खलंगा, १० जेठ । सोती हत्याकाण्डका पीडित परिवारले मृतकका नाममा लाख वत्ती बालेका छन् । सोमबार एक बर्ष पुगेका सम्झनामा लाख वत्ती बालेका हुन् । २०७७ जेठ १० गते चौरजहारी नगरपालिका ८ सोतीमा पुगेका नवराज विक सहित ५ जनाको सामुहिक हत्या गरिएको थियो ।
मृतकको आत्माले शान्ती पावस् र न्यायका लागि लाख वत्ती बालिएको पीडित परिवारको भनाई छ । अन्तरजातीय प्रेम सम्बन्ध राखेकै कारण भेरी नगरपालिका ४ रानागाउँका नवराज विक सहित ५ जनाको क्रुर पुर्वक हत्या गरी भेरी नदीमा बगाईएको थियो । सोहीको सम्झनामा दाहसंस्कार गरिएको कालेगाउँमा लाख वत्ती वाली सम्झना गरिएको पीडित परिवारको भनाई छ ।

यसरी भएको थियो सोतीकाण्ड
२०७७ जेठ १० गते भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजना बनाए । ४÷५ दिनअघि प्रेमिकाले बिहे गरेर लिन आउन भनी फोन गरेको भन्दै नवराजले आफ्ना मन मिल्ने साथीहरुलाई सोती पुगेर केटी भगाउन सहयोग गर्न आग्रह गरेका थिए । नवराजको आग्रहमा उनीसहित १९ जना युवाको टोली सोतीतर्फ गयो ।
भेरी नदीबाट साढे ३ बजे उकालो लागेको उक्त टोली बेलुकी ५ बजे सोती स्थित प्रेमिकाको घरको ३० मीटर तल पुग्यो । युवाहरुको केटीसँग देखभेट हुन पाएन । युवाहरुलाई तलको बाटोमा आएको देख्न बित्तिकै केटीको आमा प्रकाशी मल्ल गाली गलौजमा उत्रिन् । प्रकाशीले वडा अध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर गाउले वोलाउन पनि लगाइन् ।
प्रकाशीको गालीगलौजका साथै गाउँले आउने थाहा पाएपछि युवाहरुको टोली केटीको घरमा नपुगेरै केही नबोली खलंगातर्फ फर्कने क्रममा मध्यपहाडी लोकमार्ग नजिक पुग्न नपाउँदै एक्कासी ६०÷७० जनाको समूहले घेरा हालेर नवराजको टोलीमाथि ढुंगामुढा बर्सायो ।
ज्यान जोगाउन भागाभाग गरेका युवाहरुलाई ढुंगामुढा, हँसिया, चिरपटले प्रहार गर्दै भेरी नदी किनारासम्म लखेटेर चारैतिर घेरा हाले । युवाहरु सोतीगाउँदेखि करिब ३ किलोमिटर तल आएपछि गाउँलेको आक्रमणमा परे । ज्यान जोगाउन भाग्दै गरेका युवाहरुलाई मध्यपहाडी लोकमार्गदेखि २ किलोमिटर तल रहेको भेरी नदीको बगरसम्म लखेटे ।
गाउँलेहरुको कुटपिट तथा लखेट्याइमा परेका १९ युवामध्ये १ जना फुत्किएर घर आउन सफल भए । कुट्पिटबाट १२ जना घाइते भए । उनीहरु भेरी नदीमा हाम फालेर ज्यान जोगाउन सफल भए । यो हत्याकाण्डमा नवराज बिक, सन्जु बिक, गणेश बुढा, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको हत्या भएको थियो ।
















































। ११ जेष्ठ २०७८, मंगलवार