‘राँगावाचीलो बारेकोटीहरुको आस्थाको देउता’


जाजरकोट जिल्लाका पाखा, गरि, थुम्का,कोट,भन्ज्यागं आदिमा पुग्नुभयो भने देख्नुहुनेछ कतिपय ठाउँमा पाती चढाएको, ढुंगा चढाएको, ध्वजा लगाएको । यी सबैमा बारेकोटीहरुले आस्था दर्शाएका हुन् । यहाँका थुम्का र पत्थरमा देउताको वास छ भन्ने विश्वास छ र शुभ साइत गर्दा हृदयदेखि नै जस्तै नास्ति कले पनि ‘दाहिने भए परमेश्वरी’ भन्दै हिड्छन् । यसै विषयमा जाजरकोटको उत्तरी भेकमा अवस्थित बारेकोट भित्रको आस्थाको ईष्टदेउता राँगावाँचिलोको बारेमा म यहाँ केही जानकारी पाठक समक्ष पेश गर्दछु ।

च्याखुरे लेकको बाटो भएर जुम्ला जानुप¥यो भने नायकवाडा गाविसको क्षेत्रमा पर्ने राँगाचौर अतिरमणीय स्थलको रुपमा बाटोमा भेटिन्छ । ठूलो चौरको वीचमा च्याप्टो ढुंगा र त्यसमाथि राँगोको टाउको आकारको ढंगा छ र मन्दिर पनि सँगसँगै छ । त्यसको नजिकै नौ वटा फन्टो घुमेको कुलो छ जो कोहीलाई पनि हेर्दा त्यो दृश्य कौतुहललाग्दो छ ।

त्यही नै राँगावाचिलो देवताको उत्पति भएको ठाउँ हो । बुढापाखाहरुको किंवदन्ती अनुसार त्यो चौरलाई एकजना गुवालोले निजी जग्गा बनाउने उद्धेश्यले जोत्न शुरु गरेछ, जोत्दै गरेको वेला एउटा बालक हलोको सियोमा उत्तानो प¥यो, तर तुरुन्तै गोरु गुवालो त्यही भाँसिए । त्यो देखि अरु गुवालाहरु मिलेर त्यसै ठाउँमा पूजा आजा गर्दा एकजना गुवालोलाई देवता चढ्यो र त्यसको मुख्य थान नायकवाडा गाविसको मैनगाउँमा राखी नित्य पूजापाठ गर्ने भनी आदेश दियो ।

अहिले सम्म जाजरकोटका मान्छे मैनागाउँलाई तीर्थस्थलको रुपमा हेर्छन् । विशेष गरी भाद्र पुर्णिमा र जेष्ठ पुर्णिमाको चतुर्दशीमा लाग्ने यहाँको पर्वको आफ्नै विशेषता छ । भाद्र पुर्णिमाको एकादशीदेखि चतुर्दशी सम्म यस मन्दिरमा सरसफाई,पूजाआजा नित्य रुपमा गरिन्छ र गाउँकै एक ठाउँमा बाहुनलाई जग्गा, जमिन दिई एकजना पुरोहित सो देउताको निम्ति राखिएको छ । बाहुनद्धारा होम,यज्ञ दिनहूँ गरिन्छ । चतुर्दशीको विहान बस्नेत थरीका भैयादयहरुले सफा सुग्घर भई र घरमा खीर, पुरी पकाई देउताको थानमा चढाउँछन् भने घरको लिपपोत, बाटोघाटोको सफाई गरी आईमाई, केटाकेटीहरु नयाँ लुगा, कपडा गहना लगाई देउताको थानमा जम्मा हुन्छन् ।

थानको अगाडि पुराना, पुराना खंगनिशान, आलम( रंगी विरंगी कपडाका झण्डा जस्तो ) फहराईएको दृश्य अति मनमोहक हुन्छ । उता मुल धामीले मसिनो उनको धागो बाट बुनेको सेतो बक्खु लगाएका हुन्छन् । थानमा टाढा टाढाबाट श्रद्धालु भक्तजन नाईक, जिम्मुवाल, थरी थानी सबैको उपस्थिति हुन्छ । विस्तारै बाजागाजाका साथ रमाईलो सँग देउताको लावा लस्कर गाउँको माझ सेरा भन्ने ठाउँमा पुग्छ । त्यो ठाउँमा सबै धामीहरु जम्मा भई निक्कै रमाईलो गर्छन् । यता दर्शक भीडमा टाढा टाढा बाट आएका पाहुनाहरु एक आपसमा चिनजान गर्ने, चुरोट सुर्ति बाँडेर खाने गर्छन् भने बुढाबुढीहरु हातमा रातो सेतो ध्वजा लिएर देवीदेउताको नामोच्चारण गर्दै रमाउँदै हिड्छन् ।

कानमा चेप्टे सुन, बुलाकी, कम्पनीको माला, गहुनको फरिया, टाढा खास्टो, कम्मरमा नीलो पहेलोपटुका, मखमले चोलो लगाएकी पहाडी बालाहरु लाहुरेफूल र लस्करी कानमा सिहुरिएर वडो उमंगका साथ आफ्नो इस्टदेवताको शोभायात्रामा संलग्न भएको दृश्य कम रोमाञ्चकारी हुदैन् ।

मसिनो बुट्यानभित्र छरपस्ट भएर सिपालु दमाईहरुको बाजाको धुनमा मूल सेरामा पुग्छन् । तुरुन्तै हरियो स्याउलाले थानको भित्री भाग गभौरलाई छापेर राखिन्छ । यता पंक्तिबद्ध भएर धामीहरु भएर धामीहरु आफ्नो नाँच देखाउँछन् । भने उता मन्दिरभित्र पूजा अर्चना सुरु हुन्छ । सबैभन्दा पहिले मुल खोपोलाई ८० मिटर जतिको कपडाले चारैतिर छोपेर राखिन्छ । मुल धामीले पूजारीको कानमा वेसरी कराएर कान नसुन्ने बनाएर खोपो भित्र पठाउने चलन छ । भने उता पूजारीको मुख,आँखा कपडाले बन्द गरिन्छ ।

बुढापाखाको किवंदन्ती अनुसार उक्त थान भित्र राक्षसको मुटु गाडिएको र उक्त खाँगावाचिलो देवताले राक्षसलाई मारेकोले उक्त मुटुलाई धोएर पुःन त्यहि ठाउँमा गाडेर बाँकी बोका वली दिने चलन चलेको हो भन्ने भनाई छ । थानमा रमाईलो नाँचगान गर्नुको साथै पाटन बाट ल्याएका फुलहरु दर्शकहरुलाई वितरण गरिन्छ । र टाढाका पाहुनाहरुलाई प्रसाद दिएर विदा गरिन्छ । हिउँ, असिना, बाढी, पहिरो, खडेरी, रोक्नको लागि उक्त देवताको थानमा खड्गरात्रि( रातभरी जाग्राम बस्ने) गर्ने चलन छ भने अन्यायमा परेकालाई सो देवताले निसाफ दिने चलन पनि अझै छ ।

यो सामग्री हामीले राजुराजा सिंहले लेखेको जाजरकोटको इतिहास पुस्तक बाट साभार गरेका हौं ।

तपाईको प्रतिक्रिया