जसलाई बालदिवसले कहिल्यै छुदैन्

रमाई खाने उमेरमा, अभिभावकको पीडा

                                        भाईबहिनीहरुको स्याहार गर्दै १४ बर्षिया पवित्रा तस्विर
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका २ रोकायगाउँका धनबहादुर नेपाली अहिले १३ बर्षका भए । उनी जना ज्योती प्राथमिक विद्यालयमा कक्षा ३ मा पढ्छन् । उनको उमेर हेर्दा एसईई दिने भईसेकेको छ । तर घरायसी समस्याका कारण न पढाईलाई अघि बढाउन सकेका छन् । नत स्कुल नियमित जान्छन् । उनले भने, ‘म सानै थिए, वुवाको मृत्यु भईसेकको थियो, अहिले घरमा बहिनीभाई र आमा अनि म छौं ।’

स्कुल जाने भन्दा घरायसी काम भ्याईनभ्याई भएपछि धनबहादुरले पढाईलाई अघि बढाउन सकेका छैनन् । ‘आर्थिक अभावका कारण भाई बहिनीलाई समेत स्कुल पठाउन मुस्किल परेको छ, कमाई गर्ने वुवाको मृत्यु भईसकेको छ, आमाले कमाएको गुजरा चलाउन ठिक्क हुन्छ कसरी पढाउने भाईबहिनीलाई ?’ उनले थपे । उनी जस्तै अर्का राजकुमार विकको पनि व्यवस्था उस्तै छ । सोही गाउँका १४ बर्षका राजकुमारका वुवाको निधन भईसकेको छ । घरधन्दा चलाउन उनलाई मुस्किल परेको छ ।

आफुपछि ३ भाईबहिनी छन् । उनले भने, ‘घरमा आम्दानीको कुनै स्रोत छैन, कमाउने मान्छे पनि छैनन् , आमाले कमाएको साँझ विहान छाक टार्न मुस्किल हुन्छ ।’ रमाई खाने उमेरमा अभिभावत्व गह्रण गरेका राजकुमार पढाई गर्नुभन्दा पनि घर व्यवहार चलाउन चिन्ता गरिरहेका छन् । यस्तै, वारेकोट ४ जिरीकी पविता सार्की १४ वर्षकी भइन् तर,जिम्मेवारी भने एउटी आमाको भन्दा कम छैन । उनकी १२ वर्षकी विमला,९ वर्षकी राममाया,७ वर्षकी द्घारिका,५ वर्षकी लालमाया,र ३ वर्षकी निरुता ५ जना वहिनीहरु छन् । कापी, कितावको झोला वोकेर विद्यालय जानुपर्ने उमेरमा अरुको भारि वोकेर वहिनीहरुको पालनपोषण र हेरचाहमा खटिनुपर्ने वाध्यता छ ।

उनी १० वर्षकी हुदाँ उनका वुवाको लडेर मृत्यु भएको थियो । त्यतीवेला उनकी कान्छी वहिनी निरुता मात्र २ महिनाकी थिइन् । उनी आमा हुन्जेल साँझ, विहान घरको काम गरेर आधा घण्टा हिँडेर मौरिभिरस्थित गोरख प्राथमिक विद्यालयमा जान्थिन् तर आमाको काखमा हुर्किदै गरेकी वहिनीलाई नै छोडेर आमाले विहे गरी भागेपछी उनको पढ्ने सपना पुरा हुन् सकेन । उनीहरु केही उदाहरण पात्र मात्र हुन् । जिल्लाका अधिकांश बालबालिकाहरुको रमाई खाने उमेरमा अभिभावत्व ग्रहण गरिरहेका छन् ।

जिल्लाका अधिकांश दुर्गम बस्तीका बालबालिकाहरु धन कमाउन भारत जाने, पढाई छाडेर सरकारी काममा लाग्ने लगायतका समस्या झेलिरहेको नागरिक समाज जाजरकोटले जनाएको छ । आर्थिक अभावका कारण बालबालिकाहरुले पढ्दा पढ्दै विद्यालय छोड्ने, विवाह बन्धनमा बाँधिने, रोजगारीको खोजीमा लाग्ने समस्या झेल्दै आएका छन् । अझ गरिव, दलित र विपन्न परिवारका कतिपय बालबालिकाहरु विद्यालय जान समेत पाउँदैनन् ।

