
खलंगा, १७ असार । जिल्लाको जुनीचाँदे गाउँपालिका ५ खाँती गाउँका ३७ गरिव तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम अन्तर्गत त्यहाँ रहेका गरिव तथा विपन्न दलित समुदायलाई जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो ।
कर्णाली प्रदेश सभा सदस्य कौशिलावत्ती खत्रीको विशेष पहलमा त्यहाँका दलित समुदायको जीविकोपार्जनका लागि सहजहोस् भनी गरिव तथा विपन्न दलित समुदायका ३७ घरपरिवारलाई बाख्रा वितरण गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनाएको छ ।
जुनीचाँदे गाउँपालिका ५ मा रहेको लालीगुराँस दलित कृषि तथा पशुपालन सहकारी संस्थाको पहलमा ५ वटा उन्नत जातको बोका र १ सय ३६ वटा बाख्रा वितरण गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका कार्यालय प्रमुख मानबहादुर गिरीले बताए ।
उनका अनुसार मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रमको कुल २३ लाख ५४ हजार ९ सय ४० रुपैयाँको बाख्रा, दाना लगायतको औषधी खरिद गरिएको छ । स्थानीयले कर्णाली प्रदेश सभा सदस्य कौशिलावत्ती खत्रीलाई जीविकोपार्जनको लागि बाखा्र वितरण गरेको भन्दै आफुहरु निकै खुशी भएको बताएका छन् ।
उनीहरुले भने, ‘हामी अहिले निकै खुशी छौं, अव हामीलाई जीउने आधार भएको छ, यसलाई विस्तार गरी काम गछौँ ।’
















































। १७ असार २०७८, बिहीबार