
जाजरकोट। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग निर्वाचन तथा आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा मतदाता शिक्षा प्रभावकारी बनाउने, निर्वाचनसम्बन्धी सूचना छिटो–छरितो र तथ्यमा आधारित रूपमा प्रवाह गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। निर्वाचन अवधिभर सञ्चारमाध्यमले जिम्मेवार र संवेदनशील ढंगले समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद खनालले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण गर्दै मतदातामा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो।

त्यसैगरी, जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले निर्वाचन प्रक्रियासम्बन्धी आधिकारिक जानकारीलाई प्राथमिकता दिई तथ्यपरक समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई अनुरोध गर्नुभयो। अपवाह फैलाउने खालका सामग्री उत्पादन तथा प्रसारण नगर्न र सामाजिक सञ्जालमा पनि सचेत रहन उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आफूहरू प्रतिबद्ध रहेको जनाउँदै जिम्मेवार पत्रकारितामार्फत आममतदातालाई सही सूचना पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए।
















































हाम्रो पहुँच संवाददाता । १२ फाल्गुन २०८२, मंगलवार