एजेण्डाका हिसावले माओवादी केन्द्र देशको शक्तिशाली र बलियो पार्टी हो : नेता आचार्य

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का केन्द्रिय सदस्य, कर्णाली प्रदेशका सचिव जनताका प्रीय नेता रामदीप आचार्य संग माओवादी केन्द्रका गतिविधी, अवका एजेण्डा, पार्टीभित्रका आन्तरिक संघर्ष, पछिल्लो माओवादी केन्द्रको संशोधित विधान लगायतका विषयमा रहेर हाम्रो पहुँच डटकमले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ ।

१. स्वागत छ ।
धन्यवाद ।
२. तपाईको राजनीतिक यात्रा कसरी सुरु भयो ?
२०४६ सालको जन–आन्दोलनपछि स्थापित खुल्ला राजनीतिक वातावरणमा पारिवारिक,सामाजिक र विद्यालयको वातावरणले मलाई कम्युनिष्ट आन्दोलनमा लाग्न प्रेरित गरेको हो । म विचार र सिद्धान्तको आधारमा भन्दा भावनात्मक र सामाजिक परिवेशले कम्युनिष्ट भएको हुँ । विचार र सिद्धान्त सही र गलत आन्दोलनको क्रममा सिक्दै गरेको छु ।

३. माओवादी जनयुद्धको कुन कुराले तपाईलाई अहिले पनि झस्काईरहन्छ ?
झस्काईरहन्छ भन्नुको अर्थ नकारात्मक रुपमा होला । शहिदको रगत खेर जान्छ कि भन्ने कुराले मलाई बढी छुन्छ । तरपनि पनि दुनियाँ र मानव जातिको बाटो सिधा र बनि बनाउँ छैन, बक्र र घुमघुमाउ छ । विभिन्न हन्डर, ठक्कर खाएर पनि हामी अगाडि नै बढीरहन्छौ ।

४. माओवादी जनयुद्धका मुख्य एजेण्डा गणतन्त्र, संघीयता, समावेशी, धर्मरिपेक्षता र समानुपातिक मात्रै थिए ?
थिएनन् । अरु पनि थिए । मुल प्रश्न वर्गिय राज्यसत्ताको हो । त्यो राज्यसत्ता कसरी बन्यो, विकास भयो र टिक्न सक्ने भन्ने विश्लेषण हो । नेपाली समाज र राज्यसत्ताको आधारभुत चरित्र संसारभरीको जस्तो भएतापनि विशिष्टतामा माक्र्सले विश्लेषण गरे जस्तो पुँजीपति र सर्वहारा मात्र पनि होइन्, रुसमा जस्तो पुँजीवादको विकास, कुलाक र भुद्रासहरु र चीनको जस्तो एकल हान जातिय बाहुल्यता भएको नेपाली समाजको बनौट होईन ।

नेपाल एक भुपेरिवेष्ठित देश हो । यो संसारका सबैभन्दा धेरै जातीहरु भएको देश हो । यहाँका जातीयहरुको विकास विश्वमै फरक प्रकृतिको छ । सानो मुलुकमा धेरै विविधता छ । संसारका सबै प्रमुख भनिएका धर्महरुको प्रभाव ÷ कुप्रभाव यहाँ गहिरो गरि परेको छ ।

काठमाडौ उपत्यका केन्द्रित विकासले देशको सम्रग र समानुपातिक विकासलाई संम्बोधन गर्न सक्ने, जनताले चुनेका प्रतिनिधीले संविधान लेख्ने, त्यो संविधान गणतन्त्रात्मक हुने, यसको आधारमा संघीयताको अभ्यास गर्ने, धर्मलाई राज्य बाट अलग गर्ने काम मुलत ः माओवादी जनयुद्धले गरेको हो । यसले समाजवादी बाटोको ढोका खोलेको छ ।

५. माओवादी भित्र गुटको राजनीति सिर्जना भएकै हो ?
समाजमा जे छ त्यसको छाया पार्टीमा देखिन्छ । पार्टीको अभ्यासले समाजलाई तरंगित र प्रभावित गर्दछ । गुटहरु नभएका कुन चाहिं पार्टीहरु छन् र ? गुटहरु हुनु पार्टीमा अनिवार्य जस्तै भएको छ ।

तर गुटले पार्टीलाई फाईदा भन्दा घाटा बढि गरिरहेको छ । अन्तरविरोधलाई मैत्रीपुर्ण तरिकाले भन्दा गुटलाईन तरिकाले समाधान गर्ने दिशातिर लगिरहेको छ । घात–अन्तरघातका झुण्डहरु देखा पर्छन् ।

सच्याई र विज्ञान एकातिर गुट भित्रको स्वार्थ एकातिर हुन थालेको छ । यसलाई हल गरेर मात्रै पार्टी बन्छ । गुट निरपेक्ष पार्टी निर्माण आजको चुनौती र आवश्यकता दुवै हो ।

