छेडागाड नगरपालिकालाई परियोजना हस्तान्तरण


खलंगा, ९ असार । छेडागाड नगरपालिकालाई पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले नेपाली युवाको लागि स्वस्थ रुपान्तरण परियोजना हस्तान्तरण गरेको छ । सोमबार परियोजना हस्तान्तरण पुस्तिकामा पाँचतारा युवा संरक्षक मञ्चका कार्यबाहक अध्यक्ष आशा कार्की र छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर महतराले हस्ताक्षर गरेर परियोजना हस्तान्तरण गरिएको थियो ।

सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटद्धारा भेरी नगरपालिका र छेडागाडमा संचालित नेपाली युवाको लागि स्वस्थ रुपान्तरण परियोजना छेडागाड नगरपालिकालाई हस्तान्तरण गरिएको हो । सन् २०१८ मे देखि सुरु भएको परियोजनाको समयावधि सन् २०२१ जुनमा सम्पन्न भएपछि नगरपालिकाले संचालन गर्नेगरी परियोजना हस्तान्तरण गरिएको छ ।

परियोजनाले हासिल गरेका उपलब्धीको स्वामित्व लिनेगरी नगरपालिलाई परियोजना हस्तान्तरण गरिएको छ । छेडागाडको प्रशासनिक केन्द्र मनघाटमा विशेष कार्यक्रमको आयोजना गरेर सोमबार परियोजना हस्तान्तरण गरिएको थियो ।

सरकारसँग गरिएको करार सम्झौताको आधारमा संचालन गरिएका परियोजनाको अबधि निश्चित हुने बताउदै पाँचतारा युवा संरक्षक मञ्चका कार्यकारी निर्देशक छवि पन्तले परियोजनाले हासिल गरेका उपलब्धिहरुको रक्षा गर्न बिगतमा देखिएका समस्याहरुबाट शिक्षा लिदै हासिल गरेका उपलब्धि सहित परियोजना हस्तान्तरण गर्ने परिपाटीको थालनी गरेको बताए ।

परियोजनाले छेडागाडमा २०१८ देखि २०२१ सम्म २ हजार ४०७ जना किशोरीलाई स्वस्थ रुपान्तरण कक्षा मार्फत आधारभुत स्वास्थ्य तथा सरसफाई सम्बन्धिको शिक्षा दिएको कार्यकारी निर्देशक पन्तले बताए ।

स्वास्थ्य चौकी दशेरामा किशोर–किशोरीमैत्री भवन तथा स्वास्थ्य जाँच कक्ष परियोजनाले निर्माण गरिएको छ । छेडागाडका सबै स्वास्थ्य संस्थामा किशोार–किशोरीमैत्री सेवा संचालनका लागि आबश्यक स्वास्थ्य सामाग्री परियोजनाले प्रदान गरेको छ । ३ वटा बिद्यालयमा किशोर–किशोरीमैत्री शिक्षण सिकाई सेवाका लागि आबश्यक शैक्षिक सामग्री परियोजनाले सहयोग गरेको छ । पजारु ‘क’ स्वास्थ्य चौकीमा प्रसुति कक्ष निर्माणका लागि उपकरणहरु प्रदान गरेको छ ।

छेडागाडका ६१ जना स्वास्थ्यकर्मीलाई आबश्यकताका आधारमा परियोजनाले बिभिन्न तालिम प्रदान गरेको छ । स्वास्थ्य संस्थाहरुको सबलिकरणका लागि कम्प्युटर, एईडि टीभि, हार्डडिस्क, ओपिड बेड लगायतका १८५ प्रकारका सामग्रीहरु परियोजनाले सहयोग गरेको पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक अस्मिता राजभण्डारीले जानकारी दिईन् ।

छेडागाडका सबै स्वास्थ्य संस्थाका संरचनाहरुमा परियोजनाले उल्लेख्य सहयोग गरेको उपलब्धि हस्तान्तरण कार्यक्रममा बोल्दै छेडागाड नगरपालिका प्रमुख लालबहादुर महतराले बताएका थिए ।

तपाईको प्रतिक्रिया