
जाजरकोट । जाजरकोटका अग्रज राजनीतिक व्यक्तित्व तथा जनप्रशासन विषयमा स्नातकोत्तर गर्ने जिल्लाकै पहिलो व्यक्ति गोविन्द्र विक्रम शाहको निधन भएको छ।
जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा उहाँको निधन भएको हो।
उहाँले लामो समयदेखि जाजरकोटको राजनीति र विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका शाह २०४९ सालमा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित हुनुभएको थियो। त्यसपछि २०५६ सालमा प्रतिनिधि सभा सदस्यको रूपमा समेत निर्वाचित भएर राष्ट्रिय राजनीतिमा योगदान पुर्याउनुभएको थियो।
पछिल्लो समय उहाँ नेकपा (एमाले) मा प्रवेश गरी केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हाल्नुभयो भने पुनः राप्रपा नेपालमा फर्किएर उपाध्यक्ष पदमा रहँदै पार्टीलाई योगदान दिनुभयो। उहाँले सधैं पार्टीगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जिल्लाको समग्र विकासका लागि काम गर्नुभएको बताइन्छ।
स्वर्गीय शाह नेकपा (एमाले) जाजरकोटका कार्यवाहक अध्यक्ष विश्वविक्रम शाहका वुवा हुनुहुन्छ। उहाँको निधनले जाजरकोटले एक अनुभवी, इमानदार र समर्पित नेता गुमाएको छ।
















































हाम्रो पहुँच संवाददाता । ११ चैत्र २०८२, बुधबार