६. पछिल्लो पटक माओवादी केन्द्रले विधान संशोधन गरेको छ, पहिलेको भन्दा फरक के छ ?
हामीलाई २१ औं शताब्दीको वैज्ञानिक समाजवादी क्रान्तिको अगुवाई गर्न योग्य पार्टी चाहिएको छ । त्यो पार्टी आधारभुत रुपमा जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्तद्धारा सञ्चालित हुनछ । तर सिद्धान्त निस्प्राण र गतिहीन हुदैन ।

बरु गतिशील र परिमार्जन योग्य हुन्छ । क्रान्तिको नयाँ मोर्चामा व्यापक विशाल एकता, जनवादी र क्रान्तिकारी पार्टी चाहिएकोले विधान संशोधन गरिएको हो । हामीले पार्टीलाई डिजिटल यूगमा अगुवाई गर्ने पार्टी बनाउँछौं । संस्थागत प्रणालीलाई विकास गरेर पार्टीलाई तदर्शवाद बाट मुक्त गर्दछौँ । नेता कार्यकर्ताहरुको मुल्यांकन, कार्यविभाजन र अभिलेखिकरणलाई वैज्ञानिक र न्यायोचित बनाउँछौँ ।

७. अरु पार्टी र माओवादी केन्द्र विच फरक के छ ?
पहिला समानताको कुरा गरौं । सबै पार्टीहरु नेपाली समाजको विकासका उपज हुन् । ति राजनैतिक पार्टीहरुको स्तर समाज विकासको स्तरले निर्धारण गर्दछ । अव फरक तर्फ जाऔं । विचारमा फरक छ । राजनीतिमा फरक छ ।

संगठनात्मक सिद्धान्त र कार्यशैलीमा फरक छ । हामी २१ औं शताब्दीमा वैज्ञानिक समाजवाद स्थापना गर्न चाहान्छौं । पुँजीवादी समाजवाद हाम्रो लक्ष्य होइन् । हामी समाजवादी अभियानको मुक्तिको अगुवाई गर्न क्रान्तिकारी पार्टी निर्माण गर्न चाहान्छौ ।

हाम्रो पार्टीको विगत क्रान्तिकारी छ, वर्तमान क्रान्तिकारी छ र , भविष्य क्रान्तिकारी छ फरक यही हो । हामी सुधारवादमै रमाउँदैनौं ।

८. देशमा माओवादी पार्टी कमजोर हुनुका कारण के हुन सक्छन् तपाईको विचारमा ?
कमजोर र बलियोको मापन कसरी गर्ने ? राजनीतिक एजेण्डाका दृष्टिले देशको सबैभन्दा शक्तिशाली र बलियो पार्टी माओवादी हो । माओवादीले जनयुद्ध कालदेखि जेजे भन्यो त्यहि त्यही लागु हुदै आईरहेको छ ।

मुल रुपमा संगठनात्कम दृष्टिले माओवादी केन्द्रले केही समीक्षा गर्नुपर्छ । दार्शनिक रुपमा वाह्य कारण र आन्तरिक कारण प्रमुख मानिएपछि हामीले विचार, राजनीति, संगठन, नेतृत्व र कार्यशैलीमा रहेर हामी भित्रै हाम्रा समस्याहरु खोज्नुपर्छ ।

९. माओवादी केन्द्रका अवका एजेण्डा केके हुन् ?
२१ औं शताब्दीको वैज्ञानिक समाजवादको आधार तयार पार्ने मुख्य काम यही हो । मजवुत संगठन, अग्रगामी नेतृत्व, शिष्ट राजनीति, अटुट जनसम्बन्ध, राष्ट्रिय स्वाधिनता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली एजेण्डा यिनै हुन् । जसले आर्थिक समृद्धि, वास्तविक लोकतन्त्र र राष्ट्रिय स्वाधिनताका रक्षा गर्नु अवका एजेण्डा यिनै हुन् ।

१०. २०६४ सालमा पहिलो दल बनेको पार्टी ७४ सम्म तेस्रोमा पुग्यो यसलाई कसरी समीक्षा गर्नुहुन्छ ?
यसको जवाफ माथि पनि भनियो । एउटा राजनीतिक पार्टी आफ्नो विकासको जीवनमा सफलता र असफलताका अनेकौं संकटलाई पार गरेर अगाडी बढ्दछ । असफलता बाट शिक्षा लिने सफलतालाई संश्लेषण गर्ने हाम्रो आफ्नै शैली छ ।

२०६४ सालको सफलता नेपाली जनयुद्धलाई जनताको लाल मोहर थियो । त्यसपछिको परिणाम हाम्रो कार्यशैलीको परिणाम हो । हामी तीन वटा कुरामा विचार गछौं । हाम्रा जनता, आफ्नो देश र आफ्नै पार्टी ।

११. अन्त्यमा के भन्नुहुन्छ ?
संसार सञ्चार भूमण्डलीकरणको युग, सुचना, प्रविधिको यूगमा छ । सञ्चारमाध्यमले मान्छेलाई बाटो देखाउने काम गरिहेका छन् । दुर दराजमा रहेर पनि आधारभुत तहका मान्छेको आवाज बुलन्द गर्न हाम्रो पहुँच सफल रहोस् ।

तपाईको प्रतिक्रिया