बारेकोटमा चार महिनादेखि अवरुद्ध सौर्य मिनिग्रिड,अन्धकारमा स्थानीय

No photo description available.
जाजरकोट । जिल्लो बारेकोट गाउँपालिका–५ खम्बुडाँडामा रहेको सौर्य मिनिग्रिड चार महिनादेखि मर्मत नहुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । चट्याङ परेर सौर्य मिनिग्रिडमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध बनेको हो ।

स्थानीयका अनुसार करिब चार महिनादेखि मिनिग्रिड सञ्चालनमा आउन नसक्दा करिब पाँच सय घरधुरी प्रभावित भएका छन् । विद्युत् अभावका कारण मोबाइल चार्ज गर्नसमेत समस्या भइरहेको छ भने विद्यार्थी, वृद्धवृद्धा तथा विभिन्न पेशा व्यवसायमा संलग्न नागरिकलाई दैनिक जीवनयापनमा कठिनाइ भएको छ ।

२०० किलोवाट क्षमताको उक्त सौर्य मिनिग्रिड २०७९ जेठ २५ गतेबाट सञ्चालनमा आएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा करिब १० करोड ९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो मिनिग्रिडबाट उत्पादित विद्युत् नेपाल टेलिकमको टावर सञ्चालनका लागि समेत प्रयोग हुँदै आएको थियो ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले क्षति भए पनि मर्मतका लागि आवश्यक प्रक्रिया पूरा गर्न समय लागेको बताए । “मिनिग्रिड हस्तान्तरणपछि मर्मतको जिम्मेवारी कसको हुने भन्ने विषयमा स्पष्टता नहुँदा ढिलाइ भयो,” उनले भने, “सम्बन्धित निकायसँग समन्वय भइरहेको छ, छिट्टै मर्मत कार्य सुरु हुनेछ।”

जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत मन्त्रालयमा समेत मर्मतका लागि पहल गरिएको जनाइएको छ । तर लामो समयसम्म विद्युत् सेवा अवरुद्ध रहँदा स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । उनीहरूले तत्काल मर्मत गरी सेवा सुचारु गर्न माग गरेका छन् ।

स्थानीयवासीका अनुसार वैकल्पिक ऊर्जा परियोजनामा देखिएको लापरवाहीका कारण समस्या जटिल बन्दै गएको छ । सरोकारवाला निकायले चाँडो ध्यान नदिए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत स्थानीयले दिएका छन् ।

तपाईको प्रतिक्रिया