संस्मरण : ‘नयाँ बर्षमा गिद्धलाई भोज खुवाएको क्षण’

गोविन्द्रबहादुर सिंह

जिल्लाको बारेकोट क्षेत्रमा हुर्किएको म बालापनदेखि नै गिद्धसँग साक्षात्कार र परिचित थिएँ । छिनाझपटी गर्दै सिनो लुटिरहेका गिद्धहरूको बथान र चर्तिकला देख्दा त्यसै–त्यसै मन आनन्दित हुन्थ्यो । समयक्रम सँगै हजारौँको संख्यामा यत्रतत्र सर्वत्र पाइने ती गिद्धहरू पछिल्ला दशकहरूमा सयौँमा र विरलै देखिन थालेका थिए ।

पेशाले पशु स्वास्थ्यकर्मी म यसरी गिद्धहरूको अप्राकृतिक विनाशको कारण त पशु उपचारमा हामीले नै प्रयोग गर्ने पीडानाशक औषधि डाइक्लोफेनेक पो रहेछ । जुन औषधी डेढ दशक अघिदेखि नै पशु उपचारमा प्रयोगमा प्रतिबन्धित छ र त्यसको बिकल्पमा सुरक्षित मेलोक्सीक्याम भनिने औषधि प्रयोगमा छ । सामान्यतया रुची भए पनि गिद्धका प्रजातिहरू चिन्ने गुँडहरूको पहिचान गर्ने र महत्वको बारेमा बुझ्ने अवसर मिलेको थिएन ।

यसै मेसोमा नेपाल पंछी संरक्षण संघ काठमाडौसँग बारेकोट पर्यावरण तथा एकीकृत विकास अभियान जाजरकोट, जिल्ला पशु सेवा कार्यालय जाजरकोट र सक्ला गा.वि.स. को सहकार्यमा गिद्धका वासस्थान पहिचान अनुगमन र जनचेतना अभिवृद्धिका लागि विज्ञहरू सम्मिलित अनुसन्धान टोली २०७० चैत्र महिनाको अन्तिम हप्ता जाजरकोटको बारेकोट क्षेत्रमा आयो । टोलीमा गिद्धविज्ञ कृष्ण भुसाल, पत्रकार तथा प्रकृति संरक्षण अभियन्ता हरिहर सिंह राठोर, पशु सेवा कार्यालय जाजरकोटको तर्फबाट म र अन्य स्थानीय अग्रजहरू थियौं ।

गिद्ध सचेतना कार्यक्रममा लेखक सिंह र गिद्धको अनुसन्धान, संरक्षण क्षेत्रमा लामो समय देखि कार्यरत कृष्ण भुसाल लगायत ।
अध्ययनका क्रममा सक्लाको चौके ढुङ्गा अँध्यारी खोलाको जुवाला लहागको दामचौर दरी लेगमी खोला नायकबाडाका धुम, घर्तीगाउँ, सिंगारी, रागाँ, चौधारी, खर्सु बारीलगायतका चट्टानी पहराहरूमा दुर्लभ सेती गिद्ध हिमाली गिद्ध र हाडफोर गिद्धका बासस्थान पत्ता लाग्यो ।

त्यस्तै तत्कालीन लहँ गा.वि.स. वडा नं. ६ महादेव जंगलको रुखमा लोप हुन थालेको सुन गिद्धको गुँड फेला पर्यो । जाजरकोट नेपालमा सुन गिद्धको गुँड फेला परेको पाल्पापछिको दोस्रो जिल्ला हो । नेपालको मध्य पहाडमा गुँड बनाइ बस्ने चार प्रजातिका गिद्धमध्ये चारै प्रजातिका गिद्धहरूको बासस्थान भएको नेपालका दुई जिल्ला अर्घाखाँची र जाजरकोट मात्र हुन् ।

२०७१ बैशाख १ गते नयाँ वर्षको दिन हाम्रो टोली तत्कालीन सक्ला गा.वि.स. को सेपुखोलामा थियो । मान्छेहरू आ–आफ्नो क्षमताअनुसार नयाँ वर्ष मनाउनमा व्यस्त थिए । हाम्रो टोलीमा पनि छलफल चल्यो नयाँ वर्ष कसरी मनाउने त ? अन्तमा हामी टुङ्गोमा पुग्यौँ । यो नयाँ वर्ष गिद्धलाई भोज खुवाएर मनाउने फलतः नेपालमै पहिलोपल्ट गिद्ध भोजको आयोजना जाजरकोटमा भयो । गिद्ध भोजका लागि रु १८ हजार मूल्यको राँगो त्यतिबेलाको सक्ला गा.वि.स. का सचिव धनिराम कुमाईले उपलब्ध गराउनु भयो ।

