४ आश्विन २०७८, सोमबार
ताजा खबर
  

जनमोर्चाको प्रदेश अध्यक्षसहित दैलेख कार्यसमिति एमालेमा प्रवेश

 दैलेख । राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कार्य समितिसहित कर्णाली प्रदेशका अध्यक्षको टोली नै आइतबार नेकपा एमालेमा प्रवेश गरेको छ ।
जनमोर्चा जिल्ला कार्य समिति दैलेखको सम्पूर्ण कार्य समितिको टिम र कर्णाली प्रदेशका अध्यक्षसहित ४ जना सदस्यले एमाले प्रवेश गरेका एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए ।

राष्ट्रिय जनमोर्चा दैलेखका नेता कविराज खत्रीका अनुसार जनमोर्चा जिल्ला समिति दैलेखले एमालेमा जाने निर्णय गरेकाले सम्पूर्ण दैलेख जिल्ला कमिटी र जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाही, प्रदेश कमिटीका ४ जना सदस्यले एमाले प्रवेश गरेकोे बताए ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान काठमाडौंमा उनीहरू एमाले प्रवेश गरेको राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीले जानकारी दिए ।

यस्तै, जनमोर्चा दैलेखले पार्टी केन्द्रले दक्षिणपन्थी सामन्त, दलाल र वर्ग दुस्मन पार्टीसँग तालमेल गरी कम्युनिष्ट पार्टीको सरकार अपदस्थ गर्न भूमिका खेली कम्युनिष्टप्रति गद्दारी गरेकाले आफूहरूले जनमोर्चा परित्याग गरी एमाले प्रवेश गरेको पार्टी सचिव सुरतबहादुर रावतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।