
जाजरकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जाजरकोटमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई व्यापक अभिमुखीकरण प्रदान गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले १ सय ५० मतदान अधिकृत र १ सय ५० सहायक मतदान अधिकृत गरी जम्मा ३ सय जनालाई तालिम दिइएको हो।
मुख्य निर्वाचन अधिकारी दुर्गप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले निर्वाचनपूर्व, मतदानको दिन र मतदानपश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाबारे विस्तृत जानकारी गराएका थिए। अभिमुखीकरणका क्रममा नमुना मतदानसमेत गराइएको थियो।
८८ मतदानस्थल, १ सय ४७ केन्द्र
जिल्लामा ८८ मतदानस्थलमा १ सय ४७ मतदान केन्द्र कायम गरिएको छ। तीमध्ये १६ मतदानस्थल अति संवेदनशील, ५७ संवेदनशील र १५ सामान्य श्रेणीमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। मतदानस्थलको भौगोलिक विकटता, सडक पहुँच, राजनीतिक प्रभाव र सम्भावित सुरक्षा जोखिमलाई आधार मानी जिल्ला सुरक्षा समितिले वर्गीकरण गरेको हो।
कडा सुरक्षा घेराबन्दी
निर्वाचन सुरक्षाका लागि ८ सय ८२ म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिनेछ। सुरक्षा संयोजनअनुसार पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन्।
भौगोलिक विकटता र केही वडामा पुग्न घण्टौँ लाग्ने अवस्थाका कारण सुरक्षालाई उच्च सतर्कतामा राखिएको छ।
११ दल प्रतिस्पर्धामा
जिल्लामा ११ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच हुने देखिएको छ। नेपाली कांग्रेसबाट खडकबहादुर बुढा, नेकपा एमालेबाट डम्बरबहादुर सिंह नेकपाबाट शक्तिबहादुर बस्नेत ।
मतपत्र आइपुग्यो
निर्वाचनका लागि आवश्यक मतपत्र सुरक्षित रूपमा जिल्लामा आइपुगेको छ। प्रत्यक्षतर्फ १ लाख १५ हजार र समानुपातिकतर्फ १ लाख १८ हजार मतपत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा कुल १ लाख ७ हजार ९३ मतदाता रहेका छन्।
प्रमुख जिल्ला अधिकारी पौडेलले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र विश्वसनीय ढंगले सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको बताए। आगामी फागुन १८ गतेदेखि मतदानकर्मीहरू मतदानस्थलतर्फ खटाइने जनाइएको छ।
निर्वाचनलाई सफल बनाउन प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालय उच्च समन्वयमा जुटेका छन्।
















































हाम्रो पहुँच संवाददाता । १५ फाल्गुन २०८२, शुक्रबार