चौरजहारीको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र शिक्षालाई पहिलो प्राथमिकता


चौरजहारी, ९ असार । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बुधबार आर्थिक वर्ष २०७८÷८९ को नीति तथा कार्यक्रम नगरसभामा पेश गरीएको छ । सभामा नगर प्रमुख विशाल शर्माले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम १३ औं नगरसभाको वैठकमा पेश गरेका हुन् ।

नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । सबै नगरवासीलाई कोरोना विरुद्धको खोप व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । भने कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा दिईने छ । स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको पनि व्यवस्था गरिएको छ । टिनका छाना तथा कच्ची भवनलाई विस्थापित गरी पक्की भौतिक संरचनायुक्त सामुदायिक विद्यालय निर्माण अभियानलाई नगरपालिकाले तिब्रता दिने भएको छ । कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई निःशुल्क विद्यालय पोषाक र स्टेसनरी सामग्रीको व्यवस्था गरिने छ ।

नगरपालिकाले जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउन गरेको बाध्यकारी व्यवस्थालाई निरन्तरता दिएको छ । नगरपालिकाबाट थप एउटा विद्यालयलाई नमूना विद्यायलको रुपमा विकास गरी विद्यालयमा कमाउदै पढ्दै कार्यक्रमलाई लागू गरी श्रममा आधारित प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने कार्यक्रमलाई पनि नीति कार्यक्रममा समेटिएको छ । वडा नं.२ मा क्षेत्रीय रङ्गशाला, वडा नं. १० शहीद मैदानमा खेलकूद ग्राम निर्माण र प्रत्येक वडामा एक वडा एक खेल मैदान अवधारणा अनुसार खेल मैदान निर्माणलाई अगाडि बढाईने उल्लेख छ ।

मासिक एक हजार बराबरको रकम जनयुद्धमा मृत्यु भएका र घाइते तथा अपाङ्ग लक्षित उद्योगमा लगानी गर्ने र उक्त रकम उद्योगमा शेयरको रुपमा कायम हुने व्यवस्था मिलाईने नीति कार्यक्रममा समेटिएको छ । नगरपालिकाले एक घर एक धाराको अभियानलाई थप विस्तार पनि गर्ने भएको छ । खेतियोग्य जमिनलाई बाँझो राख्ने नपाईने नीतिलाई निरन्तरता दिएको छ । निरन्तर कृषि पेशामा लागेका कृषकहरुलाई पेन्सनको व्यवस्थाका लागि कृषक पेन्सन कोष स्थापना गरी त्यसमा वार्षिक रुपमा बजेट जम्मा गर्ने व्यवस्था पनि नगरपालिकाले मिलाउने भएको छ ।
नगर वस सेवालाई थप विस्तार गर्ने र त्यसका लागि थप दुई वटा सुविधा सम्पन्न बस नगरपालिकाले खरिद गर्ने भएको छ । सडक र वसपार्कलाई व्यवस्थित गर्ने, भुकम्प प्रतिरोधि संरचना निर्माणमा जोड दिने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवम् सूचनाको हक कार्यान्वयन र सञ्चार क्षेत्रको व्यवसायिक विकास तथा भौतिक पूर्वाधार निर्माण गर्ने योजना पनि नीति, कार्यक्रममा समावेश गरिएको छ ।नगरसभा कार्यविधिको दफा ७ को उपदफा १ संग सम्वन्धित नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रम माथी छलफल भोलि छलफल हुनेछ ।

नगर सभामा पेश गरिएको नीति तथा कार्यक्रम माथी छलफल पछि उठेका प्रश्नको जवाफ सहित विहिवार नगर प्रमुख विशाल शर्माले सभा वाट पारित गर्न निर्णयार्थ पेश गर्ने कार्यसुची रहेको छ । सोही दिन दिउँसो ३ वजे चौरजहारी नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को आय व्ययको विवरण उपप्रमुख राधा रोकाले नगरसभामा प्रस्तुत गर्ने समय तालिका निर्धारण गरीएको छ ।

तपाईको प्रतिक्रिया