गिद्धको पहिचान र गणनाका लागि दूरविन क्यामरालगायत आवश्यक सामग्रीसहित टोली लुकेर बस्यौँ भने म छाडा कुकुर रोक्ने र बाहिरी गतिविधि अवलोकनमा खटिए । कोही भन्दै थिए गिद्धले मान्छेले काटेको खाँदैन, कोही टाउको उत्तर फर्केको र छाला काढेकोलाई छुँदैन तर हामी भने गिद्धको प्रतिक्षामा बसेका थियौँ । केही समयपछि चारवटा कागहरू कराउँदै आए र निरीक्षण गरी चार दिशामा फर्किए । करिब १० मिनेटपछि आकाशमा १०–१२ वटा गिद्ध देखा परे । यसरी हेर्दा सिनो सम्बन्धी जानकारी गिद्धलाई कागले सन्देश प्रवाह गर्दो रहेछ कि जस्तो लाग्यो ।

कागहरूले उद्घाटन गरेपछि मात्र गिद्धहरू धमाधम सुरू गरे । सेपुखोला र नलसिंहगाडको दोभानमा गिद्धहरूको ओइरो छुट्यो । हेर्दा हेर्दै करिव आधा घण्टामा सिंगो राँगालाई स्वाहा पारे । भोजमा हिमाली गिद्ध ३६ सुन गिद्ध २ सेती गिद्ध १ सहभागी भए भने आकाशमा २ वटा हाडफोर गिद्ध उडेका देखिए । गिद्धको पहिचान र गणनाको लागि विज्ञ कृष्ण सरले सिकाउनु भयो भने करिब ५० जनाजति स्थानीय र हाम्रो टोलीले नयाँ वर्ष विलकुल नवीनतम गिद्ध संरक्षणको काम गरी मनायौँ । जुन मेरो जीवनको महत्वपूर्ण स्मरणीय दिन बन्यो ।

गिद्ध भोजको अर्को दिन सक्ला गा.वि.स.को आयोजनामा गिद्ध संरक्षण समुदाय सचेतना कार्यक्रम आयोजना गरियो । पावर प्वाइन्ट प्रस्तुतिसँगै सक्ला गा.वि.स. लाई गिद्ध सुरक्षित क्षेत्र घोषणा सचिव धनिराम कुमाईले गर्नुभयो । पछि टोली जिल्ला फर्किएपछि जिल्ला पशु सेवा कार्यालय जाजरकोटको आयोजनामा खलंगामा सरोकारवालास्तरीय अन्तरक्रिया तथा अनुसन्धानको प्राप्त उपलब्धि सार्वजनिक गरियो । हाम्रो त्यस अनुसन्धानको कामलाई प्रोत्साहन गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले खादा ओढाइ सम्मान पनि गर्नु भयो ।

नयाँ वर्षमा गिद्धलाई दिइएको भोज खाँदै गिद्धहरु ।

पेशाको सिलसिलामा गाउँ–गाउँ हिँड्नु पर्ने उक्त अभियानपछि म गिद्ध अन्य चरा र वन्यजन्तु संरक्षणको अभियान्ता बने । त्यस अध्ययन अवधिमा हामीले धर्तीबाटै लोप हुने अवस्थामा पुगेको दुर्लभ सुन गिद्ध, सेतो गिद्ध,हिमाली गिद्ध, हाडफोर गिद्ध विश्वमै दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्वारा संरक्षित पंछी चीर कालिज, नेपालको राष्ट्रिय पंछी डाँफे नेपाल सरकारद्वारा संरक्षित सूचीमा सूचीकृत पंछी मुनाल लगायत करिब १ सय २० भन्दा बढी प्रजातिका चराहरू अभिलेख गर्यौ । त्यसपछि पनि मेरो निरन्तर खोज र अनुसन्धानबाट त्यस क्षेत्रमा करिव २ सय प्रजातिका चराहरू अभिलेख भएका छन् । अनुसन्धान टोलीले गिद्ध तथा चरा संरक्षण चोरी शिकार नियन्त्रण र जैविक विविधता संरक्षणमा स्थानीय समुदायको भूमिका विषयमा लँह र बारेकोट क्षेत्रका समुदाय र विद्यालयमा जनचेतना अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रमहरू पनि सम्पन्न गरेको थियो ।

