कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। बागमती प्रदेशस्थित कांग्रेस सांसद नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै बिहीबार रिट दायर गरेका हुन्।

वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गरेका छन्। सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले ढिलागरी रिट आएकाले बिहीबार दर्ता गर्न नसकिएको बताए। ‘रिट ल्याएर करिब चार बजेतिर आउनु भएको हो, समय अभावले आज दर्ता गर्न सकिएन’ दाहालले थाहाखबरसँग भने, ‘भोलि दर्ता हुन्छ, पर्सि पेसीमा चढ्छ।’

अहिलेकै अवस्थामा महाधिवेशन गरे लाखौंको ज्यान जोखिममा पर्ने वैद्यले रिटमा उल्लेख गरेका छन्। छैटौँ पटक परिमार्जित कार्यतालिकाअनुसार भोलि १८ गते वडा अधिवेशन सुरु हुदैछ।

पालिकाको अधिवेशन भदौ २७ गते, प्रदेश क्षेत्र क र ख को अधिवेशन असोज १ गते हुनेछ भने संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने कार्यतालिका बनेको छ ।

जिल्ला अधिवेशन असोज १० का लागि निर्धारण गरिएको छ। यस्तै प्रदेश समितिको अधिवेशन कार्तिक १० देखि १२ गते हुने तय भएको छ। केन्द्रीय अधिवेशन मंसिर १६–१९ मा काठमाडौंमा हुने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया