
जाजरकोट । जाजरकोटको राजनीतिक मैदान यतिबेला शान्त देखिए पनि भित्रभित्रै शक्ति–सन्तुलनको कठोर युद्ध चलिरहेको छ । यो चुनाव सामान्य प्रतिस्पर्धा होइन—यो १५ वर्षदेखि स्थापित शक्तिको निरन्तरता कि नयाँ ध्रुवीकरणको सुरुवात भन्ने निर्णायक सवाल हो ।
एकातिर ‘ह्याट्रिक’को विरासत जोगाउने कसरतमा लागेका शक्तिबहादुर बस्नेत छन् भने अर्कोतिर जितको खोजीमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएका खडकबहादुर बुढा ।
एमालेबाट संगठन पुनर्जीवनको लक्ष्यसहित डम्बरबहादुर सिंह तेस्रोपटक प्रतिस्पर्धामा छन् भने भूकम्पपीडितको पीडालाई मुद्दा बनाएर नयाँ विकल्पका रूपमा उदाएका छन् राघव कार्की ।
यो चुनाव केवल प्रतिनिधिसभा सदस्य छान्ने प्रक्रिया मात्र होइन—यो जाजरकोटको राजनीतिक दिशानिर्देश तय गर्ने निर्णायक मोड पनि हो ।
शक्तिको अग्नि परीक्षा
माओवादी आन्दोलनको भूमिगत चरणदेखि संसदीय सत्तासम्म पुगेका शक्ति बहादुर बस्नेत चौथोपटक संसद छिर्ने दाउमा छन् । तीनपटक जितिसकेका नेता अब ‘विरासत’ जोगाउने मोर्चामा उभिएका छन् ।
तर परिस्थिति बदलिएको छ । दुईपटको चुनावमा गठबन्धनको सहारामा जितेका बस्नेतलाई यसपटक गठबन्धनको सहारा छैन ।
पटकपटक सत्तामा पुगेको तर जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लागिरहेको छ ।
भूकम्पपछिको पुनर्निर्माणमा ढिलासुस्तीले जनआक्रोश दबिएको छैन । उनको पक्षमा संगठन छ, अनुभव छ, तर जनताको धैर्य कति बाँकी छ—त्यो नै मुख्य प्रश्न हो । तत्कालिन समाजवादीको पनि शक्ति बस्नेतलाई साथ छ ।
गत निर्वाचनमा ३४ हजार १५१ मत ल्याएर निर्वाचित भएका नेकपाका नेता शक्तिबहादुर बस्नेत चौथोपटक सांसद बन्ने लक्ष्यसहित चुनावी मैदानमा छन् । २०७४ मा ३२ हजार २८१ मतसहित विजयी बस्नेत २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट संसदीय यात्रामा प्रवेश गरेका हुन् ।
उर्जा, वन तथा वातावरण र गृहमन्त्रीसमेत भइसकेका उनी विकास र पहुँचको राजनीतिमा आफ्ना मुख्य बल भएको दाबी गर्छन् ।
“जाजरकोटको विकास र समृद्धिको यात्रालाई थप उचाइमा पु¥याउन फेरि उम्मेदवारी दिएको हुँ,” बस्नेत भन्छन्, “जनताले दिएका अधुरा कार्यभार पूरा गर्न बाँकी नै छन् ।” आफुले सुरु गरेका आयोजनाहरुको निरन्तरता दिन र समृद्ध जाजरकोट बनाउने संकल्प बोेकेको दावी गर्छन् । तर, उनको ‘अपराजय’ छवि यसपटक गम्भीर चुनौतीमा परेको देखिन्छ ।
समानुपातिक मतको सहारामा खड्कबहादुर बुढा
विद्यार्थी राजनीतिबाट उदाएका, स्नातकोत्तर शिक्षित, संगठनभित्र क्रमशः उक्लिएका बुढा अहिले निर्णायक छलाङ मार्ने दाउमा छन् । नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएको तथ्य उनको सबैभन्दा ठूलो राजनीतिक हतियार हो ।
तर मतलाई प्रत्यक्ष जितमा रूपान्तरण गर्न सजिलो छैन । अनुभवको अभाव, संसदीय चुनावको पहिलो परीक्षा, र कडा प्रतिस्पर्धा—यी सबै उनका अगाडि चुनौतीका रूपमा उभिएका छन् । यो चुनाव बुढाका लागि केवल उम्मेदवारी होइन—पुस्तान्तरणको उद्घोष हो ।
तेस्रोपटक जित निकाल्ने दाउमा डम्बरबहादुर सिंह
लामो समयदेखि संगठनमा जरा गाडेका सिंह तेस्रो प्रयासमा छन् । विगतका पराजयले उनलाई कमजोर बनाएको छैन, बरु ‘कमब्याक’को राजनीतिक कथा लेख्ने महत्वाकांक्षा थपिएको छ ।
तर यथार्थ कठोर छ— जाजरकोटमा तत्कालिन माओवादीको लगातार वर्चस्व, स्थानीय तहमा मिश्रित परिणाम, र युवापुस्ताको असन्तुष्टि । एमालेका लागि यो चुनाव अस्तित्व जोगाउने लडाइँ हो ।
पुराना दलको विकल्पमा राघव कार्की
भूकम्पपछि पुनर्निर्माणको सुस्त गतिले असन्तुष्ट बनेका नागरिकको साथले रास्वपाबाट उम्मेदवार बनेका कार्कीले पुराना दललाई सीधा चुनौती दिएका छन् ।
वकालत छाडेर राजनीतिमा होमिएका उनी ‘टहरोबाट छानामुनि’को नारासहित घरदैलोमा छन् । तर संगठन कमजोर छ, अनुभव सीमित छ । भावनात्मक मुद्दा मात्रै पर्याप्त हुन्छ कि हुँदैन—यो परीक्षणको घडी हो ।
कुन पालिकामा कति मतदाता ?