बालदिवसले छुदैन् बालबालिकालाई
सरकारले प्रत्येक बर्ष भाद्र २९ गतेलाई बालदिवसका रुपमा मनाउने गरेको छ । समान्यतया बालबालिकालाई शिक्षा, स्वास्थ्य, मनोरञ्जन, सुरक्षित आवास लगायतका समान्य मापदण्डमा बालबालिकालाई सेवा सुविधा होस् भनी सरकारले प्रत्येक बर्ष बाल दिवस मनाउन थालेको हो । तर जाजरकोटका अधिकांश बालबालिकाहरुलाई भाद्र २९ गते बालदिवस मनाउछ भन्ने समेत थाहा छैन् ।

कतिपय संघ संस्थाले कार्यक्रम लागु गरेका ठाउँका बालबालिकाहरुलाई थाहा भएपनि दुर्गम गाउँका धेरै जसो बालबालिकालाई थाहा समेत छैन् । धेरै केटाकेटीले पढाई समेत छोडेर छन् । आज भाद्र २९ गते सहरका बालबालिकाहरु आफ्नो अधिकारको माग गर्दै नारा लगाउँदै छन् भने, गाउँका बालबालिकाहरु गोठालोको जिम्मा, घर परिवारको हेरचाह गर्ने जिम्मा लिईरहेका हुन्छन् । उनीहरुलाई उचित व्यवस्थापन गर्नु स्थानीय सरकारको दायित्व भएको बारेकोट गाउँपालिका ४ का तिलकबहादुर रावतले बताए ।

कोभिडले बालबालिकामा असर
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले जाजरकोटका अधिकांश बालबालिकामा निकै असर पारेका बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाले बताउने गरेका छन् । लामो समय विद्यालय बन्द हुनु, घरायसी काममा व्यस्त, कुलतमा फस्ने सम्भावना बढेको उनीहरुको निष्कर्ष छ । कोरोना भाईरस कोभिड १९ ले बालबालिकाहरुको मनोविज्ञानमा असर पारेको भेरी नगरपालिकामा कार्यरत मनो सामाजिक कर्ता प्रविन विकले बताए ।

उनीहरुको मनमा निकै कुराहरु खेल्ने, नकरात्मक कुराहरु धेरै खेल्ने भएकोले यस्तो वेला अभिभावकहरुले धेरै सोच्नुपर्ने वेला आएको उनले बताए । एक बर्ष पहिले हुने विद्यालयका परीक्षाहरु समेत अहिले चलिरहेका छन् । विकले भने, ‘संक्रमित हुने कुरा त भयो नै, विद्यालयहरु बन्द भएपछि उनीहरु मानसिक, शारीरिक र सामाजिक रुपमा पनि तनावमा छन् ।’

जिल्लामा बालविवाहले विकराल रुप लिईरहेको छ । कम उमेरमै उनीहरुले विवाह गरिरहेका छन् । सरकारी निकायले भने प्रयासको पहल गरेको देखिदैन् ।

बालविवाहको विकराल रुप
जिल्लामा बालविवाह पर्याप्त हुने गरेको भएपनि स्थानीय तहले बालविवाह न्युनीकरणका लागि खासै प्रयास नगरेको उनको भनाई छ । बालविवाह एक समाजिक एक अपराध भएकोले यसलाई रोक्न स्थानीय तहको महत्वपुर्ण भुमिका रहनुपर्ने नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्र विक्रममा शाहले बताए ।

उनले भनेर्, यहाँका स्थानीय सरकाले विकास भनेको भौतिक विकासलाई मात्र सम्झेर काम गरिरहेका छन । तर सामाजिक संगै मानसिक विकासलाई ख्याल नै गरेका छैनन ।’ समाजमा भएका विकृतिका विरुद्ध यहाँका स्थानीयले काम गर्न आवश्यक रहेको उनको भनाई छ । जिल्लामा बालविवाह हुने क्रम रोकिएको छैन । एक सरकारी कार्यालयको तथ्यांक अनुसार, जाजरकोटमा १९ वर्ष नपुग्दै ७४ प्रतिशत वालविवाह हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

अशिक्षा, गरिवी, पछ्यौटेपनका कारण बालविवाह हुने गरेको सरोकारवालाहरुको भनाई छ । पछिल्लो समय कोरोना महामारीका कारण स्थानीय सरकारले थालेका कार्यक्रमहरु स्थगित रहेका छन । बालविवाह, लगायत हिंसात्मक गतिविधीका घटनाहरु बढिरहेका छन ।

तपाईको प्रतिक्रिया