स्थानीय सरकारको चार बर्ष : जुनीचाँदेमा पुगेन् वैंकिङ्ग सेवा, आर्थीक कारोवारका लागि खलंगा धाउनुपर्ने बाध्यता

वृद्धावृद्धलाई सामाजिक सुरक्षा भत्ता पाउन मुस्किल


खलंगा, २१ जेठ । स्थानीय सरकार सञ्चालन भएको चार बर्ष पुरा भएको छ । सरकार सञ्चालनको चार बर्ष पुगेपनि जिल्लाको जुनीचाँदे गाउँपालिकामा बैंकका शाखा कार्यालय स्थापना नहुँदा स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा समस्या भएको छ ।

जिल्लाका सात वटा स्थानीय तहमध्ये जुनीचाँदे गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । स्थानीय तहमा हुने विकास लगायतका सम्पूर्ण कारोबार गर्न यहाँका बासिन्दा जिल्ला सदरमुकाम खलंगा आउने गरेका छन् ।

स्थानीय तहमा सरकारी कारोबार गर्ने बैंक नहुँदा यहाँका सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत खलंगा आउनुपर्ने बाध्यता रहेको छ । स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलब समेत गाउँपालिकामै गएको छ ।

तलब भत्ता, सामाजिक सुरक्षा भत्ता लगायत रकम निकासा गर्न समेत झन्झट भएको छ । गाउँपालिकामा बैंक नहुँदा जनतालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको जुनीचाँदे गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यले बताईन् । उनले भनिन्, ‘अहिलेसम्म गाउँमा बैंकहरु गएका छैनन्, गाउँपालिकामा भएका विकास लगायतका कामको सम्पूर्ण कारोबार जिल्ला सदरमुकाम खलंगा आएर गर्नुपर्ने बाध्यता छ ।’

केही समय पहिला कृषि विकास वैक संग कुरा भएपनि के कारण जान नसकेको हो आफुलाई थाहा नभएको समेत अध्यक्ष आचार्यले बताईन् । गाउँमा बैंकहरु नजाँदा सामान्य आर्थिक कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता भएको स्थानीय वेदबहादुर शाहीले जानकारी दिए ।

भौतिक पूर्वाधार अभाव र सुरक्षा लगायत विभिन्न कारण देखाएर बैंक गाउँमा नगएको बताइएको छ । जिल्ला अन्य स्थानीय तहमा वैंक पुगे पनि स्थानीय सरकार बनेको ४ बर्ष पुग्दा समेत जुनीचाँदेमा कुनै पनि सुरसार देखिएको छैन । लामो समय सम्म केन्द्रको विवादले थलिएको जुनीचाँदे अहिले बैक नहुँदा स्थानीयलाई कारोवार गर्न जिल्ला सदरमुकाम खलंगा धाउनुपर्ने बाध्यता छ ।

वृद्धवृद्धा तथा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणाली मार्फत भुक्तानी दिने गरेपछि यहाँका स्थानीय निकै मर्कामा परेका छन् ।

स्थानीय सरकार घरमा आएको भन्ने वेला समान्य कारोवार गर्न सदरमुकाम धाउनुपर्ने पीडाले सताएको जुनीचाँदे ५ का महेन्द्र शाहीले बताए । चालु आर्थीक बर्ष सकिन लाग्दा विकास निर्माणको भुक्तानी समेत गर्न निकै समस्या भएको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको वैठकमा वंैक नुहँदा निकै समस्या परेको कार्यवाहक अध्यक्ष आचार्यले गुनासो पोखिन् । वैंक सञ्चालनको लागि केन्द्रको टुंगो नलागेकोले समस्या भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया