देश जलेकै छैन


जल्यो त केवल तिम्रो अहङ्कार, दम्ब र घमण्ड जल्यो । जल्यो त केवल तिम्रो जनतालाई रैति र भेडा सम्झने, तिम्रो सडेगलेको पुरातन वादी मानसिकता जल्यो । देश जलेकै छैन ।

जल्यो त केवल तिम्रो कुर्कमबाट आर्जेको अकुत सम्पतिले ठड्याइएको सिहासन गर्ने महल जल्यो । जल्यो त केवल तिम्रो अवैध सम्पतिको घिनलाग्दो थुप्रो जल्यो । देश जलेकै छैन ।

जल्यो त केवल तिमीले मान्छे जिउदै जलाएको अपराध लुकाउने र निर्दोष फसाउने अदालत जल्यो ! जल्यो त केवल तिम्रा लागि जनताका छोराछोरीको विदेश गएर आफ्नो पसिना बगाएर पठाएको रेमिटेन्स कुम्ल्याउदा पनि त्यस्को श्रोत देखाउनु नपर्ने अन्धो अख्तियार जल्यो ! देश जलेकै छैन् ।

जल्यो त केवल तिमी सेवक होइन, शासक बनेर कुशासन मच्चाउने, नागरिकको जनजिविका माथि वेवास्ता गर्ने आफु, आफन्त र झोलेहरूको मोजमस्ती र विलासीताको जीवनशैली निर्माण गर्न निरङ्कुश शासन सत्ता हाक्ने, संसद भवन, सिंहदरवार र शितल निवास जल्यो । देश जलेकै छैन ।

जल्यो त केवल तिमीले नागरिकलाई समुदायमा कित्तावन्दी गर्ने, नागरिक स्वतन्त्रताको चिर हरण गर्ने, चुनावमा नागरिकलाई वस्तु सम्झी किनवेच गर्ने पार्टी कार्यालय जल्यो । देश जलेको छैन् !

खै कहाँ जल्यो देश ! हामीलाई विश्वभरी सगरमाथाको देश भनेर चिनाउने सगरमाथा जलेकै छैन !!
खै कहाँ जल्यो देश ! हाम्रो समृद्धिको स्थान हिमाल र हिमालको यार्सा, स्याउ र झ्याउ अनि पहाडका सुन्दर उपत्यका सँगै तराइको कृषि उत्पादनको भण्डार समथर भु–भाग जलेकै छैन !!

खै कहाँ जल्यो देश ! वीर गोर्खाली बलभद्र, लखन थापा, पुष्पलाल, बिपी र मदन भण्डारी जस्ता तमाम व्यक्तित्वहरूको त्याग र समर्पणले आर्जेको त्यो गर्विलो इतिहास मेट्ने तिम्रो त्यो कु चेस्टाका विरुद्धविद्रोह गर्ने नागरिकको चेतना र साहस जलेकै छैन् ।

आखिर जल्यो त केवल तिम्रो त्यो अहिलेको प्रविधिमय आधुनिक युगलाई ढुङ्गे युगतिर फर्काउने, भ्रस्टाचार गरेर देश डवाउने अनि आफु, आफन्त र झोलेहरुलाई माथि उठाउने त्यो निरङ्कुशताको विरुद्ध विद्रोह गरी ज्यान गुमाउने ति महान नेपाली जेन जी हरुको भौतिक शरीर र आत्मा सँगै सवै नेपाली श्रमजीवि वर्गको मन जल्यो, तन जल्यो !!

स्मार्ट जेन जी पुस्ता तिमीले जे गर्याै त्यो स्वभाविक थियो, पक्कै पनि तिम्रो त्यो वलिदानले स्वर्णिम युगको सुरुवात गर्नेछ ।

लेखक चन्द भेरी नगरपालिका वडा नं.  ८ का वडाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया