुरा बुझ्न सकेनन् कि क्रान्तिपछि पनि यदि हामीले पूँजीवाद र साम्राज्यवादको हित हुने गरी क्रान्तिलाई बीचबाटैमा रोकेको भए शोषण दमनबाट मुक्तिका लागि रगत बगाएका र बलिदान दिएका हजारौं जनताप्रति झन् ठूलो विश्वासघात हुने थियो।’ (पार्टीको प्रथम महाधिवेशनमा काष्ट्राको रिपोर्ट)

रणनीतिको दृश्य स्वरूप जे भएपनि त्यसको सार लक्ष्य सापेक्ष हुनु पर्छ। आफ्नो समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न फिडेलकाष्ट्रोले आफूलाई बाटिष्टाको निरंकुश सैन्यतन्त्र विरोधी प्रजातान्त्रिक राष्ट्रवादी क्रान्तिकारी शक्तिको रूपमा प्रस्तुत गरेर क्रान्तिलाई साम्राज्यवादी सोझो हस्तक्षेप र सम्भावित प्रतिरोधबाट जोगाउँदै छापामार युद्ध लडे। जसको फलस्वरूप जनसमर्थन प्राप्त गरी क्रान्ति अगाडि बढाउन सजिलो मात्र भएन, बल्की छापामारहरू विरुद्ध बाटिष्टाका दमनात्मक क्रियाकलाप र अटेरी नीतिलाई लगाम लगाउन अमेरिकाले बाटिष्टा सरकारमाथि आर्थिक प्रतिबन्धसम्म लगाएर क्रान्तिलाई परोक्ष रूपमा सहयोग नै गरे। तर, क्रान्ति सम्पन्न हुनासाथ व्यापक आर्थिक सामाजिक परिवर्तन र प्रतिक्रान्तिकारीहरूको दमनका साथै बैंक तथा विदेशी कलकारखानाहरूको राष्ट्रियकरण, शिक्षा स्वास्थ्यमा जनवादी सुधार र सोभियत संघसँग सम्बन्ध विस्तार गरी द्रुत गतिमा समाजवाद निर्माणको दिशामा अग्रसर भए। यसको विरुद्ध अमेरिकाले सन् १९६२ देखि क्युवामाथि आर्थिक तथा व्यापारिक प्रतिबन्ध लगाउनका साथै बे अफ पिगमा आक्रमणसमेत गर्न पुग्यो। क्युवाको संरक्षणका लागि सोभियत संघले क्युवाको जल क्षेत्रमा आणविक क्षेप्यास्त्र तैनात गरेपछि उपस्थित भएको आणविक युद्धको खतरा रोक्न रुस र अमेरिकाबीच सन्धि गरियो। जस अनुसार अमेरिकाले क्युवामाथि सैन्य आक्रमण नगर्ने सहमति गरियो। सोभियत सैन्य अखाडा फिर्ता गरियो। तर, क्युवामाथि आर्थिक तथा व्यापार प्रतिबन्ध जारी नै रहे। आज क्युवा दक्षिण अमेरिकामा समाजवाद र समाजवादी आन्दोलनको प्रेरणाको श्रोतको रूपमा छ। दक्षिण अमेरिकामा लाखौंलाख युवाहरू आफ्ना प्रतिक्रियावादी साम्राज्यवाद परस्त सरकार ढाल्न र आफ्नो आर्थिक तथा राजनैतिक मुक्तिका लागि संघर्षरत छन्। फिडेल कास्ट्रो र चे त्यहाँका क्रान्तिकारीहरूको प्रेरणाका श्रोत र अत्यन्त सम्मानित नेताको रूपमा स्थापित छन्।

क्युवाली क्रान्तिको बारेमा राष्ट्रपति क्यानडी पछि भनेका छन्- ‘बटिष्टाको शासनकालमा हाम्रो देशले क्युबाप्रति अपनाएको नीतिका कारण क्युवाली जनताले भोग्नु परेको जस्तो आर्थिक दासता, शोषण तथा अपमान अफ्रिका लगायत विश्वका अन्य कुनै पनि उपनिवेशले भोग्न परेको थिएन। मलाई लाग्छ क्राष्ट्रो आन्दोलनलाई हामीले आफ्नो व्यवहारबाट जन्मायौं, हुर्कायौं र समयमै यसलाई बुझ्न सकेनौं। मलाई लाग्छ थपिंदै-थपिंदै गएका यी गल्तीहरू कै कारण ल्याटिन अमेरिकाको आज यो अवस्था छ। …मैले काष्ट्रोले सिएरा माएष्ट्रामा न्याय र भ्रष्टाचारको अन्तका लागि गरेको आह्वान न्यायिक आह्वान भनी स्वीकारेको छु। बाटिष्टा अमेरिकाले गरेका अनेकौं पापहरूको अवतार थियो। आज हामीले ती पापहरूको मूल्य चुकाउनु परेको छ।’ (जे.एफ. क्यानेडी जेन डानियलसँग अन्तरवार्ता- २० अक्टोबर १९६३)

आज पनि क्युवा र अमेरिकी साम्राज्यवादबीचको अन्तर्द्वन्द्व यथावत् छ। राष्ट्रपति ओबामाको कार्यकालमा सम्बन्ध सुधारका केही प्रयास गरिए पनि अहिले पुनः तिनलाई उल्ट्याउने काम भइरहेको छ। २५ नोभेम्बर सन् २०१६मा फिडेलको मृत्युपछि राउलको नेतृत्वमा क्युवाले आर्थिक सुधार तथा परिमार्जनको बाटो समातेको छ। तीव्र आर्थिक विकास तथा परिवर्तनको बाटोमा छ। #लोकपाटी#

तपाईको प्रतिक्रिया