
काठमाडौं। समाजवादी युवा संगठन नेपालका संयोजक आकाश कार्कीले वर्तमान सरकारलाई “विदेशी हस्तक्षेपद्वारा सञ्चालित कठपुतली सरकार” को संज्ञा दिँदै निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।
जारी प्रेस विज्ञप्तिमा उनले सरकारमाथि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको प्रभाव रहेको आरोप लगाएका छन्।
उनका अनुसार गत भदौ २३ र २४ गते भएको आन्दोलन निर्वाचनका लागि नभई विद्यमान संविधान परिवर्तन र “संयुक्त स्वाधीन जनसरकार” गठनको मागका लागि केन्द्रित थियो।
विज्ञप्तिमा भनिएको छ कि विदेशी शक्तिहरूले नेपालमा आफ्नो अनुकूल “नयाँ अनुहार” स्थापना गर्ने प्रयास गरिरहेको आरोप लगाइएको छ।
विभिन्न अन्तर्राष्ट्रिय घटनाक्रम उल्लेख गर्दै संगठनले नेपाललाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको दाबी गरेको छ।
संगठनले सीमावर्ती क्षेत्र कालापानी, लिपुलेख र लिपियाधुरा का नागरिकलाई मतदानमा समावेश गर्नुपर्ने मागसमेत उठाएको छ। ती क्षेत्रमा निर्वाचन वातावरण बनाउन माग गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ।
त्यसैगरी, कर्णाली प्रदेशको राजधानी सुर्खेत मा आयोजित चुनावी सभामा केही नेताहरूले दिएको अभिव्यक्तिप्रति पनि संगठनले प्रश्न उठाएको छ।
प्रेस विज्ञप्तिमा सरकारमाथि निर्वाचनको मौन अवधिमा विदेशी भेटघाट र गतिविधि भएको आरोप लगाइएको छ। राजधानीको एक होटलमा उत्तरी क्षेत्रका उम्मेदवारहरूसँग विदेशी पक्षको भेटघाट भएको तथा उच्चस्तरीय भ्रमणहरू भएको दाबी गरिएको छ।
संगठनले निर्वाचनलाई लोकतान्त्रिक नभई “सैनिक परिचालनमार्फत नागरिकलाई आतंकित बनाउने प्रक्रिया” भएको आरोप लगाउँदै तुरुन्त यस्ता गतिविधि बन्द गर्न माग गरेको छ।
यदि आफ्ना माग सम्बोधन नभए “सशस्त्र आन्दोलनमा जान बाध्य हुने” चेतावनी विज्ञप्तिमार्फत दिइएको छ।
सरकार वा सम्बन्धित निकायबाट यस विषयमा औपचारिक प्रतिक्रिया भने आइसकेको छैन।
















































हाम्रो पहुँच संवाददाता । १४ फाल्गुन २०८२, बिहीबार