जनता आवास : जाजरकाेटका स्थानीयले ऋण काढेर घर बनाए, भुक्तानी पाएनन्

                                        फाईल तस्विर 
खलंगा, २१ जेठ । सङ्घीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रम अन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन् ।

आर्थिक वर्ष २०७६÷७७ मा लागू भएको यस कार्यक्रमबाट जाजरकोटमा २ सय घर निर्माण गर्नुपर्नेमा २७ घरधुरीले जग्गा विवाद लगायत कारणले सम्झौता नगरेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

एक सय ७३ घरधुरीले मात्र घर निर्माण गरेको कार्यालय प्रमुख प्रवीण कार्कीले जानकारी दिए । सङ्घीय सरकारले सञ्चालन गरेको कार्यक्रम शहरी विकास मन्त्रालयले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रम प्रदेशलाई हस्तान्तरण गरे पनि निर्माणको सम्पूर्ण लागत सङ्घीय सरकारले नै पठाउने भएका कारण घर निर्माण भईसक्दा पनि सबैले पैसा नपाएको प्रमुख कार्कीले बताए ।

प्रतिघर निर्माण गर्न रु तीन लाख ५० हजार बजेट तोकिएको थियो । यस वर्ष रु एक करोड ४९ लाख बजेट आएका कारण कसैलाई पहिलो, कसैलाई दोस्रो किस्ताको रकम भुक्तानी गरेको प्रमुख कार्कीको भनाई छ ।

पहिलो किस्तामा १ सय ६३ घर, दोस्रो किस्तामा ६५, तेस्रो र चौथो किस्ता कसैले पाएका छैनन् ।
पहिलो किस्तामा प्रतिघरले रु ८४ हजार, दोस्रो किस्तामा रु एक लाख आठ हजार, तेस्रो किस्ताको रु एक लाख १७ हजार ६ सय तथा चौथो किस्तामा रु ३३ हजार ६ सय पाउने जनाइएको छ ।

शुरुका वर्षमा बादी, गाइने तथा अल्पसङ्ख्यकलाई मात्र घर निर्माण गर्न बजेट आएकामा अघिल्लो वर्षदेखि सबैखालका गरिब तथा विपन्नलाई घर निर्माण गर्नका लागि निर्देशन आएको थियो ।

चालु आ.व. मा जाजरकोटमा थप १ सय घर बनाउन भनी परिपत्र आएको छ, तर पैसा अहिलेसम्म नआएको कार्यालयले जनाएको छ । पटकपटक पैसा माग्दा पनि रकम नपठाउँदा भुक्तानीका लागि समस्या भएको कार्यालयले जनाएको छ । ‘पैसाका लागि घर निर्माण गरेका जनताको दैनिक फोन आउँछ तर, पैसा आएको छैन, कसरी दिनु’, कार्यालय प्रमुख कार्कीले भने ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले पनि पैसाको लागि पहल गर्न गाउँपालिकामा जनता आएर धर्ना दिने गरेको बताए ।

बारेकोट गाउँपालिकाभित्र २५ घर निर्माण भएका छन् भने सात घरले मात्र पहिलो किस्ता पाएको अध्यक्ष शाहले बताए ।

रकम नपाउँदा ऋण काडेर तथा उधारोमा घर निर्माण गरेकाहरू समस्यामा परेका छन् । घर निर्माण गर्दा लागेको ऋणले घर नै डुब्न लागेको बारेकोट गाउँपालिका–५ का मने कामीले बताए । उनले भने, ‘साहु आएर दिनकै किचकिच गर्छन्, अब कहाँबाट पैसा ल्याएर दिनु सरकारले दिँदैन ।’

तपाईको प्रतिक्रिया