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि जाजरकोट जिल्लामा कुल १ लाख ७ हजार ९० (१०७०९०) मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका सात स्थानीय तहमा मतदानको सम्पूर्ण तयारी तीव्र पारिएको छ।
सबैभन्दा बढी मतदाता भेरी नगरपालिकामा रहेका छन्। भेरीमा २२ हजार ९३० मतदाता छन् भने यहाँ १४ मतदान स्थल र २९ मतदान केन्द्र निर्धारण गरिएको छ।
त्यसैगरी, छेडागाड नगरपालिकामा २१ हजार ३५६ मतदाता, १६ मतदान स्थल र २७ मतदान केन्द्र रहेका छन्। नलगाड नगरपालिकामा १७ हजार २१ मतदाता, १६ मतदान स्थल र २४ मतदान केन्द्र छन्।
कुशे गाउँपालिकामा १२ हजार ५९३ मतदाता, ११ मतदान स्थल र १७ मतदान केन्द्र तोकिएका छन्। जुनीचाँदे गाउँपालिकामा १२ हजार २८० मतदाता, १२ मतदान स्थल र १८ मतदान केन्द्र रहेका छन्। बारेकोट गाउँपालिकामा ११ हजार ७९१ मतदाता, १० मतदान स्थल र १६ मतदान केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा कम मतदाता शिवालय गाउँपालिकामा रहेका छन्, जहाँ ९ हजार १ सय १९ मतदाता, ९ मतदान स्थल र १५ मतदान केन्द्र छन्।
जिल्लाभर कुल ८८ मतदान स्थल र १४६ मतदान केन्द्र मार्फत मतदान प्रक्रिया सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ भने मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरिएको छ।
फागुन २१ गतेको निर्वाचनले जाजरकोटको भावी राजनीतिक दिशा तय गर्ने भएकाले मतदाताको सक्रिय सहभागितालाई अर्थपूर्ण मानिएको छ ।
यस्तो छ चुनावी अङ्कगणित
२०७९ सालको प्रतिनिधी सभा सदस्य निर्वाचनको दलगत मत परिणाम हेर्दा जाजरकोटमा नेपाली काँग्रेस २२ हजार ९३४ मतका साथ अग्रस्थानमा छ । नेकपा एमाले १९ हजार ७४९ का साथ दोस्रो स्थानमा देखिन्छ ।
तत्कालिन नेकपा माओवादी केन्द्र १४ हजार ४१२ मतमा सीमित छ । एकीकृत समाजवादीको मत ७८६ रहेको छ । अहिले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक भईसकेका छन् ।
जिल्लामा १ लाख ७ हजार ९१ मतदाता छन् । ८८ मतदानस्थल र १४६ मतदान केन्द्र कायम गरिएको छ ।
७ स्थानीय तहमध्ये प्रमुख÷अध्यक्षमा कांग्रेस ३, एमाले ३ र नेकपा १ मा सीमित छन् — जसले देखाउँछ, शक्ति सन्तुलन पहिलेभन्दा धेरै विभाजित छ । स्थानीय तहको नतिजाले पनि जिल्लामा कुनै दलको एकल पकड नरहेको देखाउँछ ।
शक्तिबहादुर बस्नेतका लागि यो चुनाव गढ जोगाउने लडाइँ हो । एमाले र कांग्रेसका लागि सत्ता उल्ट्याउने अवसर । रास्वपाका लागि असन्तुष्ट मत बटुल्दै नयाँ राजनीतिको ढोका खोल्ने मौका । जाजरकोटमा यसपटक चुनाव जित–हार मात्र होइन, परिवर्तनको सन्देश कति बलियो हुन्छ भन्ने परीक्षा पनि हो । तर त्यसको नतिजा हेर्न फागुन २१ कुर्नैपर्छ ।
















































हाम्रो पहुँच संवाददाता । ११ फाल्गुन २०८२, सोमबार