जुनीचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि गम्भीर आरोप, कम्युनिस्ट युवा संगठन नेपालद्वारा सांकेतिक जनकारबाही

जाजरकोट । कम्युनिस्ट युवा संगठन नेपाल, जिल्ला समिति जाजरकोटले जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र शाहीमाथि गम्भीर आरोप लगाउँदै सांकेतिक जनकारबाही गरेको छ। संगठनले गाउँपालिकाको परिसरमा कालो ब्यानर टाँसेर उपाध्यक्ष शाहीको विरोध जनाएको हो।

संगठनका अनुसार उपाध्यक्ष शाहीले लामो समयदेखि गाउँपालिकाभित्र कर्मचारी, जनप्रतिनिधि तथा सेवाग्राहीमाथि गैरजिम्मेवार, विभेदकारी तथा अमर्यादित व्यवहार गर्दै आएका छन्।

उनले मदिरा सेवन गरी कर्मचारी कुटपिट गर्ने, सिफारिस लिन आएका विद्यार्थी तथा सर्वसाधारणलाई अपमानपूर्वक कार्यालयबाट निकाल्ने, जातीय विभेद गर्दै वडा अध्यक्षसम्मलाई दुर्व्यवहार गर्ने, कार्यालयमा नियमित उपस्थित नहुने र उपस्थित हुँदा पनि गालीगलौज तथा नकारात्मक गतिविधि गर्ने जस्ता गम्भीर आरोप लागेको संगठनको दाबी छ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटका सेक्रेटरी विश्वले उपाध्यक्ष शाहीका गतिविधिले स्थानीय सरकारप्रति जनताको विश्वास कमजोर बनाएको बताए। समयमै सुधार नभए जनताको पक्षमा संघर्षलाई अझ सशक्त बनाइने चेतावनीसमेत उनले दिए।

कम्युनिस्ट युवा संगठन नेपाल, जिल्ला समिति जाजरकोटले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। उपाध्यक्ष शाही सँग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया