‘किन बुझ्दैन् हाम्रो समाज ?’


मानिसको जीवन दुई दिनको घाम छाया हो । त्यसैमा पनि एकपल खुशी अनि पलपल पीडा । आश्चर्य लाग्छ । आखिर पीडा पाउनु नै छ भने दुई दिनको पाहुना बनेर खुशी किन आउँछ ? यहाँ पीडा अनि दुःख नभएको मान्छे छैन । बस् फरक यति छ कसैले व्यक्त गर्दछ त कसैले मुटुभित्र लुकाउँछ ।

यो दुनियाँ एक रङ्गमञ्च हो । अनि स्वार्थी पनि किनकी यहाँ कसैले कसैको पनि खुशी देख्न चाहँदैनन् । यदि कोही खुशी भइहाले पनि दुनियाँले भन्ने गर्छ कि त्यसलाई मोज छ । मान्छेले यो बुझ्दैनन् की त्यो खुशी हुन गरेको सङ्घर्ष । यदि कोही दुखी भयो भने भन्ने गर्छ यो समाज पूर्व जन्ममा गरेको पापको सजाय रे । किन बुझ्दैन यो समाज ? आज एउटालाई परेको दुःख भोलि अर्को लाई नि पर्छ भनेर पालो सबैको आउँछ, पृथ्वी गोलो छ ।

कसैले ओठको फिक्का मुस्कान देखेकै भरमा त्यसको जिन्दगीको व्याख्या गर्न समेत पछि पर्दैन् यो समाज । त्यो फिक्का मुस्कान भित्रको ज्वालामुखी विष्फोटन । आखिर किन बुझ्दैन् यो समाज ? आज म एउटा छोरा मान्छे भएर होइन् छोरी मान्छे भएर उसको भावना व्यक्त गर्दैछु । छोरालाई च्यातिएको पाइन्ट लगाएर हिड्दा गर्व गर्ने हाम्रो समाज ।

एउटी छोरीलाई अलिकति छोटो कपडा लगाउँदा उसको कपडाको कारण उसको चरित्रको हत्या गरिन्छ । आखिर किन यति फरक एउटा श्रीमान मरेकी श्रीमतीले रातो टिका लगाउँदा समेत टिका टिप्पणी गर्ने हाम्रो समाज त्यहि श्रीमती मरेको १०÷२० दिनपछि बाजा गाजा सहित अर्को विवाह गर्दा किन टिका टिप्पणी गर्दैन हाम्रो समाज ?

हाम्री आमा आफ्नी २५ वर्षकी छोरी दिनभर डुलेर घर आउँदा समेत पिर चिन्ता गर्ने हाम्री आमा आफ्नी १८ वर्षकी बुहारीले एक छिन बसेको समेत हेर्न सक्दिनन् ।

सुनेको छु । सदरमुकाममा नयाँ नयाँ कानुन बनेको छ रे ? खै कहाँ बन्यो , कहाँ लागू भयो ? यहाँ हरेक ठाउँमा विभेद छ । केटाकेटी विच, छोराछोरी विच । गाउँगाउँ चाहार्दै हिड्ने कुकुरलाई समेत सँगै बसालेर खाना खुवाउने हाम्रो समाज, निधर्ई छ । तँ सानो जात, मेरो घरमा नआइजा, हिले तँले छोएको पानी चल्दैन् । तँ सानो जात म ठूलो जात किन बुझ्दैन यो समाज ? दुई ओटा जात छन् त्यो हो एउटा लोग्ने मान्छे अनि अर्को स्वास्नी मान्छे ।

किन हाम्रो समाज को सोच सानो छ ? कहिले हुन्छ सोच परिवर्तन ? संसार बदल्नु छ त सुरु आफै बाट गर्नु पर्छ । एउटा भनाइ छ, ‘विश्व बदल्नु अघि देश बदल्नु पर्छ, देश बदल्नु अघि समाज अनि समाज बदल्नु अघि आफ्नो परिवार, परिवार बदल्नु अघि आफै लाई बदल्नुपर्छ ।’ सोच परिवर्तन गरौं । विचार परिवर्तन गरौं ।

नविन कुमार सिंह
जाजरकोट, नेपाल

तपाईको प्रतिक्रिया