समग्रमा जाजरकोट जिल्ला जैविक विविधतामा उत्कृष्ट र धनी छ यद्यपि यसको पहिचान र संरक्षणमा राज्यको यथोचित ध्यान जान सकेको छैन । जिल्लामा चोरी शिकार व्याप्त छ । जसले गर्दा दुर्लभ रेड पाण्डा, चिर डाँफे जस्ता जनावर तथा पंछी लोप हुँदैछन् । रुढीवादी परम्पराअनुसार गाउँ घरमा कसैको बच्चा नजन्मिएमा वा जन्मदै मर्दै गरेमा नाग लागेको भन्दै गिद्धलाई छोपेर ल्याउने र खोपाउने चलन छ । त्यस्तै धेरै धन सम्पति नाश भएमा वा ग्रहदशा बिग्रेमा गिद्धसँग मित लगाउने भन्दै गिद्धको घाँटीमा ध्वजा वा घण्टी झुण्ड्याइदिने चलन छ । समाजमा व्याप्त यस्ता नकारात्मक परम्पराहरूले पनि गिद्ध संरक्षणमा चुनौति छ ।

स्याल, चितुवा, भालु, ब्वाँसो मार्ने नाममा सिनोमा विषको प्रयोगले गिद्धलगायत अन्य वन्यजन्तु मार्ने अवैधानिक कार्यहरूले गिद्ध संरक्षणमा समस्या छ । वन फडानी र डढेलो बढेको बढ्यै छ । त्यसैले प्रकृतिको अभिन्न अङ्ग गिद्ध र समग्र जैविक विविधता संरक्षणमा सबैले हातेमालो गरी वातावरणीय सन्तुलन र सनातन खाद्यचक्र कायम गरौँ । बारेकोट क्षेत्र गिद्धलगायत अन्य लोपोन्मुख वन्यजन्तुको वासस्थान भएकोले यस क्षेत्रलाई राज्यले नै संरक्षित क्षेत्र घोषणा गर्नु पर्ने टड्कारो आवश्यकता छ ।

हालसम्म जिल्लाका विभिन्न स्थानमा व्यक्तिगत खर्चमा खोज गर्दा हिमाली गिद्धका ३३ सेतो गिद्धका ३ हाडफोर गिद्धका ४ र सुन गिद्धका १ गुँड फेला परेका छन् । हिउँदे आगन्तुक राज गिद्ध पनि जिल्लामा अभिलेख भएको छ । विष हालेको सिनो खाँदा २६ वटा हिमाली गिद्ध मरेको घटनाले सधै मलाई झस्काइरहन्छ । एकल प्रयास र व्यक्तिगत खर्चमा हालसम्म ११ वटा गिद्ध ७ वटा अन्य चराहरू र २९ वटा सरीसृप उभयचर र स्तनधारी जनावरको उद्धार गरी उपचार पश्चात सकुशल प्राकृतिकवासमा छोड्दा गौरवान्वित महसुस भएपनि औषधी उपचार खर्च वास व्यवस्थापन र मांसाहारी गिद्धलाई आहार व्यवस्थापन गर्न धेरै नै कठिनाइ छ ।


उद्धार गरेर उपचारपछि सन्चो भएको गिद्धलाई छाड्नु अघि अबिर लगाएर खुशी साट्दै लेखक ।
त्यसै गरी गुलेली र पासो संकलन अभियानका साथै नयाँ–नयाँ चरा र अन्य वन्यजन्तुको खोज र अनुगमनमा विदाको र कार्यालय समय बाहिरको समयमा लागिरहेको छु । मलाई यस अभियानमा लाग्न प्रेरणा दिने र सधै झन्झट नमानी सोधेको जवाफ दिने कृष्णप्रसाद भुसाल सरलगायत अन्य विज्ञ सर÷म्याडमहरू अग्रज दाजु हरिहर सिंह राठोर, नैतिक समर्थन प्रदान गर्ने बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाह र आफ्नो पारिवारिक र व्यक्तिगत समय र कमाइ पनि चरा र वन्यजन्तुको खोजमा खर्च गर्दा पनि साथ र सहयोग गरिरहनु भएका परिवारका सदस्यहरू सबैप्रति कृतज्ञ छु । #हामीले यो सामग्री ईनेचर न्युज बाट लिएका हौ ।#

गोबिन्द बहादुर सिंह बारेकोट गाउँपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया