जाजरकोटका गाउँगाउँमा राजनितीक दलका कार्यक्रम

May be an image of 2 people, people sitting and people standing

खलंगा । नेकपा माओवादी केन्द्रले सबै स्थानीय तहमा पार्टीका इन्चार्ज, अध्यक्ष र सचिव तोकेपछि उनीहरू गाउँगाउँमा पसेका छन् । प्रशिक्षण, पार्टी सदस्यता वितरण, नवीकरण लगायत कामका लागि उनीहरूलाई गाउँमा पठाइएको हो ।

नेपाली कांग्रेसका नेताहरू पनि गाउँमै छन् । १४ औं महाधिवेशनको तयारीका लागि कांग्रेसले वडा अधिवेशन सकेको छ भने क्षेत्रीय, स्थानीय तह तथा जिल्ला अधिवेशनको तयारी गरिरहेको छ ।

नेकपा एमाले र नेकपा एकिकृत (समाजवादी) ले पनि सदस्यता नवीकरण, वितरण तथा अरु विभिन्न गतिविधिलाई बाक्लो बनाएका छन् । जिल्लामा लामो समयपछि राजनीतिक गतिविधि बढेको हो । त्यसमा पनि राजनीतिक दलहरूले आफ्ना हरेक गतिविधि गाउँ केन्द्रीत बनाएका छन् । दुई पटकको कोरोना कहर र अरु कारणले राजनीतिक गतिविधि ठप्प जस्तै रहेको जिल्लामा पछिल्लो समय राजनीतिक सरगर्मी बढेको छ । अहिले दुर्गम गाउँसमेत हरेक दिन कुनै न कुनै पार्टीको केही न केही कार्यक्रम भइरहेका हुन्छन् ।

राजनीतिक दलहरू विभिन्न कार्यक्रम लिएर गाउँमा आइरहेको बारेकोट गाउँपालिका २ का मानबहादुर रोकायले बताए  । ‘गाउँमै रहेका कार्यकर्ताको पनि सक्रियता बढेको छ,’ उनले भने, ‘जिल्ला तथा प्रदेशसम्मका नेताहरू पनि विभिन्न कार्यक्रमको लागि गाउँ आइरहेका छन् ।’

सबै राजनीतिक दल आ–आफ्ना अधिवेशन र महाधिवेशनको तयारी थालेका हुन् । चुनावको तयारी स्वरुप पनि राजनीतिक गतिविधि बढेको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका शिक्षक कालीप्रसाद थापाले बताए  । ‘आफ्नो पार्टीलाई बलियो बनाउन र आगामी चुनाव आफ्नो पक्षमा पार्न दलहरू गाउँमा पसेको देखिन्छ,’ उनले भने, ‘पार्टी निर्माण मार्फत दलहरूले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन आएको संकेत दिइरहेका छन् ।’
राजनीतिक दलहरू पनि यसलाई नकारेका छैनन् । माओवादी केन्द्र जाजरकोटका अध्यक्ष ढकवीर रानाले पार्टी सदस्यता वितरण र नवीकरणमार्फत पार्टीको पुनर्गठन गरिरहेको बताए । ‘यो हाम्रो नियमित काम हो,’ उनले भने, ‘यसबीचमा अरु अभियानलाई पनि जोडेर गतिविधिहरू सञ्चालन गरिरहेका छौं ।’ उनका अनुसार पार्टीहरूले समयसीमा निर्धारण गरेरै काम गरिरहेका छन् ।

सदस्यता वितरण, नविकरण, भेला, बैठक, सम्मेलन र अधिवेशनका लागि निश्चित समय तोकिएको नेकपा एमालेका नेता प्रेमबहादुर सिंहले बताए । ‘विविध कारणले रोकिएका पार्टीका गतिविधिलाई तीव्र बनाइएको छ,’ उनले भने, ‘कोरोना आयो, यो बीचमा अरु धेरै कुराहरू पनि भए त्यसैले अहिले पार्टी गतिविधिलाई सक्रिय बनाइएको छ ।’ कांग्रेसले वडा अधिवेशन सकेसँगै स्थानीय तह, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको तयारी थालेको छ ।
गाउँमा पार्टी मात्रै गएका छैनन् । तिनीहरूको भातृ तथा भगिनी संगठन पनि गाउँ पसेका छन् । यसबाट राजनीतिक दल सक्रिय भए भन्ने बुझिने भेरी नगरपालिका ३ का विकास विकले बताए । लामो समय नदेखिएका नेता कार्यकर्ता एकैसाथ गाउँ आइरहेको दैनिक जसो देख्ने गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया